आहा रारा गोल्डकपः त्रिभुवन आर्मीलाई हराउँदै थ्रीस्टारले उचाल्याे उपाधि

 फागुन १८, २०७५ शनिबार १९:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - त्रिभुवन आर्मीलाई सडेन डेथमा पराजित गर्दै थ्रीस्टारले १७ औं आहा रारा गोल्डकपको उपाधि जितेकाे छ ।

थ्रीस्टारले यो प्रतियोगिताको उपाधि जितेको यो पाँचौ पटक हो । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा शीर्ष डिभिजनका शीर्ष दुई टिमबीच रोमाञ्चक प्रतिस्पर्धा देखियो । नियमित र अतिरिक्त समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

त्यसमा पनि दुवै टिमले चार चार गोलको बराबरी खेले । आर्मीका लागि भरत खवास, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ, विवेक बस्नेतले गोल गरे भने विकेश कुथुको प्रहार थ्रीस्टारमा गोलकिपर एलन न्यौपानेले बचाए ।

थ्रीस्टारका लागि रञ्जि धिमाल, रुपेश केसी, विक्रम लामा, अनन्त तामाङले गोल गरे भने सुशील रायको प्रहार बारमा लागेर फर्कियो । त्यसपछि सडेन डेथमा थ्रीस्टारका मिचेन तामाङले गोल गर्दा आर्मीका विकाश खवासको प्रहारलाई एलेनले बचाए ।

अतिरिक्त समयको आठौं मिनेटमा बिकास खवासलाई फल गरेपछि थ्रीस्टारका सुनील बल रातो कार्ड खाँदै मैदान बाहिरिएसँगै थ्रीस्टार १० खेलाडीमा समेटिएको थियो । त्यसपछि आर्मीले खेलमा पकड जमायो । अतिरिक्त समयको १५ औं मिनेटमा आर्मीले अग्रता बनायो । सन्तोष तामाङको लामो फ्रिकिक क्लियर गर्न लाग्दा थ्रीस्टारका कप्तान विक्रम लामाको हेडर आफ्नै पोष्टमा गोल भएको थियो ।

तर, त्यसको ७ मिनेटपछि थ्रीस्टारले बराबरी गोल फर्कायो । पिटर सेगुनको हेडर पोलमा लागेर फर्किएपछि आर्मीका गोलरक्षक बिकेश कुथुले राम्ररी कलेक्ट गर्न नसक्दा विक्रम लामाले गोल गरेका थिए । यसअघि नियमित समयको पाँचौं मिनेटमै टेकबहादुर बुढाथोकीले गोल गरी आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । उनले दीपक गुरुङको क्रस सदुपयोग गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा थ्रीस्टारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो । आर्मीका खेलाडीले बक्सभित्र ह्याण्ड गरेपछि रेफ्री सुदिस पाण्डेले थ्रीस्टारलाई पेनाल्टीको अवसर दिएका थिए । एक साता चलेको प्रतियोगितामा १२ टिमको सहभागिता थियो । सेमिफाइलनमा थ्रीस्टारले एपीएफ र आर्मीले दाउफिन्स टिमलाई हराउँदै उपाधि भिडण्त गरेका थिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया