पूर्व उपप्रधानमन्त्री अधिकारीकाे निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित

 फागुन २१, २०७५ मंगलबार १३:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति शोक प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पूर्व अर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट वि.सं. २०४८, २०५१  र २०५६ सालको प्रतिनिधिसभा, २०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य हुनुहुन्थ्यो ।

उहाँ २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ वर्षको उमेरमा फागुन १८ गते शनिबार काठमाण्डाैको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकले स्वर्गीय अधिकारीले राज्यलाई पुर्‍याएको योगदानको उच्च सम्मानसहित शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण पनि गर्यो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार दिउँसाे १ बजेका लागि बोलाइएको छ ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया