फेडेररले बनाए उपाधिको सेञ्चुरी

 फागुन १९, २०७५ आइतबार ७:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

लिजेन्डरी टेनिस खेलाडी रोजर फेडेररले उपाधिको सेञ्चुरी हानेका छन् । शनिबार सम्पन्न दुबई ओपन टेनिसको उपाधिसँगै फेडेररले ब्यावसायिक टेनिसको १००औं उपाधि निकाले ।

६६०० दिन अर्थात फेब्रुअरी २००१ मा मिलान इन्डोर्स उपाधि जित्दै फेडेररले पहिलो एटिपी उपाधि चुमेका थिए । झण्डै दुई दशक विश्व टेनिसमा राज गर्न सफल फेडेररले २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन् । 

फेडेरर पुरुषतर्फ सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडी हुन् । १००औं उपाधि जित्ने उनी दोस्रा खेलाडी हुन् । यसअघि अमेरिकाका जिम्मी कोन्नोर्सले सन् १९८३ मा यो कोषेढुंगा पार गरेका थिए । 

दुबई ओपनमा फेडेररलाई इतिहास रच्दै गर्दा विपक्षमा ग्रिसका स्टेफानोस सिट्सिपास थिए । ३७ वर्षे फेडेररले सिट्सिपासको चुनौती ६–४ र ६–४ को सोझो सेटमा पन्छाए । 

फेडेररका लागि सबैभन्दा सफल प्रतियोगिता बासेल र हल्ले ओपन हो । जहाँ उनले ९–९ उपाधि जितेका छन् भने विम्बल्डन च्यामिपयनसिप र दुबई ओपन फेडेररले ८–८ पटक जितेका छन् । यस्तै सिनसिनाटी मास्टर्स सात पटक जितेका छन् । उनले ६ पटक अष्ट्रेलियन ओपन, पाँच पटक युएस ओपन र एक पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । 

फेडेररले १०० मध्ये ५० वटा उपाधि युरोपमा जितेका छन् भने २४ वटा उत्तर अमेरिकामा, १८ वटा एसियामा र आठ अष्ट्रेलियामा जितेका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया