विप्लव नेतृत्वको नेकपा राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित

 फागुन २३, २०७५ बिहिबार ७:४६:० | उज्यालो सहकर्मी

दाङ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण बिहिवार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । 

बिहीबार दाङमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने स्कुल, कलेज र बजार पनि  बन्द छन् । गिरफ्तारभएका आफ्ना नेता कार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न माग गर्दै उनीहरुले राप्ती बन्दको आह्वान गरेको जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गरी गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न, राज्य सरकारको रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मूल्य मान्यता स्थापित गर्न बिहिवार एक दिने राप्ती बन्द कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्।

देशैभर र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेता कार्यकर्ताहको घर खानतलासी, गालीगलौज, आतंकित पार्ने र रोल्पा, दाङलगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने गतिविधि भैरहेकाले यस्ता गतिविधिको विरोध गर्दै बन्द आह्वान गरिएकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

गएको फागुन २० गते रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै विनासर्त रिहाइ गर्न मागसहित बन्दको  आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया