सेना दिवसमा प्रधानमन्त्रीकाे शुभकामना सन्देश : सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि पहल गरिने

 फागुन २०, २०७५ सोमबार ७:१५:७ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ । सेना दिवसका अवसरमा साेमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।” 

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको सन्देशमा उल्लेख गर्नुभएको छ । “नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पु¥याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “ यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकल दर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।” 

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिका बखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्धार कार्यमा खटिने समस्त सैनिकप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । नेपाली सेनाले गएका दिनमा झैँ आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारी कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएकोउल्लेख गर्नुभएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया