साउदीमा श्रीमानले किन आत्महत्या गरे भन्ने प्रश्नले घोचिरहन्छ बुद्धमायालाई

 फागुन १७, २०७५ शुक्रबार १३:२७:३३ | सन्जिता देवकोटा

काठमाण्डाै – हातमा हरियो पासपोर्ट, मनभरी कमाउँछु भन्ने सपना । परिवारको उज्वल भविष्यको आँधीले उडाएर सिन्धुलीका जगत आले मगरेलाई साउदी पुर्‍यायो ।

पराई देशमा भए पनि कमाउने मान्छे हुँदा घरमा हुनेले पनि सपना बुनेका हुन्छन् । कमाउन परदेशिने र घरमा बस्नेका सबैको सपना पूरा हुन दिँदैन वैदेशिक रोजगारीले ।

सोचेजस्तो नहुँदा धेरैले ज्यानै फालिदिन्छन् । जगतले पनि यस्तै गरिदिए । श्रीमानले किन आत्महत्या गरे भन्ने जगतकी श्रीमती बुद्धमायाले छेको पाउनुभएको छैन । जगतले साउदीमा के काम गर्थे, कति कमाउँथे, उहाँलाई थाहा छैन । 

‘पाँच जना छोराछोरी र घरव्यवहारको जिम्मेवारी सुम्पिएर हिँडेका श्रीमान्ले किन आत्महत्या गरे ?’ बुद्धमायाको मनमा प्रश्नको घोचो तेर्सिएको छ । कारण भने अनुमान लगाउनुबाहेक अर्को विकल्प छैन ।

उनीहरुको बीचमा केही नराम्रो थिएन । न पैसा कमाइनस् भनेर उहाँले कचकच नै गर्नुभएको थियो । ५ महिनादेखि कम्पनीको काम सकिएर यत्तिकै बसेका थिए जगत ।

विदेशमा कमाइ हुन्छ भनेर हिँडेका श्रीमानलाई विदेशले नै मर्न बाध्य बनायो जस्तो लागछ उहाँलाई । ६ जनाको एक्लो सहारा जगतले आत्महत्या गरेपछि बुद्धमायाको जीवनमा आपत आइलाग्यो ।

बुद्धमायाका व्यथा उहाँकै शब्दमा

२०७३ माघको कुरा हो । गाउँमा बिहे थियो । म बिहेमा जानका लागि सेलरोटी पकाउँदै थिएँ । छोरीको मोवाइलमा घण्टी बज्यो । फोन रहेछ, रोजगारीका लागि साउदी गएका साईंला देवरको । 

देवरले त्यति धेरै फोन गर्दैन थिए । छोरीले काकाको फोन उठाइन् । फोनमा देवरको आवाज रोएको जस्तो लाग्यो । 

मसँग पनि बोल्नुभयो । ‘भाउजु दाइसँग झगडा भएको थियो त ?’ देवरले सोध्नुभयो । मैले छैन भनें । मेरो श्रीमान (जगतबहादुर आले मगर) पनि साउदी बस्न थालेको ८ वर्ष भइसकेको थियो । हाम्रो फोनमा त्यति धेरै गफ त हुँदैन थियो । त्यही पनि त्यस्तो झगडा हाम्रो कहिल्यै पनि पर्दैन थियो ।

देवरले किन यस्तो कुरा सोधे भनेर मन झस्कियो । एकैछिन बोलेपछि देवरले दिएको खबरले भने न मैले पत्याउन सकें, न होइन भनेर नकार्न । खबर थियो, ‘मेरो श्रीमानले साउदीमा आत्महत्या गरेको ।’  

असोजदेखि कम्पनीको काम सकियो भन्दै क्याम्पमा बसेको छु भन्नुहुन्थ्यो । झण्डै ५ महिनादेखि काम नगरी बसेकाले उहाँ तनावमा हुनुहन्थ्यो । तर त्यस्तो गर्नुहोला भनेर हामीले सोचेका पनि थिएनौं । 

५ जना छोराछोरी र घर व्यवहार मेरो काँधमा थामेर कमाउन गएको मान्छेले किन हार खाए, म त छक्क परें । झण्डै एक वर्ष बित्न लाग्यो उहाँले आत्महत्या गर्नुभएको । मैले किन उहाँले आत्महत्या गर्नुभयो भन्ने जवाफ पाउन सकेको छैन । 

बिहे गरेको २१ वर्ष भयो । हामी बीचमा कहिल्यै नराम्रो भएन । कहिल्यै उहाँले मलाई गाली पनि गर्नु भएन । त्यस्तो मान्छेले अर्काको देशमा आत्महत्या गरे भनेको खबर सुन्दा मलाई त विश्वास नै लागेको थिएन ।

सत्य विश्वास नगरेर के हुन्थ्यो र ! तीन महिनापछि लाश आयो । काठमाण्डौमै सदगत गरियो । त्यतिबेला मैले त जाने आँट गरिनँ । तब मात्रै हो कि जस्तो लाथ्यो ।

अहिले पनि एक मनले त केही भएको छैन होला । फर्किएर आउनुहुन्छ होला जस्तो लागिरहन्छ । उहाँले पो आफ्नो ज्यान फालिदिनुभयो । त्यो पनि काम नगरी बस्नुपर्‍यो भनेर । ममाथि आइपर्ने समस्या र पीडाको हेक्का राखेको भए सायद त्यस्तो गर्नु हुन्न थियो कि ।

उहाँ त आनन्दले निदाएर फर्कनुभयो । छोराछोरीका आँशु हेर्न, अभाव हेर्न कहिल्यै बिउँझिनु परेन । मेरा हातका चुरा झर्‍याम फुट्दा छोराछोरीका पनि सपना टुटे । यस्तो गरौंला, यसरी घर चलाउँला भन्ने हाम्रा आँट पनि गले । 

घरमा आम्दानीको स्रोत केही छैन । कमाउने सिङ्गो मान्छे उहाँ मात्रै हो । ५ जना छोराछोरी, उनीहरुको पढाइ, लवाईखुवाइ मैले कसरी गर्ने हो ? मन आत्तिए सम्हाल्नै नसक्ने भएको थियो ।

छोराछोरी हुर्किएका थिए । ऋण लागे पनि दिन नलागोस् भन्छन् । के थियो र । घर फर्किएको भए बनीबुतो गरेर भए पनि घर चल्थ्यो । उहाँको हारले हामी सबैलाई बेसहारा बनायो ।

उहाँ विदेश जानु अघि हामी परिवारमा सबैजना सँगै बस्थ्याै । त्यही वर्ष घरबाट छुट्टिंदा ऋण लाग्यो । खाने भाँडा थिएन । बस्ने खानेको बन्दोबस्त मिलाउँदा, बस्तुभाउ किन्दा १ लाख ३५ हजार रुपैयाँ ऋण पुग्यो । विदेश नजाँदा ऋण तिर्ने अर्को विकल्प पनि भएन । 

उहाँ विदेश जानुभयो । तीन वर्षमा पुगेपछि घर विदामा आउनुभएको थियो । त्यतिबेलासम्म उहाँले ऋण तिर्नुभयो । २ लाखमा एक कठ्ठा खेत पनि किन्यौं । तर घर बिदाबाट फर्किएपछि भने उहाँले त्यति कमाउनुभएन । खै के गर्नुभयो । अन्तिममा त ज्यानै फलिदिनुभयो ।

म त केही समय त पागल जस्तै भएँ । छोराछोरीले सम्झाएँ । उनीहरुको मुख हेरेर चित्त बुझ्यो । म जस्ता धेरै देखें । तर कालगतीले मरेको भए पो जस्तो लाग्छ । हामीदेखि हारेर त्यसो गरेजस्तो लागछ । गुनासा पलाउँछन् मनमा । तर के गर्नु मरेको मान्छेसँगका गुनासा बेकार रहेछ ।

मलाई त केही थाहा थिएन । पैसा पाईंदो रहेछ । सिन्धुली बजारमा सूचना केन्द्र रहेछ । त्यही सूचना केन्द्रको सहयोगमा मैले ५ लाख २९ हजार रुपैयाँ पाएँ । त्यो पैसाले छोराछोरीलाई राम्रोसँग पढाउने योजना छ ।

जेठी छोरी त एसएलसी पास गरेर काठमाण्डौ गएकी छे । अरु ३ जनाले वैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट छात्रवृत्ति पाएका छन् । त्यो बारेमा पनि मलाई थाहा थिएन । सूचना केन्द्रले नै सहयोग गरेको हो ।

खेतीले वर्षभरी खान त पुग्दैन । तर पनि मेलापात, बनीबुतो गरेर मैले छोराछोरीको पेट पालेको छु । छोराछोरी चाडबाडका बेला साह्रै रुन्छन् । अभाव छ । अभावमा उहाँ भैदिए हुन्थ्यो जस्तो लाग्छ ।

कमाउन गएका मान्छेले नै ज्यान फालेपछि भगवान भरोसामा जीवन चलेको छ । ‘छोराछोरीलाई धेरै पढाउन पाउँ’ मेरो सपना यति नै छ । कमाएर पाल्छु भनेर परिवार छाडेर हिँड्नेले ज्यान नफालिदिउन् । हाम्रो जस्तो पीडा अरुले भोग्न नपरोस् ।


 

अन्तिम अपडेट: जेठ १९, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया