बलियाे सेनेगल भर्सेस लगातार २ खेल जित्ने रेकर्ड बनाउन अातुर जापान

 असार १०, २०७५ आइतबार १४:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपमा दक्षिण अमेरिकी मुलुकलाई हराएर इतिहास कायम गरेको जापान सेनेगलसँग आफ्नो दोस्रो खेलमा जित हात पारेर अर्को इतिहास कायम गर्ने लक्ष्यमा छ ।

पहिलो खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी कोलम्बियालाई हराएको जापानले सेनेगललाई हराएमा विश्वकपमा पहिलो दुई खेल जित्ने एसियाली मुलुकको कीर्तिमान कायम गर्नेछ । 

विश्वकपमा अहिलेसम्म कुनै एसियाली मुलुकले लगातार दुई खेल जितेका छैनन् । सेनेगलविरुद्धको जितले जापानले कीर्तिमानमात्र होइन नकआउट चरणमा समेत स्थान बनाउनेछ ।

इकाटेरिन्बर्ग रंगशालामा हुने जापान र कोलम्बियाबीचको खेल नेपाली समय अनुसार पौने नौ बजे हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टिमका लागि आजको तीन अंकले नकआउट चरणको यात्रा सुनिश्चित गराउनेछ । 

पहिलो खेलमा हात पारेको जितका कारण दुवै टिमका समर्थक प्रसन्न छन् भने खेलाडीको मनोबल उच्च भएको छ ।

पोल्याण्डलाई २–१ ले हराउँदा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका सेनेगलका एम्बाए निआङ इन्ज्युरीका कारण मैदानबाट बाहिरिन बाध्य भए । 

तर उनी जापानविरुद्धको खेलका लागि फिट भइसकेका छन् । ‘समूहमा विश्वास गर्छु । एक जित पर्याप्त छैन, हामीले नकआउट चरणका लागि अझ धेरै मेहनत गर्नु जरुरी छ ।’ निआङले भने ।

‘जापान क्षमतावान टिम हो, हाम्रो तयारीको प्रमुख पाटो अन्तर्गत उसका खेलहरु हामीले अध्ययन गरिरहेका छौं ।’ निआङले भने ।

खेलको तेस्रो मिनेटमै १० खेलाडीमा सिमित बनेको कोलम्बियाविरुद्ध जित हात पारेको जापानलाई सेनेगलसँगको खेल भने त्यति सहज हुनेछैन । 
जापानलाई आजको खेलमा सेनेगलको काउन्टर अट्याक राम्रैसँग झेल्नु पर्नेछ ।

‘उनीहरुको गति र शारिरिक शक्ति अपेक्षाकृत बलियो छ । सबै खेलाडीबीचको तालमेल निकै राम्रो छ ।’ जापानका डिफेन्डर युतो नागातोमोले भने । ‘व्यक्तिगत रुपमा सबै खेलाडी क्षमतावान छन्, तर क्षमतावान खेलाडीवीच कुनै बेला हुन सक्ने तालमेलको अभावको मौका हामी खोज्नेछौं ।’
 

हेड टू हेड

जापान र सेनेगल अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा तीन पटक आमने सामने भएका छन् ।

कुनै पनि खेलमा जापानले सेनेगलमाथि जित हात पार्न सकेको छैन । तीन खेलमा दुई खेल सेनेगलले जितेको थियो भने एक गोल बराबरीमा सकिएको थियो ।

यी दुई टिमको अन्तिम खेल सन् २००३ मा भएका थियो । मैत्रिपूर्ण खेलमा सेनेगल १–० ले विजयी भएको थियो ।

 
म्याच फ्याक्ट्स


–अहिलेसम्म कुनै पनि एसियाली टिमले विश्वकपको पहिलो दुई खेलमा लगातार जित हात पार्न सकेको छैन ।

–सन् २००२ पछि जापानले लगातार दुई खेल जित्न सकेको छैन । आफ्नै भूमिमा भएको त्यो संस्करणमा जापानले दोस्रो र तेस्रो खेलमा क्रमशः रसिया र ट्युनिसियालाई हराएको थियो ।

–पछिल्लो नौ खेलमा सेनेगलले जम्मा पाँच गोलमात्र खाएको छ, जसमा उसले पाँच जित, तीन बराबरी र एक हारको नतिजा निकालेको थियो ।

–सन् २००२ पछि कुनै पनि अफ्रिकी टिमले विश्वकपमा पहिलो दुई खेल जितेको छैन ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया