बुधबारदेखि पोखरामा प्याराग्लाइडिङ बन्द हुँदै

 फागुन २१, २०७५ मंगलबार १५:१६:५० | सुमन गुरुङ
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखरा महानगरपालिकाले बुधबारदेखि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ । लगातार पोखराको आकाशमा प्याराग्लाइडिङ दुर्घटना भएको समयमा पोखरा महानगरपालिकाले बुधबारदेखि कर नतिर्ने कम्पनीलाई उडान गर्न नदिने भएको हो । 

‘बुधबारदेखि सराङकोटबाट हुने उडानमा जस्ले कर तिरेको छैन त्यो कम्पनीलाई रोक लगाइनेछ’, पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले भन्नुभयो, ‘करको दायरामा आउनेहरुलाई भने कुनै रोक लगाइने छैन ।’

आर्थिक वर्ष २०७२/०७३ देखि महानगरले तोकेको कर धेरैजसो प्याराग्लाइडिङ कम्पनीहरुले नबुझाएको उहाँले बताउनुभयो । महानगरले आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । आर्थिक वर्ष २०७२/०७३ देखि नै कर नतिरेको उहाँका भनाइ छ । उहाँका अनुसार अहिलेसम्म एउटा मात्र कम्पनीले मात्र कर तिरेको छ । 

गण्डकी प्रदेश सरकारले पनि प्याराग्लाइडिङ कम्पनीलाई करको दायरामा ल्याउने भन्दै वार्षिक एक लाख रुपैयाँ शुल्क कायम गरेको र त्यो कर पनि पोखरा महानगरमै बुझाउनुपर्नेछ । तर त्यो कर पनि नबुझाएको उहाँले बताउनुभयो ।

प्रदेश र स्थानीय सरकार दुवैले तोकेको शुल्कको रकम वार्षिक एक लाख २५ हजार हुन्छ । तर आफूहरु दोहोरो शुल्कमा परेको भन्दै व्यवसायीहरुले कर तिर्न आनाकानी गर्दै आइरहेका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले शुल्क बढी भएकोले सहमतिमा गर्ने कुरामा तालमेल नमिलेको बताउनुभयो । ‘हामीले सरकारले तोकेको शुल्क नतिर्ने भनेका छैनौँ, तर न्यायोचित हुनुपर्‍यो भन्दा उहाँहरुले मान्नुभएको छैन’, उहाँले भन्नुभयो । ‘भोलिदेखि सम्पूर्ण उडान बन्द गर्ने भन्ने महानगरको निर्णयमा हाम्रो समितिको बैठक बस्दैछ । त्यसमा कसरी अगाडि बढ्ने निर्णय हुनेछ’, उहाँले भन्नुभयो । 

पोखरामा प्याराग्लाइडिङ उडाउने ५६ वटा कम्पनी छन् । तीमध्ये ४० को हाराहारीमा मात्रै सक्रिय रहेका छन् । एउटा बाहेक कुनै पनि कम्पनी महानगरमा दर्ता नभएको पनि महानगरले जनाएको छ । जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि बोधार्थ बुझाएर प्याराग्लाइडिङ उडान रोक्न लागिएको वडाध्यक्ष थापाले बताउनुभयो ।

यतिबेला पोखरामा ‘२०१९ हिमालयन कप’ भन्ने प्याराग्लाइडिङको प्रतियोगिता भइरहेको छ ।

यो प्रतियोगितामा भाग लिन रुसलगायत विभिन्न देशका करिब ३ सय पाइलटहरु पोखरामा छन् । उनीहरुले हवाइ उड्डयन कार्यालयबाट उडानको स्वीकृति त लिएका छन् तर प्रतियोगिताबारे भने हवाइ उड्डयन कार्यालय नै बेखबर छ ।

हवाइ खेलकुद संस्था नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघ (नेफा) का केही आधिकारिक व्यक्तिहरुको मिलेमतोमा रुसका नागरिकले योे प्रतियोगिता आयोजना गरेको बताइएको छ । २५ युरो प्रवेश शुल्क लिएर आयोजना गरिएको भनिए पनि यो प्रतियोगितामा सहभागीहरुसँग मोटो रकम असुल गरिएको समेत खबर बाहिर आएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया