रहेनन् तत्कालीन एमालेलाई लोकप्रियताको शिखरमा पुर्‍याउने नेता  अधिकारी !

 फागुन १८, २०७५ शनिबार २२:३५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । १३ दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ८२ वर्षीय नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा निधन भएको हो । 

२०५१ मा नेकपा एमालेको नौ महिने कम्युनिष्ट सरकारको पालामा अर्थमन्त्री बन्नुभएका अधिकारीले ‘आफ्नो गाउँ आफै बनाऊँ’ र वृद्धभत्ता वितरण गर्ने जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएको थियो ।  

नेपालमा पहिलो पटक वृद्धभत्ता वितरण गर्ने कार्यक्रम उहाँकै योजनामा भित्रिएको थियो । त्यही कार्यक्रमका कारण नागरिककाबीच तत्कालीन एमालेको लोकप्रियता चुलियो र ०५४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेले झण्डै दुई तिहाई स्थानमा विजय हासिल गर्न सफल समेत भयो ।

एमालेका पछिल्ला विजयहरुमा समेत अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका तिनै कार्यक्रमहरुको भूमिका रहँदै आएको छ । वृद्धभत्ता वितरण कार्यक्रमलाई अघि सार्दै उसले चुनाव आफ्नो हातमा पार्ने रणनीति बनाउँदै आएको थियो । पछिल्लो पटक भएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा पनि उसले वृद्धभत्ता ५ हजारसम्म पुर्‍याउने घोषणा गर्दै चुनावमा जित हात पारेको थियो ।  

एमालेको नौ महिने शासनकालमा लोकप्रिय अर्थमन्त्री रहेका अधिकारी त्यसयता चारपटक अर्थमन्त्री बन्नुभयो । एकपटक यातायात तथा निर्माणमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका अधिकारी दुई पटक उपप्रधानमन्त्रीसमेत बन्नुभएको थियो ।  

मोरङबाट चारपटक प्रतिनिधि सभामा निर्वाचित भएका अधिकारी एमाले संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गर्नुभयो ।  

विक्रम संवत १९९३ वैशाख २२ मा महोत्तरीको भ्रमणपुरामा सुब्बा रामचन्द्र अधिकारी र पूर्णकुमारीको कान्छो छोराका रुपमा जन्मनुभएको हो । अधिकारीको शिक्षा विराटनगरको आदर्श विद्यालयमा र उच्च शिक्षा भारतको बनारस हिन्दू विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय भयो ।  

सन् १९५२ मा १६ वर्षको उमेरदेखि उहाँ राजनीतिमा लाग्नु भएको होे । तत्कालीन नेकपा एमालेको पाचौँ, छैटौँ, सातौँ र  आठौँ महाधिवेशनमा उहाँ मूल आयोजक समितिको संयोजक भएर कुशलतापूर्वक नेतृत्व निभाउनुभयो । यस्तै छैटौँ, सातौँ र आठौँ महाधिवेशनबाट भने स्थायी समितिमा निर्वाचित पनि बन्नुभएको थियो । उहाँ ५० वर्षभन्दा बढी समय केन्द्रीय नेतृत्वमा रहेर विभिन्न विभागमा रहँदै पार्टीलाई अघि बढाउनुका साथै देश विकाशमा समय खर्च गर्नुभयो ।   

२०७१ सालको एमालेको नवौँ महाअधिवेशनदेखि उहाँले पार्टी कमिटीका कुनै पनि जिम्मेवारी नलिने गरी स्वेच्छिक अवकाशको घोषणा गर्नुभयो । अधिकारी मोरङ जिल्लाबाट वि.सं. २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसद र एकपटक संविधानसभा सदस्य पनि बन्नुभयो ।  

२०५१ सालमा उहाँ अर्थमन्त्री भएको अवसरमा ‘वृद्ध भत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभयो । यसैले नै उहाँलाई सँधैका लागि परिचित बनाइरहन सफल बनायो ।

अहिले वृद्धभत्ता २ हजार रुपैयाँ पुगेको छ । निर्वाचनको समयमा वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने भनेर तत्कालीन एमालेले घोषणापत्रमा नै लेखेको थियो । तर अहिलेसम्म पुर्याइएको भने छैन । 

उहाँले ल्याएको अन्य लोकप्रिय कार्यक्रममा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौँडा–काठमाण्डौ सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान्–श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी जस्ता रहे ।  

२००८ सालदेखि प्रगतिशील राजनीतिमा लाग्नुभएका अधिकारी चार वर्ष भूमिगत जीवन व्यतित गर्नुभयो । पंचायत विरोधी आन्दोलनमा रहँदा ३ वर्ष निर्वासित जीवन व्यतित गर्नुभयो भने झण्डै ३ वर्ष बन्दी जीवन पनि बिताउनुभयो । 

अर्थशास्त्रमा एम.ए र कानुनमा बीएल गर्नुभएका अधिकारी कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो । अधिकारीको 'नेपालमा औद्योगीकरणका समस्या' र 'मेरो जीवन यात्रा' नामक पुस्तक प्रकाशित  छन् । 

उहाँको श्रीमती ओमकुमारी अधिकारी आचार्य र तीन जना छोरी छन् । 

सरकारसँग असन्तुष्ट हुनुहुन्थ्यो

२०५१ सालमा बनेको एमालेको अल्पमतको सरकारले वृद्धभत्ता दिन सुरु गरेको थियो । नागरिकका समस्या राज्यले बहन गर्नुपर्छ भनेर अधिकारीले यस्तो कार्यक्रम सुरु गर्नुभएको थियो । नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएका मनमोहन अधिकारी भरतमोहन अधिकारीको सहोदर दाजु हुनुहुन्थ्यो । त्यही सरकारमा हालका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुनुहुन्थ्यो ।

पहिलो पटक कम्युनिष्ट पार्टीले सरकार सम्हाल्दा सह्रानीय काम गरेकाले त्यसको २३ वर्षपछि कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमतका साथ सरकार बनाएको छ । संयोगले त्यही बेलाका गृहमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । तर अहिलेको सरकारले आशातित काम गर्न नसकेको भन्दै भरतमोहन अधिकारी असन्तुष्ट हुनुहुन्थ्यो । 

अहिले केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले नागरिकलाई कर थोपरेकोमा उहाँले सबैभन्दा बढी असन्तुष्टि जनाउनुभएको थियो । नागरिकलाई फाइदा हुने भए मात्र कर लगाउनुपर्छ भन्ने विचार व्यक्त गर्नुहुन्थ्यो ।

हाँस, कुखुरा, गाई, भैँसीमा कर लगाएर नागरिक कसरी सन्तुष्ट हुन सक्छन् ? उनीहरूलाई कसरी फाइदा हुन सक्छ ? भनेर अधिकारीले प्रश्न गर्नुहुन्थ्यो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया