बजेटको ६ महिना निराशाजनक: अर्थमन्त्री भन्छन्- चाहेको भए बढाइचढाइ गर्न सक्थ्यौं

 फागुन २१, २०७५ मंगलबार १९:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले बजेट खर्च र राजश्व संकलनको लक्ष्य भेटाउन असफल भएको छ । 

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षामा विकास खर्च, चालु खर्च, राजश्व संकलन लगायतका लक्ष्य भेट्न सरकार असफल भएको देखिएको छ । चालु आर्थिक बर्षमा ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ६ महिनामा ४ खर्ब २ अर्ब २५ करोड रुपैँया खर्च भएको छ । 

यस्तै यो बर्ष ३ खर्ब ३३ अर्ब ९९ करोड रुपैयाँ विकास खर्च छुट्याएकोमा ६ महिनामा  ५५ अर्ब ५२ करोड अर्थात जम्मा १७ प्रतिशत मात्रै खर्च भएको छ । यस्तै ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ चालु खर्चको लक्ष्य रहेकोमा ६ महिनामा २ खर्ब ९६ अर्ब ९७ करोड अर्थात ३५ प्रतिशत मात्रै खर्च भएको छ । 

तर अर्थ मन्त्रमन्त्री डाक्टर युवराज खतिवडाले भने राजश्व संकलन र बजेट खर्च प्रदेश र स्थानीय तहले पनि गरिरहेकाले पोहोरको तुलना गरेर निराश हुने अवस्था नरहेको बताउनुभयो

‘अहिले त राजश्व स्थानीय तह र प्रदेशले पनि उठाउँछन्,  खर्च पनि स्थानीय तह र प्रदेशले पनि गरिरहेका छन्, अहिले हामीले संघमार्फत भएको खर्च हेरेर मात्रै निराश हुुनुपर्ने छैन’ उहाँले भन्नुभयो । 

सरकारले चाहेको भए जसरी पनि राजश्वको लक्ष्य र खर्चको तथ्यांक बढाएको देखाउन सक्ने तर आफूले यथार्थ विवरण मात्रै देखाउन चाहेको उहाँको भनाई छ । 

‘राजश्वको अंकलाई अलि बढाइचढाइ गर्न चाहेको भए धेरै बाटो थियो, संस्थानको लाभांश चाँडै जम्मा गर्न लगाएर, साँवा पनि छिटै जम्मा गर भन्ने, भन्सारमा रोकिएका गाडी ल्याउनको लागि राष्ट्रबैंकलाई खुकुलो गरिदिनुस् भन्ने विधिहरु हामीसँग थिए, यस्ता कुरा विगतमा गरिँदै आएका पनि हुन्,  तर विदेशी मुद्रा सञ्चिति घटाएर राजश्व बढाउने सरकार यो होइन ,’अर्थमन्त्री खतिवडाले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया