विकास निर्माणमा एकरुपता ल्याउन वडाध्यक्षहरुको भेला

 फागुन २१, २०७५ मंगलबार ९:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – विकास निर्माणमा एकरुपता ल्याउनका लागि सल्यानमा वडा अध्यक्षहरुको भेला हुने भएको छ । स्थानीय तहमा काममा एकरुपता आउन नसकेको, विकासले दीगो रुप लिन नसकेको आरोप लागिरहेको बेला सल्यानका वडा अध्यक्षहरु एक ठाउँमा हुन लागेका हुन् । 

१० स्थानीय तह रहेको सल्यान जिल्लाका ८३ वडाहरु मध्ये नेकपाको तर्फबाट प्रतिनिधित्व गर्ने ५९ जना वडा अध्यक्षहरुको भेला हुन लागेको हो । स्थानीय तहहरुको समन्वयमा वडा अध्यक्षहरुको भेला हुन लागेको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । भेलामा वडा अध्यक्षहरुका साथै नेकपाको तर्फबाट नेतृत्व गरेका ७ स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सांसद तथा मन्त्री र संघीय सांसदको प्रतिनिधित्व हुनेछ । भेला चैत २ गते सल्यानको कुपिण्डे तालमा हुनेछ ।

सरकारले तोकेको उत्कृष्ठ सय गन्तव्यमा सूचीकृत कुपिण्डे तालमा हुने भेलाले पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने छ । भेलामार्फत स्थानीय तहले बनाएका कानुन, विकास निर्माण, निर्णय प्रकृया, राम्रा अभ्यास आदि बारेमा छलफल हुनेछ । 

भेलाबाट नेकपाले स्थानीय सरकारमार्फत जिल्ला तहमा गरेका राम्रा कामहरु सबै स्थानीय तहमा सञ्चालन गर्नको लागि योजनासमेत बनाउने केसीले बताउनुभयो । भेलामा २ जना कानुनका जानकार र विज्ञमार्फत स्थानीय तहमा कार्यसञ्चालनमा आएका कठिनाइबारे समेत छलफल हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया