धेरैले गुनासो मात्रै गर्ने पेशा : तर गुनासो छैन विमला दाहालको

 फागुन २२, २०७५ बुधबार १०:५३:४९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – बुढानिलकण्ठकी विमला दाहाल ६ वर्षदेखि कृषि व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँको दिनचर्या बिहान बेलुका खेतीबारीमै बित्छ । 

उहाँले दैनिक ४०/५० जनालाई स्वच्छ तरकारी र दुधजन्य वस्तु पु¥याउनुभएको छ । दाहालको हिमालय अर्गानिक गार्डन फार्म छ ।  उहाँ प्राङ्गारिक कृषक महिला समूहमा पनि आवद्ध हुनुहुन्छ । समूहमा भए पनि सबैको आ आफ्नै उत्पादन छ । सबैका दर्ता भएका फार्म छन् ।

फरक–फरक उत्पादन 

दाहालले बढी मौसमी तरकारी र सलादका रुपमा प्रयोग हुने वस्तु उत्पादन गर्नुहुन्छ । त्यति मात्रै होइन गाई पनि पाल्नुभएको छ । दुधजन्य वस्तु आवश्यकता अनुसार बनाउने गर्नुहुन्छ । लोकल कुखुरा पनि छन् । ‘अरु साथीहरु कसैको फार्ममा गाई छन्, कसैले कुखुरा पाल्नुभएको छ, कसैको इलाममा खेती छ तर यता काठमाण्डौमा बेच्नुहुन्छ, उहाँले भन्नुभयो, ‘पेशा कृषि तर फरक फरक उत्पादनमा आवद्ध छौ ।’

प्राङ्गारिक उत्पादन

प्राङ्गारिक खेती रासायनिक मल तथा विषादीको प्रयोग नगरी गरिने खेती हो । प्राङ्गारिक खेती गर्दा सस्तो पर्छ । भूक्षय कम हुन्छ । स्थानीय स्रोत साधन प्रयोग हुन्छ । विषादीरहित बाली उत्पादन हुन्छ ।

प्राङ्गारिक उत्पादनको बजारमा माग पनि धेरै छ । तर विषादीविना उब्जाउनुपर्ने, हेरचाह र उत्पादन समय बढी लाग्ने, जग्गाको भाडा तिर्नुपर्ने भएकाले केही महंगो पनि पर्छ । उत्पादन बढाउन मात्रै नभएर राम्रो देखाउन पनि विषादी प्रयोग गरेको पनि पाइन्छ । तर विषादी राखेपछि खाने बेलासम्म कुर्नुपर्ने समयको पालना कतै गरिंदैन । विषादी कति मात्रामा राख्ने ज्ञान पनि छैन । त्यसैले जथाभावी विषादी राख्नुभन्दा बालीनालीलाई आवश्यक पर्ने तत्व सुधारिएको प्राङ्गारिक मल, पिना, गोबरबाटै मात्रा मिलाएर प्रयोग गर्न सकिन्छ । यसरी उत्पादन भएका खाद्यबस्तुबाट रोग लाग्दैन । शरीरलाई आवश्यक तत्व पनि पाइन्छ ।

हाटबजार सञ्चालन

दाहालले आफ्ना उत्पादन हाट बजारमा लैजानुहुन्छ । उहाँहरुको समूहमा उत्पादन भएका बस्तु बेच्न भनेर बुढानिलकण्ठमा हाटबजार अर्थात् अर्गानिक मार्केट सञ्चालन गरिएको छ । हप्ताको दुई दिन शनिबार र आइतबार बजार खुल्छ । बुढानिलकण्ठ नगरपालिकाले हाटबजार सञ्चालन गर्न सहयोग गरेको छ । 

तरकारी, गेडागुडी, फलफूल, दुधजन्य उत्पादन सबैथोक पाइन्छ । तरकारी, फलफूल, अन्नबाली विषादी नहालेर खान सके फाइदा छ । ‘उब्जाउने र खाने दुबैको हितमा भएपनि प्राङ्गारिक खेतीको महत्व घट्दै गएको छ । उहाँ भन्नुहुन्छ, ‘प्राङ्गारिक उत्पादनले किसानदेखि उपभोग गर्ने उपभोक्तासम्म सबैलाई फाइदा पुग्छ ।’

गुनासो भन्दा लगनशीलमा जोड

जिल्ला कृषि विकास कार्यालय हुँदा मल, बिउ, प्लास्टिक जस्ता केही सामग्री र अनुदान पनि पाइएको थियो । तर अहिले स्थानीय तहबाट पाउन नसकेको धेरै किसानको गुनासो छ । यो गुनासोमा दाहाल पनि सहमत हुनुहुन्छ ।

तर उहाँ व्यक्तिगत रुपमा भने कसैसँग पनि गुनासो गर्न चाहनुहुन्न । ‘अरुको जागिर गर्नुभन्दा आफैले गरेको पेशा व्यवसाय धेरै राम्रो लाग्छ, उहाँ भन्नुहुन्छ, ‘कृषिबाट केही भएन, सरकारले यो गरेन, त्यो गरेन, अनुदान पाइएन भन्ने गुनासा भन्दा पनि आफैँ लगनशील भएर काम गरे सफल हुन सकिन्छ भन्ने मेरो मान्यता हो ।’
 

अन्तिम अपडेट: चैत ६, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया