कार्यकर्ता प्रशिक्षणमा नेकपा प्रवक्ता श्रेष्ठले भने :  गुटको कुरा गर्नेलाई लोप्र्याइदिनूस्

 फागुन २०, २०७५ सोमबार १८:३७:३० | किरण लोहनी
unn.prixa.net

गोरखा  – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले १५ दिनभित्र पार्टीको सांगठनिक एकताको टुंगो लाग्ने दाबी गर्नुभएको हो ।  

पार्टीका दुई अध्यक्षले यसको गृहकार्य थालिसकेको भन्दै उहाँले कम्तीमा १५ दिनभित्र यसबारे स्पष्ट खाका आउने बताउनु भएको हो । 

नेकपा सिरानचोक गाउँपालिकाले छोप्राकमा गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘पार्टीको एकता ३ महिनाभित्र टुंगिन्छ भनेका थियौँ, तर ९ महिना भैसक्दा पनि कामै भएको छैन, यसमा हामी सबैको दोष छ, मेरो भागमा दोषको हिस्सा कति पर्छ म जिम्मा लिन्छु ।’ तर अब भने पार्टी सचिवालय र अध्यक्षद्वयले सांगठनिक एकताको टुंगो लगाउनका लागि पर्याप्त गृहकार्य गरिसकेको उहाँको भनाइ छ । 

सांगठिनक एकता नटुंगिएकै कारण तल्लो तहसम्म पार्टी पुग्न नसकेको भन्दै उनले सरकार र पार्टीको आलोचना गर्न चाहनेहरुलाई फाइदा पुगेको बताउनुभयो ।

‘हाम्रा साथीहरु अल्मलिनु भएको छ, वा कतिपयलाई त पार्टी एकता नै पो नहुने हो कि भन्ने लाग्न थालेको पनि हुन सक्छ’, उहाँले भन्नुभयो, ‘यो ऐतिहासिक अवसरलाई हामी गुम्न दिँदैनौं, एकता नहोस् भन्ने चाहनेहरुलाई हामी छिट्टै गतिलो जवाफ दिन्छौँ ।’ पार्टी एकता नटुंगिदै गुट उपगुटको चर्चा चल्न थालेकोमा नेता श्रेष्ठले आक्रोश व्यक्त गर्नुभयो । उहाँले कार्यकर्तालाई भन्नुभयो, ‘गुटको कुरा नसुन्नुहोस्, पार्टीको निर्णय मान्नुहोस् र पार्टीलाई आफ्नो सुझाव दिनुहोस् । गुटको कुरा गर्नेलाई लोप्र्याइदिनूस् ।’  

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सरकारका राम्रा कामको बचाउ गर्दै नराम्रो काम सच्याउनका लागि सुझाव दिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘सरकार सञ्चालनको बल्ल एक वर्ष भएको छ, अहिले नै यो पनि भएन, त्यो पनि भएन भन्ने बेला होइन’, उहाँले भन्नुभयो, ‘एक वर्षको बीचमा सरकारले काम गर्ने आधार तयार पारिसकेको छ, अब जनताले देख्ने गरी काम हुन्छ ।’ 

पार्टीको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्ध भत्ता बढाइने उहाँले दाबी गर्नुभयो । ‘पाँच वर्षभित्र वृद्धभत्ता पनि बढेर ५ हजार रुपैयाँ पुग्छ, ढुक्क हुनुहोस् ।’ गोरखालाई लक्षित गरेर सरकारले केही ठूला विकासका कार्यक्रम कार्यान्वयन गर्न लागेको उहाँले बताउनुभयो । खुल्ला विश्वविद्यालयको केन्द्रीय कार्यालय गोरखामै राख्नेबारे गृहकार्य थालिएको भन्दै प्रवक्ता श्रेष्ठले जिल्लामा जडिबुटी प्रशोधन उद्योग सञ्चालनबारे पनि अध्ययन भैरहेको जानकारी दिनुभयो ।  

बुढीगण्डकी जलविद्युत आयोजना कुनै पनि हालतमा निर्माण सम्पन्न गर्न सरकार दृढ रहेको उहाँको भनाइ छ । त्यसै क्रममा नेकपा प्रवक्ता श्रेष्ठले विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सिरानचोकका ३० शहिदका परिवारलाई सम्मान गर्नु भएको थियो । 

नेकपाको गाउँपालिका संयन्त्र सदस्य नवराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य रामशरण वस्नेत, प्रदेश कमिटी सदस्य कमला नहर्की र प्रेम गुरुङले पनि मन्तव्य व्यक्त गरेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया