‘गाउँ विकास गर्ने बजेट ल्याउँदा विपक्षीले कनिका छरेको भन्थे’

 फागुन २०, २०७५ सोमबार १२:५१:४६ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – पहिलो कम्युनिष्ट सरकारका सफल अर्थमन्त्री भरतमोहन अधिकारीले नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष नागरिकसँग जोड्ने बनाउनु भएको थियो । ८२ बर्षको उमेरमा शनिबार उहाँको निधन भएपछि धेरैले कम्युनिष्ट पार्टीको ‘मास्टर माइण्ड’ गुम्यो भनेर बुझेका छन् । सरकार र अर्थतन्त्रलाई देशका तल्लो तहसम्म लैजाने र नागरिकलाई त्यसबाट प्रत्यक्ष राहत दिने भरतमोहनकै योजनाका कारण २०५१ सालमा गठन भएको तत्कालीन एमालेको ९ महिने सरकार लोकप्रिय बनेको थियो । 

तर पछिल्लो समयका कम्युनिष्ट नेता र सरकारले नागरिकको मर्म बुझ्ने, समस्याको सम्बोधन हुने, गरीब, दलित, सुकुम्बासी, भूमिहीनका लागि राज्य छ भन्ने महसुस गराउन सक्ने बजेट ल्याउन सकेन भन्दै उहाँ चित्त दुखाउनुहुन्थ्यो । पहिलो कम्युनिष्ट सरकारका सफल अर्थमन्त्री भरतमोहनको योजना, कार्यक्रम, व्यक्तिका सोच र त्यसले पार्टी र नागरिकलाई पारेको सकारात्मक प्रभावका विषयमा विष्णु विश्वकर्माले अर्थविद डा. गोविन्दबहादुर थापासँग कुराकानी गर्नुभएको छ :

भरतमोहन अधिकारीलाई तपाईं कसरी चिन्नुहुन्छ ?

नेपालको इतिहासमा भरतमोहन अधिकारी पहिलो अर्थमन्त्री हो, जसले गाउँको बजेट बनाउनुभयो ।

नागरिकको बजेट बनाउनुभयो । त्यसभन्दा अगाडि बजेट भनेको व्यापारी घरानाका लागि मात्रै बनाइन्थ्यो । राजनीतिक दलका नेता, कार्यकर्ता र उनीहरुका आसेपासेका लागि मात्रै बजेट आउँथ्यो । तर भरतमोहनले भने गरीबका लागि, दलितका लागि, सुकुम्बासीका लागि, भूमिहीनका लागि बजेट ल्याउनुभयो । राज्यको स्रोत तल्लो तहसम्म पुग्ने गरी बजेट बनाउनुभयो ।

यस पछाडिको ‘आइडोलोजी’ के थियो ? जसले उहाँका दाजु मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारलाई लोकप्रिय बनाइदियो ।

आइडोलोजी भनेको कम्युनिष्ट पार्टी चुनाव लडेर पहिलोपटक सरकारमा आएको थियो । त्यसैले कम्युनिष्ट पार्टीले सुरुदेखि नै उत्पीडनमा परेका र किनारा लगाएका वर्गका लागि आवाज उठाउने, उत्थानका लागि काम गर्ने उद्धेश्यले बजेट ल्याउनुपर्ने थियो । यसमा भरतमोहन चुकेनन् । जसरी गरीब मजदुरका लागि कम्युनिष्ट पार्टीले नारा बनाउँथे, त्यसरी काम गर्नुपर्छ र नागरिकलाई राहत दिनुपर्छ भनेर भरतमोहनले वृद्धभत्ता दिने र तत्कालीन गाविसलाई विकासका लागि पैसा दिने गरी बजेट ल्याउनु भएको हो ।

भरतमोहन अधिकारीले बजेट ल्याउँदा राज्य, सहकारी र निजी क्षेत्रलाई समेटेर बजेट ल्याउनु भएको थियो । त्यस अगाडि राज्य र निजी क्षेत्रका लागि मात्रै बजेट केन्द्रित हुने गरेको थियो । यो तत्कालीन एमालेकै धारणा हो वा भरतमोहनको अर्थशास्त्री ज्ञान हो ?

सहकारीलाई कम्युनिष्ट पार्टीले एउटा मित्र क्षेत्रका रुपमा हेर्छ । लेनिनले सहकारिता सम्बन्धी किताब लेखेर यसको उपयोगका बारेमा लेख्नु भएको थियो । र लेनिनले नै सहकारितालाई संवद्र्धन र प्रवद्र्धन गर्नु भएको थियो । निम्न वर्ग र विपन्न वर्गका लागि हित गर्ने सूत्र भनेको सहकारी प्रणाली हो भनेर लेनिनको भनाई थियो । त्यही भनाईअनुसार नेपालमा पनि सहकारीलाई प्रवर्द्धन गरेर अगाडि बढाउनुपर्छ भन्ने सोच एमालेका नेताहरुमा थियो । २०५१ सालमा पहिलो पटक सरकारमा जाने मौका पाएपछि भरतमोहनले त्यसलाई बजेटमै व्यवस्था गर्नुभयो ।

बृद्धभत्ता, सहकारीको नीति र गाविसलाई बजेट दिने महत्वपूर्ण कामले गर्दा मनमोहन अधिकारी नेतृत्वको सरकार लोकप्रिय बन्यो । अहिलेको सरकारले बृद्धभत्ता बढाएर पाँच हजार रुपैयाँ पुर्‍याउने भन्यो । तर बजेटमा त्यो व्यवस्था गर्न सकेन । किन होला ?

यसमा दृष्टिकोणको अभाव हो । अझ भनौं तत्कालीन नेताहरुको जतिको सोच पनि नहुनु दृष्टिकोणमै खोट हो । त्यतिबेला वृद्धभत्ता भनेर १०० रुपैयाँ दिदा पनि पार्टी भित्र र बाहिर चर्को आलोचना भएको थियो । त्यतिबेला झण्डै ६÷७ लाख रुपैयाँ वृद्धवृद्धालाई भत्ता दिँदा जति पैसाको आवश्यकता पर्थ्याे, अहिले त त्यो समस्या छैन । मूल्यवृद्धि यति बढिरहेको छ । दैनिक आवश्यकता पहिलेको तुलनामा झन् बढ्दो छ । यस्तोमा सरकारले आफ्नो वाचालाई पूरा गर्न नसक्नु भनेको दृष्टिकोणकै अभाव हो ।

तपाईंले नेताहरुमा दृष्टिकोणको अभाव भन्नुभयो । कतै यो भरतमोहनले लागू गरेको कुरालाई हामीले किन प्राथमिकता दिने भनेर बेवास्ता गरिएको त होइन ? 

यो बेवास्ता भन्दा पनि वर्तमान अर्थमन्त्रीको सोचमा भर पर्ने कुरा हो । पार्टीमा लामो समय काम गरेको र अर्थशास्त्र बुझेको व्यक्ति भन्दा एउटा विज्ञलाई अर्थमन्त्री बनाउँदा प्राविधिक कुरा मात्रै मिल्छ । नागरिकलाई बाँडेका सपना त्यसले पूरा हुँदैनन् । किनकी बजेट भनेको राजनीतिक दस्ताबेज नै हो । जसलाई प्राविधिक र आर्थिक हिसाबले पूरा गर्न बजेट ल्याइन्छ । तर यति चाहिँ सत्य हो, वृद्धभत्ता बढाउने विषयमा प्रधानमन्त्रीको सहमति थिएन । चुनावी नारा बनाए पनि त्यसलाई व्यवहारमा प्रयोग गर्न प्रधानमन्त्रीले नचाहेको मेरो बुझाई हो । यसप्रति भरतमोहनले पनि सार्वजनिक रुपमै बोल्नु भएको थियो । चित्त दुखाउनु भएको थियो । 

कम्युनिष्टको पहिलो सरकार नै लोकप्रिय बन्यो । भरतमोहनको दिगो सोच र बजेटले गर्दा । यसले दिएका अरु सन्देशहरु के–के हुन् ?

यसले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सकारात्मक तर गम्भीर प्रभाव पारेको छ । पहिलो सामाजिक क्षेत्रको कुरा गर्ने हो भने सरकारले अब नागरिकको जनजीवनलाई प्रत्यक्ष हेर्न थाल्यो । पहिले वृद्धवृद्धाले खाए कि भोकै छन् भन्ने कुराको वास्ता थिएन । तर अब सरकारले मासिक रुपमा भत्ता दिन थाल्यो । यसबाट नागरिकलाई प्रत्यक्ष फाइदा पुग्यो र प्रभाव पर्‍याे । 

वृद्धभत्ताले गर्दा सरकारले हामीलाई हेर्छ भन्ने सन्देश गयो । त्यसको ‘क्रेडिट’ मनमोहन अधिकारी नेतृत्वको सरकारले पायो । यसका योजनाकार भरतमोहन थिए । अब आर्थिक कुरा गर्ने हो भने लामो समय कांग्रेसले सरकार चलायो । तर आर्थिक उदारीकरणका नाममा विपन्न, मजदूर, दलित, गरिबलाई उपेक्षा गर्दै व्यापारीलाई मात्रै पोस्ने नीति उसको थियो । यसलाई भरतमोहनले ‘ब्रेक थ्रु’ गरे । मेरो व्यक्तिगत बुझाईमा मनमोहन अधिकारीको सरकार नढलेको भए तत्कालीन सशस्त्र द्वन्द्व चर्किने थिएन । किनकी तत्काल नेकपा माओवादीको माग र मुद्दालाई मनमोहनको सरकारले सम्बोधन गर्दै गएको थियो । तर अपशोच ! सशस्त्र द्वन्द्वका कारण १७ हजार मानिसको ज्यान गयो । रोक्न सकिएन ।

भनेको एउटा अस्थिरताले अर्को अस्थिरता अर्थात द्वन्द्वको सिर्जना गरायो...

हो । एकहदसम्म यो पनि हो । किनभने त्यतिबेलाका सरकार टिकेको भए वा मनमोहनकै सरकारले निरन्तरता पाएको भए द्वन्द्वको शुरुवात हुने थिएन । भरतमोहनले कम्युनिष्टको पहिलो सरकारलाई नै लोकप्रिय बनाएकाले उहाँबाट यसको आशा गरिएको थियो । अब उहाँकै योजनामा गाउँमा बजेट जान थालेपछि त्यसले आर्थिक र राजनीतिमा क्षेत्रमा पनि राम्रो सन्देश गएको थियो ।

यसमा तत्कालीन कांग्रेस लगायतका विपक्षी दलहरुले कतिको विरोध गरेका थिए ?  

त्यतिबेला विपक्षीले भयंकर विरोध गरे । संसदमा बजेट वक्तव्य नै च्यातियो । र कनिका छरेको बजेट भनेर विरोध भयो । विपक्षीहरुले विपन्नहरुलाई बजेट बाँडेर साध्य लाग्दैन भन्थे । यसरी कनिका जसरी बजेट छर्दा विकास हुन सक्दैन भन्थे । बजेट त शक्ति र सामथ्र्य भएकाहरुले बाँडीचुँडी खानुपर्छ भन्ने भ्रम नेताहरुमा थियो ।

भरतमोहनले बजेट ल्याउँदा तत्कालीन कांग्रेसलगायतका विपक्षी दलहरुलाई सह्य भएको थिएन । अन्ततः मनमोहन अधिकारी नेतृत्वको सरकार ढालेरै छाडे । पछि २०५५ सालमा भरतमोहन अधिकारी फेरि अर्थमन्त्री बन्नुभयो । त्यतिबेला कांग्रेसमा त्रास थियो, भरतमोहनले के–के कार्यक्रम लिएर आउने हुन ? आफ्नो लोकप्रियता फेरि बढाउने भए भनेर चर्चा हुने गरेको थियो । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । तर २०५१ सालको जस्तो उहाँले त्यसपछि पटक पटक अर्थमन्त्री बन्दा पनि बजेटमा महत्वपूर्ण कार्यक्रम ल्याउन सक्नु भएन ।

नागरिकसँग जोडिएका विषयमा बजेट केन्द्रित गर्ने भरतमोहनलाई व्यक्तिगत रुपमा के ले प्रेरणा दिन्थ्यो ?

मुख्य कुरा भनेको उहाँ लामो समय कम्युनिष्ट पार्टीमा रहनुभयो । मनमोहनका भाइ भएका कारण पनि एमालेमा उहाँ प्रभावशाली हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीको ‘लिटरेचर’ बुझेकाले पनि उहाँलाई नागरिकका जनजीविकासँग जोडेर बजेट ल्याउन प्रेरित गर्‍याे जस्तो मलाई लाग्छ । अर्को उहाँको सबैसँग राम्रो भेटघाट, बहस, छलफल हुन्थ्यो । यसले पनि उहाँलाई नेपाली नागरिकको वास्तविकता थाहा थियो । उहाँ त्यसलाई उकास्न चाहनुहुन्थ्यो । 

भरतमोहन अधिकारीका राम्रा कामलाई अहिलेको सरकारले किन निरन्तरता दिन सकेन ? भरतमोहन अधिकारीकै उपेक्षा गरेर सरकार सफल हुन सक्ला र ?

अब राष्ट्रको, नागरिकको हितका लागि हो भने भरतमोहनको उपेक्षा भए पनि फरक पर्दैन थियो । तर अहिले उहाँको कार्यक्रमलाई निरन्तरता भन्दा पनि देशकै हित हुने, नागरिकलाई फाइदा हुने कार्यक्रम खासै आएजस्तो मलाई लाग्दैन । आफ्ना सुझावहरु पार्टीले नसमेट्दा उहाँ बुढेसकाल निक्कै चित्त दुखाएर बिताउनु भएको थियो ।

उहाँले सार्वजनिक रुपमा बोल्ने गर्नुहुन्थ्यो, ‘अहिलेका नेतामुखी, कार्यकर्तामुखी र व्यापारीमुखी कार्यक्रमले पार्टी ध्वस्त हुन्छ । आगामी चुनावमा हामीलाई गाह्रो हुन्छ’ भनेर सार्वजनिक रुपमा बोल्ने र पत्रपत्रिकामा लेख लेख्ने गर्नुहुन्थ्यो । उहाँले असन्तुष्टि राख्दा अहिलेको नेतृत्वले सुनेन । सायद अन्तिम समयमा उहाँका सुझाव राम्रा लागे पनि समय धेरै घर्किसक्यो । भोलि फेरि नागरिकबाट भोट नआँउदा, नागरिकले मन नपराउँदा भरतमोहनलाई सम्झेर मात्रै हुँदैन ।  
 

अन्तिम अपडेट: भदौ २७, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया