राज्य यसै गरी चल्छ? आज सुरक्षाको जिम्मा लिएको निकाय कहाँ छ ?: सांसद गाैतम

 फागुन २२, २०७५ बुधबार १५:५८:२२ | उज्यालो सहकर्मी

काठमाण्डाै – सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आफ्नो क्षेत्र विशेष तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद लक्ष्मी परियारले पेशागत स्थायित्वको लागि राहत शिक्षक र बाल विकास शिक्षकहरुले फागुन २० गते राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै तत्काल माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बसन्त कुमार नेम्वाङले राष्ट्रिय प्राथमिकता प्राप्त ठूला योजनालाई तीव्र विकास गर्नका लागि आवश्यक कानुन निर्माण गर्न माग गर्नुभयो ।

सांसद विरोध खतिवडाले वार्तामार्फत राहत शिक्षकको माग सम्बोधन गर्न सरकारसंग माग गर्नुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदेशबाट आएका यात्रुहरुकाे चकलेट, बिस्कुट, घडी, ल्यापटप लगायत जफत हुने गरेको भन्दै उहाँले यसबारेकाे रेकर्ड सार्वजनिक गर्न माग गर्नुभयो ।

उहाँले जफत गरिएका सामानहरु लिलाम गरेको पनि कहिल्यै नसुनेको भन्दै भन्नुभयाे, 'यस्ताे लखनउ लुट कहिले सम्म माननीय ज्यू ?'

सांसद विष्णु शर्माले सीमा क्षेत्रको दशगजाभित्र घाँस काट्न जादा सीमा क्षेत्रका बासिन्दाले कर तिर्नुपर्ने बाध्यता भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद संञ्जय कुमार गौतमले प्रदेश नम्बर ५ का सभासद् भुमेश्वर थापाको बर्दिया मैनापखरस्थित सीआइडीका मान्छे हाैँ भन्दै घरभित्र पसेर खोजतलासी गर्ने काम भएको भन्दै उहाँले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

'राज्य यसै गरी चल्छ सभामुख महाेदय ? आज एउटा सांसद, एउटा व्यापारी, एउटा शिक्षक, एउटा नेता सुरक्षित छैन,' उहाँले प्रश्न गर्नुभयाे, 'आज सुरक्षाको जिम्मा लिएको निकाय कहाँ छ, सभामुख महोदय ?'

यस्तै सांसद ज्ञान कुमारी छन्तेलले स्थानीय साझेदारी पूर्वाधार कार्यक्रममा प्रत्यक्ष सांसदलाई मात्रै पूर्ण अधिकार दिइ समानुपातिकलाई विभेद गरिएको भन्दै समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया