झुटाे विवरण पेश गरी दोहोरो नागरिकता लिने दुई जना जेल चलान

 फागुन १९, २०७५ आइतबार १९:३६:४ | सन्तोष थापा
unn.prixa.net

पर्वत - झुटाे विवरण पेश गरेर दोहोरो नागरिकता लिएको अभियोगमा तनहुँका दुई व्यक्तिलाई पर्वत जिल्ला अदालतले जरिवाना सहित कैद सजाय सुनाएको छ ।

तनहुँ जिल्ला, साविकको माझकोट गाविस २ घर भएर पोखरामा डेरामा बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मिनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो । 

दलबहादुरका छोरा मिनबहादुर कुमालले जिल्ला प्रशासन कार्यालय तनहुँबाट नेपाल नागरिकता लिएपछि पुन जिल्ला प्रशासन कार्यालय पर्वतबाट झुट्टा विवरण लेखाई सुजन थापा नाम राखेर दोश्रो नागरिकता लिएका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट ३ जेठ २०६३ मा जारी भएको सुजन थापा नामको नागरिक प्रमाणपत्र सहित नीज मिनबहादुर कुमाललाई १३ माघ २०७४ मा पर्वत प्रहरीले गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो । 

उक्त विषयमा प्रहरीले सोधपुछ गर्दा कुमालले आफुले झुट्टा विवरण पेश गरी नागरिकता लिएको स्वीकार गरेपछि सोही प्रमाणका आधारमा कुमाललाई जिल्ला अदालत पर्वतबाट झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । 

पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको इजलासले मुख्य आरोपित मिनबहादुर कुमाललाई एक वर्ष दुई महिना कैद सजायसँगै २० हजार जरिबानाको सजाय सुनाएको छ भने उनका बाबु दलबहादुर कुमाललाई एक वर्ष कैद सजायसँगै २० हजार जरिवाना र नागरिकता प्रमाणपत्र बनाउनका लागि सिफारिस गर्ने तत्काल पर्वत जिल्ला कुर्घा गाविसका गाविस सचिव पिताम्बर शर्मालाई १५ हजार जरिवानाको फैसला सुनाएको छ । 

त्यसै घटनामा संलग्न रहेको आरोपमा पर्वत जिल्ला अदालतबाट मुद्धा खेपिरहेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गोपिकृष्ण ढुंगाना र नागरिकता फाँटका कर्मचारी लोकनारायण लामिछानेलाई अदालतले सफाइ दिएको छ । 

घटनाका आरोपित मिनबहादुर कुमाल र दलबहादुर कुमाल यसअघि नै कारागारमा पुर्पक्षका लागि थुनामा छन् भने तत्कालीन गाविस सचिव शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी सेवा निवृत भइसकेका छन् । फाँटवाला लामिछानेको एक वर्षअघि नै मृत्यु भइसकेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया