बुद्धिचाल पारखीहरुको रोजाईमा ‘चेस पार्क’

 असार १०, २०७५ आइतबार ११:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली सेनाका अवकाशप्राप्त जर्नेल जीवनारायण श्रेष्ठ उमेरले ७० वर्ष नाघ्नुभयो । बुढेसकालमा आफूलाई तन्दुरुस्त राख्न उहाँ हरेक दिन कुलेश्वरको आफ्नो घरबाट थापाथलीको चेसपार्कमा पुग्नुहुन्छ । १५ वर्षदेखिको उहाँको दैनिकी नै यही भएको छ । बुढेसकालको थकान भुलाउने र मन बहलाउने बाटो बनेको छ उहाँको लागि चेसपार्क ।

काठमाडौं थापाथली चोकको दक्षिणपट्टी बागमती नदीको किनारमा रहेको कालमोचन घाट नजिकै चेसपार्क छ । चिया पसलको टेबुल र चौतारीमा दिनभरजसो चेस पारखीहरुको चहलपहल हुन्छ ।

नेपाली सेनाका अर्का अवकाशप्राप्त कर्णेल इन्द्रबहादूर कार्की पनि चेस खेल्न दिनहुँ यहाँ आउने गर्नहुन्छ । ‘यो पार्कमा जाँड खानेदेखि मजदुर, सचिव, प्रोफेसरसम्म सबैथरी आउँछन्’ कार्कीले भन्नुभयो, ‘बुढेसकालमा हुने अल्जाइमर (बिर्सने रोग) को लागि पनि यो खेल एकदमै राम्रो छ ।’ 

यस्तै साथीहरुसँग राम्रो सम्बन्ध बनाइराख्न तथा मानसिक तनावबाट मुक्ति पाउनको लागि पनि यो खेलले फाइदा हुने उहाँले बताउनुभयो ।

यसरी सुरु भयो चेस

करीब ३० वर्षअघि मोरङका भरत धिमाल सुर्खेतमा चिनियाँ प्रोजेक्टमा ज्यालादारी काम गर्नुहुन्थ्यो । प्रोजेक्टको म्याद सिद्धियो, त्यसपछि त्यही प्रोजेक्टले काठमाडौंमा भासिएको बागमती पुल बनाउने जिम्मा लियो । भरत धिमाल पनि प्रोजेक्टसँगै काठमाडौं आउनुभयो । 

काम गर्नेहरुको लागि भनेर धिमालले कालमोचन घाटमै चिया पसल थाप्नुभो । ‘त्यसबेला फाट्टफुट्ट चेस खेलिन्थ्यो । हल्का हावा लागेपनि उडाउने ३० रुपैयाँ पर्ने कागजको बोर्ड हुने गथ्र्यो’ विगत सम्झँदै उहाँले भन्नुभयो, ‘यसरी यो ठाउँ चेस खेलको लागि प्रख्यात होला भनेर त्यतिबेला सोचिएको पनि थिएन ।’ 

राष्ट्रियस्तरका खेलाडीको समेत रोजाई

यहाँ फुर्सदिला मात्र होइनन्, आफ्नो कामबाट समय निकालेर चेस खेल्न पुग्नेहरु पनि थुप्रै छन् ।  पीके क्याम्पसमा रसायन विज्ञान पढाउने प्राध्यापक मोहनसिंह प्रधान आप्mनो व्यस्तताको बावजुत पनि चेस खेल्न त्यहाँ पुग्नुहुन्छ । चेसले मानसिक कसरत हुने तथा समूहमा बसेर खेल्दा एकता र भाइचाराको भावना बढ्ने उहाँको बुझाइ छ ।

पहिले चिया खान आउने फुटकर मान्छेहरुको लागि समय बिताउने माध्यम बनेको यो ठाउँले अहिले राष्ट्रियस्तरको बुद्धिचाल खेलाडी जन्माइसकेको छ । भरत धिमाल भन्नुहुन्छ, ‘यो ठाउँमा देशभरीका बुद्धिचालका खेलाडीहरु आउने गर्नुहुन्छ ।’

धिमाल स्वम्ले देश बाहिर आयोजना गरिने च्याम्पियनसिप पनि खेलिसक्नुभएको छ । यसैपाली दिल्लीमा भएको प्रतियोगितामा पनि उहाँले सहभागिता जनाउनुभयो । विश्वभरिबाट आएका जम्मा १३ सय प्रतियोगीहरुमा उहाँले एकसय २९ औं स्थान हासिल गर्नुभयो । यस्तै उहाँले दिल्लीमै आयोजित प्रतियोगितामा छैटौं स्थान हासिल गरेर २० हजार भारु पनि प्राप्त गर्नुभएको थियो । 
यसै ठाउँबाट खेलेर राष्ट्रिय प्रतियोगितामा धेरैले उपाधी चुमिसकेका छन । धिमाल विश्वस्त भएर भन्नुहुन्छ, ‘कुनै राष्ट्रिय बुद्धिचाल खेलाडी नहोला जसले यो पार्कमा चेस नखेलेको होस् ।’

उहाँकी कान्छी छोरी शान्ति धिमाल पनि त्यहीँ हुर्केर राष्ट्रिय बुद्धिचाल खेलाडी बनिसक्नुभएको छ । अहिले उहाँ नेपालमै आयोजना हुने टुर्नामेन्टमा पहिलो दास्रो हुने गर्नुभएको छ ।

यस पार्कमा विगत ३० वर्षदेखि चेस खेल्ने गरिएपनि वि.सं. २०५१/०५२ देखि मात्र संगठित रुपमा खेल्न थालिएको हो । ‘त्यतिबेला केही साथीहरु मिलेर पैसा जम्मा गरी चेस बोर्ड किनियो, पछि आफ्नो क्षमताअनुसार सबैले सहयोग गरेर आजसम्म यहाँ चेस खेल चलिरहेको छ’ धिमालले भन्नुभयो ।

अहिले त्यो ठाउँको नाम नै थापाथली चेस पार्क राखिएको छ । त्यहाँको चियापसलको भित्तामा ‘थापाथी चेस पार्क सूचना पाटी’ झुण्ड्याइएको छ र त्यस पाटीमा देशविदेशमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको सूचनाहरु टाँसिएका छन् ।

नेपाल बुद्धिचाल संघले बेलाबेला खेलका सामान उपलब्ध गराउने गरेको छ । अझै यसलाई स्तरोन्नति गरेर तथा आवश्यक सामानहरु उपलब्ध गराइदिए खेलाडी निखारिने त्यहाँका एकजना पाका खेलाडी विष्णु रायमाझी बताउनुहुन्छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया