सामाजिक अभियान्ता उप्रेती अकालमा ज्यान गुमाउनेको संख्या घटाउने अभियानमा

 फागुन १९, २०७५ आइतबार ८:२४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – यूएईमा व्यवसाय गर्दै आउनु भएका चितवनका ओम उप्रेती अकालमा ज्यान गुमाउनेहरुको संख्या घटाउने अभियानमा लाग्नु भएको छ ।

भौगोलिक विविधता भएको नेपालमा प्राथमिक उपचारको ज्ञान अभावका कारण धेरैको अकालमा नै ज्यान जाने गरेको छ । यो मृत्युदर घटाउन नेपालका विभिन्न जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम प्रदान गर्दै उप्रेती शनिबार इलाम पुग्नु भएको हो ।

प्राथमिक उपचार प्रदान गर्ने दुबईको कम्पनी डिस्कभरी रोयल स्पोर्टस (एलएलसी)का प्रोप्राइटर उप्रेतीले प्रति जिल्ला ७० देखि एकसय जनाको सहभागितामा तालिम दिँदै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘प्रथामिक उपचार अभावका कारण नेपालमा अकालमा ज्यान गुमाउने संख्या बढेको देखेर दुःख लाग्यो । आफ्नो केही सहयोगले मृत्युदर घटाउन सकिन्छ कि भन्ने उद्देश्यले देशका विभिन्न जिल्लामा निःशुल्क तालिमको आयोजना गर्दै सचेतना जगाएको हुँ ।’ 

तालिममा करेण्ट लागेमा, सर्पले टोकेमा, रक्तस्राव भएमा, आगोले पोलेमा, विष सेवन गरेमा, हृदयघात, किराको टोकाई, दम, श्वास प्रश्वासलगायत गरी १५ प्रकारका समस्या आइपरेमा प्राथमिक उपचारबाटै जीवन रक्षा गर्न सकिने उपायका बारेमा ज्ञान प्रदान गरिएको थियो ।

सामाजिक कार्यमा क्रियाशील उप्रेतीले नेपालमा निःशुल्क प्राथमिक उपचार तालिम अभियान २०७४ साल चैत्र १ देखि चितवनबाट सुरु गर्नु भएको थियो । 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया