सरकार सबै खालको स्वतन्त्रता हनन गर्दैछ  : देउवा

 फागुन २०, २०७५ सोमबार १३:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय रहेको बताउनु भएको छ । 

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आज चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा बोल्दै उहाँले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताउनु भएको छ । 

देउवाले भन्नुभयो, ‘सरकार प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप गर्न खोज्दैछ, यो कांग्रेसलाई कदापि स्वीकार्य हुँदैन ।’ सरकारले प्रेस माथि पनि विभिन्न बहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै कांग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताउनुभयो । 

१९९० सालमा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मनु भई २०११ सालबाट नेपाली कांग्रेसबाटै राजनीतिक यात्रा सुरु गरेको स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा २०१९ सालदेखि २०३४ सालसम्म १६ वर्ष जेल सजाय भोग्नु भएको थियो । प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी रहनु भएका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले पण्डितको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उहाँको योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानु पर्नेमा जोड दिनुभयो । 

त्यस अवसरमा नेपाली कांग्रेसका पूर्वसभापति तिलक कायस्थ, भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, क्षेत्र नं. २ का सभापति नारायण खायमली, नेता माथवरसिंह बस्नेतलगायत, युवा नेता यादव अधिकारी लगायतले प्रजातन्त्रका सेनानी पण्डितको योगदानको चर्चा गर्नुभयो । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया