‘मेरो एउटा साथी छ’को सिक्वेल बन्दै, अनमोल र नम्रताकाे सम्भावना

 फागुन २३, २०७५ बिहिबार १५:२०:१७ | मनोज दाहाल
unn.prixa.net

‘मेरो एउटा साथी छ’ २०६६ सालमा निर्माण भएको चलचित्र हो । यस चलचित्रले दर्शकको राम्रो साथ पाएको थियो । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई दर्शकले रुचाएका थिए ।

चलचित्र निर्माण भएको करिब १ दशकपछि यसको सिक्वेल निर्माण हुने पक्का भइसकेको छ । यसैबीच अनमोल केसीले चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेलमा काम गर्ने विषयमा चासो राखेका छन् । 

उनले ‘मेरो एउटा साथी छ’को सिक्वेलमा आफू काम गर्न तयार रहेको बताएका छन् । तर चलचित्रमा अभिनेतृ नम्रता श्रेष्ठ नै रहनुपर्ने सर्त राखेका छन् । 
‘मैले चलचित्र ‘मेरो एउटा साथी छ’ हेरेको थिएँ । जो कोहीलाई पनि त्यस किसिमको चलचित्रमा काम गर्ने चाहना हुन्छ, र म पनि त्यो चाहना राख्दछु,’अनमोलले भने । 

यता नम्रता श्रेष्ठले पनि अनमोलसँग काम गर्न उत्सुक रहेको बताएकी छन् । स्क्रिप्ट मिल्दो भएमा अनमोलसँग एउटै चलचित्रमा कामगर्न तयार रहेको उनको भनाइ थियो । 
‘मेरो एउटा साथी छ’को सिक्वेललाई दिनेश राउतले निर्देशन गर्ने बुझिएको छ भने चलचित्रको कथा लेख्ने जिम्मासमेत निर्देशक राउतले नै पाएका छन् । चलचित्रको निर्माण भने प्रभु शम्शेर राणाले गर्न लागेका हुन् ।

चलचित्र ‘मेरो एउटा साथी छ’ लाई सुदर्शन थापाले निर्देशन गरेका थिए । सुदर्शन थापाले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका थिए । 

सुदर्शन थापा यतिबेला चलचित्र सम्हालिन्छ कहिले मनमा व्यस्त छन् । सुरुवातमा यो चलचित्रको पनि निर्देशन गर्ने जिम्मा सुदर्शनलाई नै दिने निर्णय भएको र पछि प्राविधिक कारण देखाउँदै दिनेश राउतलाई दिइएको हो । 

निर्देशक राउत ‘मेरो एउटा साथी छ’ को सहायक निर्देशक थिए ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया