सप्तरीमा छिमेकीद्वारा ८ वर्षीय बालकको हत्या भएको पुष्टि, हत्यारालाई जन्मकैदको सजाय

 फागुन १७, २०७५ शुक्रबार १०:२०:५१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ हरीपुरका ८ वर्षीय बालक दुर्गानन्द साहलाई अपहरण गरी त्यही ठाउँका २९ वर्षीय चुडामणी ठाकुर र २१ वर्षीय रामबाबु गुप्ता साहले हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत सप्तरीले सर्वस्वसहित जन्मकैदको अन्तिम फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले ठाकुर र साहलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गर्नुका साथै फिरौती रकम असुल गर्न प्रयोग भएको मोबाइलको सिमकार्ड प्रकृया नपुर्‍याई बिक्री गर्ने एक व्यापारीलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

अदालतका अनुसार सप्तरीको बोदेबर्साइन नगरपालिका ५ देउरी घर भई राजविराज नगरपालिका ८ कञ्चनरुप रोडान मनिषा कम्युनिकेसन सञ्चालन गरी बसेका २४ वर्षीय कपिलदेव दासले कागजी प्रकृया नपुर्‍याई ठाकुरलाई सिमकार्ड बिक्री गरेका थिए ।

बालक दुर्गानन्दलाई ०७३ मङ्सिर ११ गते राति छिमेकी ठाकुरले अपहरण पश्चात् हत्या गरेपछि ०७३ मङ्सिर १६ गते ९८१६७१११६१ नम्बरबाट म्यासेज पठाएर बालकका आमासँग पाँच लाख फिरौती मागेका थिए । बालकका बुबा वृद्ध र सुस्त मनस्थितिका रहेको तथा दाजु वैदेशिक रोजगारमा कतारमा रहेकोले सहजै फिरौती रकम असुल हुने अपेक्षाबमोजिम ठाकुरले योजनाबद्ध अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानपश्चात पक्राउ परेकाहरुले बालकको हत्या गरी बोरामा बाँधेर छिमेकी पन्नालाल साहको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको बताएपछि हत्याको १९ औं दिन सडेगलेको अवस्थामा बालकको शव फेला परेको थियो । हत्या गरी अर्का छिमेकी पन्नालाललाई फसाउन उनको शौचालयको सेफ्टी ट्याङ्कीमा अभियुक्तले फालेका थिए । शवको फरेन्सिक परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ०७३ पुस १ गते पोस्टमार्टम गरिएको थियो ।

हत्याका आरोपीलाई प्रहरीले ०७३ मङ्सिर २९ गते पक्राउ गरेकोमा जिल्ला अदालतले ठाकुर र साहलाई पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । दासलाई भने अदालतले २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया