चल्न चलमलाउन नभुल्नू, नत्र श्रद्धाञ्जली लेखिदेलान् !

 फागुन १९, २०७५ आइतबार १३:१६:५६ | मिलन तिमिल्सिना
unn.prixa.net

अरुले देख्ने गरी चुप लागेर स्थिर नबस्नू । ठिंग नउभिनू । नझोक्राउनू, ननिदाउनू, नसुत्नू । अस्पताल जाँदा पनि यताउति हेरिरहनू । चलिरहनू, चलमलाइरहनू । तपाईं स्थिर बसेको, अस्पताल पुगेर झोक्राइरहेको, कुर्सीमा बसेर उँघिरहेको या थकाइ लागेर कतै सुतिरहेको कसैले देख्यो भने फेसबुकमा तपाईंलाई श्रद्धाञ्जली लेख्न बेर मान्दैनन् । 

तपाईंलाई के भयो भनेर सोधीखोजी गर्नुभन्दा पहिले तपाईंप्रति श्रद्धाञ्जली लेख्न धेरैलाई हतारो हुन्छ । त्यसैले आफ्नो श्रद्धाञ्जली आफैँले हेर्न र पढ्न मन छैन भने जोगिएर बस्नुहोस् । शनिबार पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनको घोषणा हुनुअघि नै सामाजिक सञ्जालमा उहाँप्रति श्रद्धाञ्जली दिनेको लहर देखिएपछि धेरैले यस्तै टिप्पणी गर्न थालेका छन् ।

उपचारको लागि अस्पताल भर्ना भएका अधिकारी तीन दिनयता सिकिस्त हुनुहुन्थ्यो । शरीरका धेरै अंगले काम गर्न छोडिसकेको थियो । भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो । अवस्था अन्तिम हुन थालेपछि अस्पतालमा नेता, कार्यकर्ता, आफन्त, परिवार र शुभेच्छुको घुईंचो लाग्यो । शनिबार ४ः३० बजे डाक्टरहरुले पत्रकार सम्मेलन गरेर अधिकारीलाई अब बचाउन नसकिने जानकारी दिए ।

एउटाले श्रद्धाञ्जली लेखेको देखेपछि अर्कोलाई पनि हतार भयो, उसले पनि त्यस्तै लेख्यो । ‘ओहो श्रद्धाञ्जली लेख्न म पो ढिलो हुने भएँ त’ भन्ने पारामा धेरैले उसैगरी हतारहतार श्रद्धाञ्जली लेख्न थाले ।

डाक्टरले अब बचाउन मुश्किल छ भनेको सुन्नेबित्तिकै सामाजिक सञ्जालमा अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्न थालियो । एउटाले श्रद्धाञ्जली लेखेको देखेपछि अर्कोलाई पनि हतार भयो, उसले पनि त्यस्तै लेख्यो । ‘ओहो श्रद्धाञ्जली लेख्न म पो ढिलो हुने भएँ त’ भन्ने पारामा धेरैले उसैगरी हतारहतार श्रद्धाञ्जली लेख्न थाले । यसमा नेकपाका नेता कार्यकर्ता समेत अग्रपंक्तिमा देखिए ।

सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका शब्द वर्षा भैरहँदा अस्पतालमा अधिकारी मृत्युसँग संघर्ष गर्दै हुनुहुन्थ्यो । उहाँलाई भेन्टिलेटरमै राखिएको थियो । धेरै अंगले काम गर्न नसक्नु र भेन्टिलेटरमा अचेत अवस्थामा राखिनु भनेको मृत्यु हुनु त होइन नि । केही चमत्कार भैहाल्छ कि भनेर अन्तिम अवस्थासम्म डाक्टरले प्रयास गरिरहन्छन् । परिवार र आफन्तले उसैगरी आशा गरिरहेका हुन्छन् । परिवारको आशा र अनुरोध भएसम्म डाक्टरले अझै केही दिन भेन्टिलेटरमा राखिरहन सक्छन् । डाक्टरले घोषणा नगर्दासम्म मृत्यु भयो भन्न मिल्दैन ।

शनिबार साँझ फेसबुकमा अधिकारीप्रति श्रद्धाञ्जली अर्पण भैरहँदा अस्पतालमा रहेका आफन्तले पनि केही चमत्कार भैहाल्छ कि भनेर आशा गरिरहेका थिए । नेकपाका शीर्ष नेताहरु र डाक्टरहरु छलफलमा थिए । मृत्यु घोषणा नहुँदै फेसबुकमा श्रद्धाञ्जली व्यक्त भएको थाहा पाएपछि नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले फेसबुकमार्फत नै यसो नगर्न आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालदेखि अनलाइनसम्म

पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन एमालेको सरकारका लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राती ९ः३५ मा निधन भयो । उहाँको निधनको घोषणा हुनुअघि नै फेसबुकलगायतका सामाजिक सञ्जाल उहाँप्रतिको श्रद्धाञ्जलीका शब्दले भरिसकेको थियो । 

दिवंगत नेता अधिकारीलाई मात्र होइन, यसअघि पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रचण्डपुत्र प्रकाश दाहाल, वरिष्ठ संगीतकार अम्बर गुरुङ लगायतको निधन हुँदा पनि अस्पतालले घोषणा गर्नुअघि नै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइएको थियो । यस्तो प्रवृत्ति हेर्दा सामाजिक सञ्जालमा कसले पहिले श्रद्धाञ्जली दिने भनेर होडबाजी नै भएजस्तो देखिन्छ ।

हल्ला र अनुमानको भरमा समाचारको खेती गर्ने केही अनलाइनहरुले पनि फलानोको निधन भयो भनेर समाचार लेख्छन् । त्यसपछि आफ्नो मान्छे अस्पतालमा इन्तु न चिन्तु भएर मृत्युसँग संघर्ष गरिरहँदा सँगै भएका परिवारजन र आफन्त त्यो श्रद्धाञ्जली र मृत्युको समाचार पढ्न बाध्य हुन्छन् ।

हिजोआज सामाजिक सञ्जालबिना समय कटाउन धेरैलाई गाह्रो भैसकेको छ । कार्यालयको काममा व्यस्त हुँदा होस् या कामै नभएर फुर्सद हुँदा, फेसकुकलगायतका सामाजिक सञ्जालमा धेरैको ध्यान हुन्छ । फेसबुक हेर्दै जाँदा एउटाले फलानोको त निधन भएछ रे नि भनेर लेखेको देखिन्छ । त्यो देखेपछि अर्कोलाई लाग्छ, ओहो श्रद्धाञ्जली लेखिहाल्नु पर्‍याे । अनि उसले श्रद्धाञ्जली लेखेपछि फेरि अर्कोले त्यसै गर्छ । अनि आफ्नो कान नछामी कागको पछि दगुरेजस्तो सबैले उसै गर्छन् । हुँदाहुँदा हल्ला र अनुमानको भरमा समाचारको खेती गर्ने केही अनलाइनहरुले पनि फलानोको निधन भयो भनेर समाचार लेख्छन् । त्यसपछि आफ्नो मान्छे अस्पतालमा इन्तु न चिन्तु भएर मृत्युसँग संघर्ष गरिरहँदा सँगै भएका परिवारजन र आफन्त त्यो श्रद्धाञ्जली र मृत्युको समाचार पढ्न बाध्य हुन्छन् । उनीहरुलाई अर्को पीडामाथि पीडा थपिन्छ ।

त्यसैले नियमन जरुरी

फेसबुकलगायतका सामाजिक सञ्जालमा जथाभावी लेख्न नपाइने नियम छ । नियमविपरीत लेख्ने र पोष्ट गर्नेलाई कारबाही पनि हुँदै आएको छ । तर सामाजिक सञ्जालको दूरुपयोग रोकिएको छैन । जसलाई जे लेख्न पनि छुट भएजस्तो देखिन्छ ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जालमै देखेका कुरामा विश्वास गर्ने र त्यसकै आधारमा धारणा बनाउने नागरिक धेरै छन् । अझ अनलाइनमा आएका खबरलाई त धेरैले आँखा चिम्लेरै विश्वास गर्छन् । कुन अनलाइन कस्तो हो, कुनको चाहिँ विश्वास गर्ने भन्ने मेसो सबै पाठकलाई हुँदैन । जुनसुकै अनलाइनको जस्तोसुकै खबर र फेसबुक स्टाटस पढेर ‘ए यस्तो भएछ नि’ भन्ने चर्चा भैहाल्छ । 

धन्न अहिलेसम्म मरेको मान्छेले आफ्नो मृत्युअघि नै श्रद्धाञ्जली दिएको हेर्न, पढ्न र सुन्न परेको छैन । सामाजिक सञ्जालको दुरुपयोग यसैगरी बढ्दै जाने हो भने कुन दिन यस्तो अवस्था पनि नआउला भन्न सकिन्न ।

पछिल्लोपटक शनिबार नेता अधिकारीको श्रद्धाञ्जली दिने र अस्पतालले घोषणा गर्नुअघि नै मृत्यु भनेर लेख्ने क्रममा पनि यही भयो । अधिकारीले अन्तिम श्वास फेर्नुअघि धेरैले उहाँको निधन भैसकेको बुझे । 

धन्न अहिलेसम्म मरेको मान्छेले आफ्नो मृत्युअघि नै श्रद्धाञ्जली दिएको हेर्न, पढ्न र सुन्न परेको छैन । सामाजिक सञ्जालको दुरुपयोग यसैगरी बढ्दै जाने हो भने कुन दिन यस्तो अवस्था पनि नआउला भन्न सकिन्न । अहिले परिवार, आफन्त र शुभचिन्तकलाई मात्र आफ्नो मान्छेको मृत्युअघिको श्रद्धाञ्जलीले पोलेको छ ।

मर्दै नमरेको मान्छेलाई श्रद्धाञ्जली दिने होडबाजी मात्र होइन, सामाजिक सञ्जालबाट अरु धेरै दूरुपयोग बढ्दैछन् । सामाजिक सञ्जाल र केही अनलाइनमा हुँदै नभएका कुरा पढ्दा अविश्वास र भ्रम बढ्दो छ । त्यसैले सामाजिक सञ्जाल प्रयोगमा नियमन गर्न जरुरी भैसकेको छ । सरकारले यसै सन्दर्भमा ल्याउन लागेको नियममा आँखा चिम्लेर विरोध मात्रै गर्ने कि यस्ता कुरामा ध्यान दिएर दुरुपयोग रोक्नेतर्फ पनि सघाउने ? अभिव्यक्ति स्वतन्त्रतामा असर नपर्ने गरी सामाजिक सञ्जालको दूरुपयोग रोक्न र नियमन गर्न जरुरी भैसकेन र ? 

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया