साँगुरीगढी गाउँपालिकाका २४ घरपरिवार पहिरोको जोखिममा

 असार १०, २०७५ आइतबार १६:५९:२१ | उज्यालो सहकर्मी

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेटोलका २४ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

वर्षाका कारण गाउँमा गएको पहिरो बस्तीतर्फ बढ्दै गएपछि गाउँ नै जोखिममा परेको हो । दैनिक जसो भइरहेको वर्षाका कारण पहिरो खस्दै गाउँतिर बढेपछि पहिरोले बस्ती बगाउने त्रास बढेको स्थानीयवासी थाम्के राईले बताउनुभयो ।

पहिरोले आफ्नो करिब दुुुई रोपनी जग्गा समेत बगाएको राईले गुनासो गर्नुभयो । अर्का स्थानीयवासी हरिचन्द्र राईले पनि पहिरो जाने क्रम नरोकिएकाले आफूहरु त्रासमा रहेको बताउनुभयो । पहिरोबाट थाके राई, सन्तबहादुर राई, हिरामान राई, हरिचन्द्र राईलगायत दुई दर्जन बढीको घर तथा जमिन जोखिममा परेको छ ।

वर्षाका कारण भेडेटार–महाभारत–आहाले–वराहक्षेत्र ग्रामिण कृषि सडकको ढुङ्गेदेखि आहालेसम्म जाने सडक पनि पहिरोका कारण पुरिएर अवरुद्ध बनेको सडक उपभोक्ता समितिका अध्यक्ष सूर्यमान राईले बताउनुभयो ।

सडक अवरुद्ध भएका कारण निर्माणाधिन फेसुवा ट्रष्ट पुलको सामग्री ढुवानीमा समेत समस्या भएको फेसुवा ट्रष्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर लिम्बुले बताउनुभयो । वर्षात् र सडक निर्माणका कारणले पहिरोको जोखिम बढेकाले रोकथामको लागि सडकको वरिपरी ग्याबिन निर्माणको लागि वडा कार्यालय तथा गाउँपालिकासँग पहल गरिरहेको सडक उपभोक्ता समितिका अध्यक्ष राईले बताउनुभयो ।

कृषि सडक निर्माणको क्रममा घुम्ती बाटोमा बढी गहिरो खनिएकाले पहिरोको जोखिम बढेको साँगुरीगढी गाउँपालिकाका वडाध्यक्ष विनय राईले जानकारी दिनुभयो ।
    
 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया