झापामा सुरु भयाे कला साहित्य उत्सव

 फागुन १८, २०७५ शनिबार १४:४९:२१ | रासस
unn.prixa.net

झापा – झापाकाे काँकडभिट्टामा शनिबारबाट ‘कला साहित्य उत्सव २०७५' सुरु भएकाे छ । रिडर्स झापाको आयोजनामा काँकडभिट्टा खानेपानी संस्थाको सभाहलमा कलाकारले गीत गाएर उत्सवको उद्घाटन गरे । 

देशकाे साहित्य, कला, राजनीति र पत्रकारिताका विभिन्न आयामका बारेमा विद्वत प्रवचन र विमर्श हुने यस कार्यक्रमको पहिलो सत्रमा प्रसिद्ध विश्लेषक हरि शर्माले 'लोकतन्त्र र आलोचनात्मक चेत’का विषयमा प्रवचन दिनुभएको छ । 

उहाँले विचारको विविधता, प्रश्न र सङ्घर्षबाट नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभयो । दोस्रो सत्रमा 'साहित्यको दलन’ शीर्षकमा सामूहिक विमर्श गरिएको थियो । 

'उर्गेनका घोडा' र ‘माङ्गेना’ जस्ता चर्चित उपन्यासका लेखक युग पाठक, दलित अधिकारवादी साहित्यकार जेबी विश्वकर्मा र दार्जीलिङका भारतीय नेपाली साहित्यकार सुधीर क्षेत्रीले छलफलमा आ–आफ्ना धारणा राख्नुभएको थियो । 

उपन्यासकार पाठकले पाठ्यपुस्तक र साहित्यमा सद्भाव र समानताको जति धेरै शब्द लेखिए पनि नेपाली समाजमा दलित एवं जातीय आधारमा हुने विभेद चर्को रुपमा रहेको दाबी गर्नुभयो । 

दलित अधिकारकर्मी विश्वकर्माले लेखक विभेदकारी हुँदा उसको लेखनमा समेत विभेद झल्किने अनेक उदाहरण प्रस्तुत गर्नुभयो । भारतीय साहित्यकार क्षेत्रीले भारतीय नेपाली समाजमा तुलनात्मक रुपमा छुवाछुत र जातीय विभेदको समस्या कम भएको उल्लेख गर्दै दलनमा परेको समुदायप्रति सहानुभूतिले होइन, स्वानुभूतिले साहित्य लेखिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

फागुन २० गतेसम्म सञ्चालन हुने उत्सवमा विचार विमर्शदेखि विभिन्न कवितावाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्बिर प्रदर्शनी आयोजना हुने आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया