हात नभएकी रुपाको माइक समातेर गीत गाउने धोको !

 फागुन १८, २०७५ शनिबार ७:४२:१६ | निर्मला खडायत
unn.prixa.net

कैलाली - रुपा रौतारका कुहिनामुनिका दुवै हात छैनन्, खाना पनि खुट्टाको सहाराले खान्छिन् । तर दुवै हातमा बेस्सरी माइक कसेर गीत गाउने धोको छ उनको । 

‘बगरमा फूल फुलाउँछु, वसन्तलाई यहीँ बोलाउँछु, मेरा दुई पाउ छन् अजम्बरीः म त हिम्मत भाकी छोरी’, उनले निकालेको ‘हिम्मत भाकी छोरी’ एल्बमको गीत हो यो । 

‘दुवैै हातमा माइक कसेर गीत गाउने धोको छ’, गायनप्रति असाध्यै रुची भएकी रुपाले भनिन् । 

२०५८ सालमा कपिलवस्तुको दुर्गम गाउँ धनगौलीमा बुवा विष्णुप्रसाद रौतार र आमा इन्द्रकला रौतारको कोखबाट जन्मिएकी रुपा जन्मजात विकलांग भने होइनन् । चार वर्षको उमेरमा आफ्नो घरको छतमा खेल्दै गर्दा रुपालाई करेन्ट लाग्यो । दैवले रुपालाई बचाउन त बचायो, तर दुवै हात गुमाउने गरी मात्रै । 

करेन्ट लागेपछि बुवा आमाले उनलाई अस्पताल लगेको रुपालाई अहिले झैँ लाग्छ । ‘डाक्टरले रुपाको ज्यान त बचायो तर दुवै हात गुमाउने गरी’, आमा इन्द्रकलाले भन्नुभयो । 

रुपाको उपचारका लागि सेक्युरिटी गार्डको नोकरी गरिरहेका बुवाको आम्दानीले नधानेपछि जग्गा बेचेर उनको उपचार गरियो ।

‘मेरो उपचारमा बाआमाको सबै सम्पत्ति सकियो, अब कृत्रिम हात हाल्ने रकम पनि छैन, सहयोग माग्दै हिँडेकी छु’, शुभु सुन्दर समाज फाउण्डेशन नेपालले धनगढीमा आयोजना गरेको गौरक्षा अभियानका लागि आएकी रुपाले आह्वान गरिन्, ‘मेरो कृत्रिम हात हाल्ने धोको पनि पूरा गरिदिनुस् ।’

करेन्ट लागेपछि रुपालाई स्थानीय स्तरमा धेरै विद्यालयले भर्ना लिन मानेनन् । विभिन्न ठाउँको दौडधुपपछि कपिलवस्तुकै होराइजन स्कुलमा उनले भर्ना पाइन् । 

त्यहाँ पनि रुपालाई पढ्न सहज वातावरण नदेखेपछि कपिलवस्तु धनगौली घर भएकी दीप बोर्डिङ स्कुल बुटवलकी शिक्षिका विष्णु श्रेष्ठले रुपाकी आमालाई बुटबल लगेर रुपाको अध्ययन र संगीतको यात्रा अघि बढाउन आग्रह गरिन् । 

यति मात्रै होइन उनले रुपा र आमालाई केही समय निःशुल्क आफ्नै घरमा बस्न पनि दिइन् । ‘उहाँकै कारण अहिले रुपाले निजी विद्यालयमा निःशुल्क पढ्न पाएकी छ’, रुपाकी आमा इन्द्रकलाले भनिन् । 

रुपा अहिले प्रदेश ५ को बुटबल सुख्खानगरको श्री दीप बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्छिन् र संगीत कक्षा पनि जाने गर्छिन् । 

रुपाको संगीतप्रतिको लगाव देखेर बुटबलका संगीत गुरु सुरेश सेन्चुरीले रुपालाई निःशुल्क संगीत कक्षा दिइरहेका छन् । 

‘रुपासँग हात नभए पनि उनीसँग संसार जित्ने आवाज छ, उनको मिठो स्वर जादूमय छ’, गौ रक्षा अभियानमा खटिएकी शुभु सुन्दर समाज फाउण्डेशनकी संस्थापक अध्यक्ष भावना पाण्डेले भनिन् । 

रुपालाई पनि गीत गाउन मन पर्छन । फाउन्डेशनले उनको गीतबाट संकलन भएको रकम गौरक्षा अभियानमा खर्च गर्ने भनेर नै उनलाई धनगढी ल्याएको हो । ‘मलाई गीत गाउन मन पर्छ, अझ बढी आधुनिक गीत’ रुपमाले भनिन । 

रुपाका साथीहरु स्कुलमा दुवैै हातले खेल्छन्, गीत गाउँछन्, लेख्छन् पनि । ‘त्यति बेला मलाई थाहा हुन्छ हातको महत्व’, रुपा भन्छिन् । 

‘कृत्रिम नै भए पनि हात हाल्ने धोको छ ।’ हिम्मत भएकी रुपाका दुई हात मात्रै छैनन्,  उनका दुवै खुट्टा अरुका हात झैं चल्छन् । खाना खाने, लेख्ने र अरु धेरै कामहरु उनले खुट्टाको सहाराले गर्छिन् ।‘अरु काम त म खुट्टाले गरिहाल्छु तर गीत गाउने माइक कसरी खुट्टाले समात्नु ?’ रुपाले भनिन् । रुपा खुट्टाको सहाराले मोबाइल चलाउँछिन् । रुपा रौतार नामको उनको फेसबुक आईडी पनि छ । फुर्सदका बेला उनी अनलाइनमा साथी तथा आफन्तहरुसँग म्यासेन्जरमा ‘च्याट’ पनि गर्छिन् ।

‘फेसबुकसहित सामाजिक सञ्जालहरु खुट्टाको औँलाको सहाराले चलाउँछु, तर गीत गाउने माइक... धोको नै त्यही छ’, उनले भनिन् । रुपाकी आमाको पनि रुपाले हातले माइक समातेर गीत गाएको हेर्ने रहर छ । ‘रुपाले हातमा माइक समातेर गीत गाएको हेर्ने धोको छ’, आमा इन्द्रकलाले भन्नुभयो ।

रुपालाई आफ्नै स्वाभिमानमा बाँच्ने रहर छ । उनी भन्छिन्, ‘हात नभएकाले म भौतिक रुपमा गाह्रो काम गर्न सक्दिनँ, मागेर खान मनले मान्दैन, त्यसैले गीत गाएरै बाँच्ने रहर छ ।’ 

रुपा गीत गाउनमा मात्रै होइन, पढाइमा पनि अब्बल छिन् । ‘सारै ज्ञानी छे, उसलाई पढ्नको लागि कर गर्नै पर्दैन’, आमा इन्द्रकलाले भन्नुभयो । रुपाको पढाइप्रतिको लगाव देखेर स्कुलले पनि उसलाई निःशुल्क पढाइरहेको छ । 

छोरी पढ्नमा राम्रो भएकाले पनि बाआमालाई पनि सकेजति पढाउने रहर छ । ‘जति पीडा भए पनि रुपालाई पढाउँछु’, आमाले भनिन् । रुपा विद्यालयमा पनि शिक्षककी प्यारी छिन् । 

विद्यालयमा साथीहरुले पनि मद्धत गर्ने गरेको रुपा बताउँछिन् । ‘सुरुमा, विद्यालयमा जाँदा केही साथीहरुले अनौठो मानेर हेर्थे, मलाई अर्कै लाग्थ्यो तर अहिले सबैले माया गर्छन्’, रुपाले भनिन् । 

समाजमा अपांगतालाई बुझ्नेहरु कमै छन् । सार्वजनिक ठाउँहरुमा अपागंता भएका व्यक्तिलाई केहीले सहानुभूति देखाउने गरे पनि धेरैले महत्व दिन खोज्दैनन् । रुपाको पनि सार्वजनिक ठाउँहरुमा फरक क्षमता भएकै कारण दुःख खेपेको अनुभव छ ।

रुपा गएको बर्खामा कृत्रिम हातका लागि कुरा गर्न काठमाण्डौ गइन् । डाक्टरले उनलाई कृत्रिम हात राख्न सकिने कुरा बताएपछि उनको खुशीको सीमा छैन । उनको कुहिनामुनिको हातहरु कृतिम राख्न सकिने भएको छ । तर, डाक्टरले कृत्रिम हातका लागि खर्च असीमित लाग्छ भनेपछि रुपा निराश बनेकी छन् । उनको कृत्रिम हात राख्नको लागि विदेशमा नै लाग्नुपर्ने डाक्टरले बताएको रुपाकी आमा बताउनुहुन्छ । 

उपचारका क्रममा आफूसँग भएको धेरै चल अचल सम्पति बेचिसकेको रुपाका परिवारका लागि तुरुन्तै रुपाको कृत्रिम हात राख्न सहज थिएन । ‘काठमाण्डौमा डाक्टरलाई सोधेर आउने काम मात्रै भयो, परिवारको अवस्थाले गर्दा कृत्रिम हात लगाइहाल्ने अवस्था छैन्’, उहाँले भन्नुभयो । 

उनका सामु सहयोग गर्ने हातहरु नदेखिएका होइनन् । धेरैले मात्रै आशा देखाए । रुपा भन्छिन्, ‘देशविदेशमा रहेका नेपाली दाजुभाइले मलाई सहयोग गरिदिनुस् ।’ 

संसारमा यस्ता धेरै व्यक्ति छन् जसले एक छाकको खाना वा खाजा खर्च कटाएर वृद्ध र असहायलाई सहयोग गर्छन् । रुपा तिनै व्यक्तिहरुको सहयोगको आशामा छिन् । उनी भन्छिन्, ‘मेरो सपना एउटा कृत्रिम हात राख्ने छ, सबैले सहयोग गरिदिनुहोला ।’

गरिब परिवारमा जन्मेकी रुपाको सानो परिवार छ । आमा बुवा अनि एउटा दाइ । रुपालाई हरेक बेला काम गर्न रुपाकी आमाले  सघाउनुहुन्छ । ‘मम्मी मेरो शरीरको अंग नै हो, मेरो सबै कामकुरामा मम्मीले नै सघाउनुहुन्छ । मेरो मिल्ने साथी भनेको पनि मम्मी नै हो’, उनले भनिन् । ‘कहिलेकाहीँ मम्मी हुनुभएन भने मलाई के होला भनेर चिन्ता लाग्छ ।’

रुपाले आमाका लागि पनि गीत गाएकी छिन् ।

‘अस्तित्व मेरो तिमीबाटै, तिमीबिना म कहाँ, 
मेरी आमा
तिमीबिना म कहाँ ?
सुरु कहानी मेरो तिमीबाटै, तिमी छौ र त छु यहाँ 
मेरी आमा
तिमीबिना म कहाँ ?’

उनले आफ्नी आमाको लागि समर्पित भएर गाएको आफ्नै एल्बमको आमा गीत सुनाइन् । यो गीत सुनाउँदा उनका आँखा रसाए । सायद, दैवले उनलाई दिएको चोट सम्झेर होला ।

रुपा निरास छैनन् । उनी भन्छिन्, ‘जीवनमा धेरै गर्न मन छ, मलाई आमाको बोझ होइन सहारा बन्न मन छ, तर सहयोगी हातहरुको आवश्यकता छ मलाई ।’
पीडा लुकाउँदै रुपाले आफ्नै एल्बमको अर्को गीत सुनाइन् ।

‘लेख्दैछु म आफ्नै कहानी  
लेख्दैछु म आफ्नै कहानी 
कल्पनामा भुलेको
सुन्दर बिहानी  
लेख्दैछु म आफ्नै कहानी ।।

उनको स्वरमा रहेका गीतहरु युट्यूबमा पनि पाउन सकिन्छ । उनका गीतका शब्दहरु निकै मार्मिक र हृदयस्पर्शी छन् । उनले भनिन्, युट्यूबमा भएका गीतहरु पनि सबैले हेरिदिनु होला ।’ 

उनले एकछिन सम्झेजस्तो गरी भनिन्, ‘मलाई सकेजति सहयोग पनि गरिदिनु होला, किनकि मलाई दुवै हातले माइक समातेर गीत गाउने मन छ ।’

 


 

अन्तिम अपडेट: बैशाख ३१, २०७६

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया