राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टि, श्रीमती विद्या र छोराहरु विराज र स्वराजले दिए दागबत्ती

 फागुन १७, २०७५ शुक्रबार २०:७:४८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

मन्त्री अधिकारीको गृहनगर कास्कीको पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको हो । रामघाटमा उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागबत्ती दिएका थिए । दागबत्ती दिने बेला नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ४ बजेसम्म प्रदर्शनी केन्द्रमा राखेर र त्यसपछि महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिएको हो । 

यसअघि मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि  पोखराको प्रदर्शनी केन्द्रमा झण्डै ३ घण्टा राखिएको थियो । पूर्व निर्धारित समयअनुसार १२ बजे प्रदर्शनी केन्द्रमा राखिने भनिए पनि १ बजे उहाँको शव नेपाली सेनाको स्काई ट्रकबाट पोखरा विमानस्थलमा ल्याइएको थियो । बिहानैदेखि पोखराको मौसम खुलेको हुनाले अधिकारीलाई श्रद्धाञ्जली दिन गाँउ–गाउँबाट सर्वसाधारण पोखरा आएका थिए ।

मौसम खुले पनि श्रद्धाञ्जली दिन आएकाहरुको अनुहार भने खुल्न सकेको थिएन । पोखरा विमानस्थलबाट शव निकालेर शवलाई सिधै नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा लगिएको थियो । नेकपाका नेता दामोदर वैरागीले स्व. अधिकारीको जीवनी पढेर सुनाएपछि २ मिनेट मौनधारण गरिएको थियो । त्यसपछि श्रद्धाञ्जली कार्यक्रम सुरु भएको थियो । 

मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्मा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस नेता यज्ञबहादुर थापालगायतले श्रद्धाञ्जली दिनुभएको थियो । 

पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पोखरावासी उर्लिएका छन् । तीन पटक कास्कीबाट सांसद जितेका युवा नेता अधिकारी लोकप्रिय मानिनुहुन्छ । उहाँको लोकप्रियता उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन उर्लिएको मानव सागरले पनि देखाइरहेको थियो । 

अधिकारीको काजकिरिया ७ दिनमा 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार भने अब चार दिनमै सकिने भएको छ । 

अधिकारीको निधनको आज तेस्रो दिन भएकाले उहाँको मृत्यु संस्कार अब चार दिनमा अर्थात फागुन २१ गते मंगलबार सकिनेछ । पोखरा प्रदर्शनीस्थलमा भएको श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताउनुभएको हो । मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियन्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको हो ।

अधिकारीले धर्म संस्कार र परम्परालाई समयअनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने उहाँको सोच रहेको आचार्यले बताउनुभयो ।

त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबाआमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन मात्रै गर्ने निर्णय गरिएको उहाँले श्रद्धाञ्जली सभामा जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: चैत २८, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया