युरोपा लिगकाे प्रिक्वार्टरफाइनलमा आज चेल्सीले डाइनामो किभ र आर्सनलले रेनसँग प्रतिस्पर्धा गर्दै

 फागुन २३, २०७५ बिहिबार १३:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए युरोपा लिग प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बिहीबार राति चेल्सीले डाइनामो किभ र आर्सनलले रेनसँग प्रतिस्पर्धा गर्दैछन् । घरेलु मैदानमा हुने पहिलो लेगको खेलका लागि चेल्सीको तयारी पूरा भएको छ । 

प्रिमियर लिगमा पछिल्ला दुई खेलमा जित निकालेर राहत महसुस गरिरहेको चेल्सी किभविरुद्धको खेलमा जित निकाल्दै आफूलाई सुरक्षित स्थानमा राख्न चाहन्छ । तर चेल्सीका प्रशिक्षक माउरीजियो सारीले आफ्ना खेलाडी शारीरिक र मानसिक रुपमा थकित भएको बताएका छन् । युक्रेनीयन टिम विरुद्धको खेल चेल्सीका लागि पछिल्लो १८ दिनमा सातौं खेल हुनेछ ।

उनले अघिल्लो साता टिमका लागि निकै तनावको समय रहेको बताए । यो बेला एकपछि अर्को खेलका कारण मुख्य खेलाडीलाई आराम चाहिएको अवस्था रहेको बताए । यो सिजन हामीले अरु युरोपियन टिम भन्दा आठ खेलसम्म बढी खेलेको बताउँदै उनले पछिल्लो दुई महिनामा राम्रोसँग प्रशिक्षण गर्न नपाएकोसमेत बताए । 

युरोपा लिगका लागि हाम्रो टिमले प्रिमियर लिग खेलेको ६३ घण्टामा नै खेल्न लागेको बताउँदै एकपछि अर्को खेलले टिमलाई ठूलो घाटा भइरहेको बताए । चेल्सीले किभसँग तेस्रो पटक खेल्न लागेको हो । यसअघिका दुई खेलमा चेल्सीले एक खेल जितेको छ भने एक बराबरी गरेको छ । पछिल्लो पटक यी दुई टिम च्याम्पियन्स लिगको समूह चरणमा २०१५–१६ को सिजनमा खेलेका थिए । यता कियभले इंग्ल्याण्डमा कुनैपनि युरोपियन प्रतियोगितामा खेल जित्न सकेको छैन । 

पछिल्ला १४ भ्रमणमा उसले ११मा हार र तीन बराबरी गरेको छ । यता आज राति नै आर्सनलले रेन एफसीसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनललाई पछि पछिल्लो पटकको ब्यस्त खेल तालिकाले दबाव दिएको छ । १५ दिनमा पाँचौ खेल खेल्ने तयारीमा रहेको आर्सनलका प्रशिक्षक इमेरीले टिमले राम्रोसँग प्रशिक्षणको मौका नपाएको बताएका छन् । उनले टिमले शनिबारमात्र खेल खेलेको र विहीबारका लागि तयार रहे पनि खेलाडीलाई फ्रेसनेस कम भएको बताए ।

अन्तिम ३२ को खेलमा आर्सनल पहिलो लेगमा एक शून्यले पराजित भएपछि दोस्रो लेगमा घरेलु मैदानमा तीन शून्यको जित निकाल्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । आर्सनलले फ्रेन्च क्लबविरुद्ध खेल्न लागेको यो १० औं टिम हो ।

फ्रेन्च क्लबविरुद्ध आर्सनलले अहिलेसम्म हारेको छैन । १३ खेलमा उसले आठ खेल जितेको छ । रेनले आफ्नो इतिहासमा दोस्रो पटक इंग्लिस क्लबविरुद्ध घरेलु मैदानमा खेल्दैछ । यसअघि २००१ मा एस्टोन भिल्लासँग खेलेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया