ठगी आरोपमा गण्डकी मेडिकल कलेजका २ जना पक्राउ, ८ जनाको खोजी हुँदै

 फागुन २३, २०७५ बिहिबार १२:१७:१४ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुबाट रकम ठगी गरेको आरोपमा कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रक पक्राउ परेका छन् ।

५३ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा कलेजविरुद्ध विद्यार्थीले उजुरी गरेका थिए । कलेजका सीईओ सन्तोष खनाललाई पोखराका विरौटा र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई राष्ट्रबैंक चोकबाट प्रहरीले बुधबार राति पक्रेको हो ।

सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले बुधबार नै कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अन्य ८ जनाको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । कलेजका अध्यक्ष खुमा अर्यालसहित प्रधानाध्यापक रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासनतर्फका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिनुभयो ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्नेलगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय बढी विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन् । सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरुमा एमबीबीएसको शुल्क ४२ लाख रुपैयाँ तोकेपनि ५५ लाख रुपैयाँ भन्दा बढी लिएको विद्यार्थीको आरोप छ । आन्दोलनरत विद्यार्थीहरुले एमबीबीएस तेस्रो वर्षको परीक्षासमेत दिएनन् ।

 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया