नगरपालिकाले बजेट विनियोजन नगर्दा पशु किसानले निःशुल्क औषधि पाएनन्

 फागुन २०, २०७५ सोमबार १०:१६:४७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – नेपाल सरकारले पशुपालक किसानहरुलाई दिँदै आएको विभिन्न ७ प्रकारका निःशुल्क औषधिहरु मन्थली नगरपालिकाले बन्द गरेसँगै किसानहरु मारमा परेका छन् ।

साविक जिल्ला पशुसेवा कार्यालय रामेछापले पशुपालक किसानहरुले आफ्नो पशु चौपायाहरु बिरामी परेर उपचार लिन आउँदा निःशुल्क रुपमा पाउँदै आएका औषधि अहिले बन्द भएपछि पशुपालक किसानहरु मारमा परेका हुन् । यसअघि पशु बिरामी भएर उपचार गराउन आउँदा पशु प्राविधिकको जाँचपछि उनीहरुकै सल्लाहमा औषधि निःशुल्क पाउने गरेका थिए ।

सरकारले रामेछापको साविकको पशु सेवा कार्यालयलाई प्रदेश अन्तर्गत सिन्धुली जिल्लाले हेर्ने गरी राखेपछि अहिले पशु शाखा मन्थली नगरपालिकामा रहेको छ । शाखाले बजेट अभाव देखाउँदै समयमा बजेट विनियोजन नगर्दा किसानहरुले पाउँदै आएको औषधिहरु दिन नसकेको बताएको हो ।

अहिले दैनिक पशुचौपायाहरु बिरामी परेर पशु शाखामा जँचाउन ल्याउने किसानहरुले नाम्लेको औषधिसमेत वाह्य पशु औषधि पसलमा महङ्गो मूल्य तिरेर खरिद गरेर खुवाउनु पर्ने बाध्यता रहेको पशुपालक किसानहरु बताउँछन् ।

सरकारले सबै नागरिकहरुलाई सेवा र सुविधा दिने गरि सिंहदरबारको अधिकार गाउँतहसम्म पुर्‍याएको भन्दै विभिन्न नाराहरु घन्काए पनि आफूहरुले पहिला पाउँदै आएको औषधिसमेत अहिले नगरपालिकाले बजेट अभाव देखाउँदै बन्द गराएपछि किसानहरु मारमा परेको मन्थली नगरपालिका वडा नं–३ का किसान मानबहादुर खत्रीले बताउनुभयो ।

गएको वर्ष पशुसेवा कार्यालयले खरिद गरेर बाँकी रहेका औषधि असोज महिनासम्म किसानलाई उपलब्ध गराए पनि कात्तिकदेखि औषधि खरिद नभएकाले औषधि दिन नसकिएको पशुस्वास्थ्य शाखा मन्थलीका पशु स्वास्थ्य प्राविधिक मुकुन्द खड्काले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो ‘दैनिक रुपमा किसानहरु आफ्ना चौपाया बिरामी भएर उपचार गराउन कार्यालयमा लिएर आउँछन् । कार्यालयमा औषधि नभएकाले पहिला दिइदै आएको औषधिसमेत खरिद गरेर लैजानु भन्दा सबै किसानहरुले पहिला पाएको औषधि किन अहिले बन्द भएको भन्दै हामी कर्मचारीहरुलाई उल्टै गाली गर्छन् ।’ अहिले किसानलाई हामीले गुणस्तरीय स्वास्थ्य सेवा दिएता पनि औषधि अभावका कारण गाली खानु शिवाय विकल्प नभएको पशु प्राविधिक खड्काले दुःखेसो पोख्नुभयो । 

उहाँले भन्नुभयो ‘मैले धेरै पटक पटक नगरपालिकाका मेयर र कार्यकारीलाई समेत औषभि अभावको विषयमा जानकारी गराएँ । तर उहाँहरुले समयमा बजेट विनियोजन नगर्दा यो समस्या आएको हो ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया