मेलम्चीबाट भागेको सीएमसीसँग तनँहु हाइड्रोले पनि ठेक्का तोड्यो, नयाँ ठेक्का प्रक्रिया सुरु

 फागुन २३, २०७५ बिहिबार १६:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । 

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि  इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएको कम्पनीका सञ्चार विज्ञ सचेन गाैतमले जानकारी दिनुभयाे । 

यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले गएको माघ ४ गते सीएमसीसँग सम्झौता गरे पनि काममा नआएपछि फागुन ७ गते ठेक्का तोड्न सूचना दिएको थियो । तर सीएमसीबाट कुनै जानकारी नआएपछि ठेक्का रद्द गरिएको पत्र पठाएको छ । 

खरिद सम्झौता रद्द गर्नु पर्ने कारणहरुमा खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सीएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको,कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायत छन् ।  

तनहुँ हाइड्रो पावर लिमिटेड र सीएमसीबीच १५ असोज २०७५ (१ अक्टोबर २०१८)मा २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो । 

तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सीएमसीले कार्यसम्पादन जमानतबापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँसमेत जफतका लागि दाबी गरेको छ । साथै सीएमसीकातर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेस्टमेन्ट बैक लिमिटेडले यही हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ । 

सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी सुरु गरिएको छ । अहिले नयाँ टेण्डर आव्हान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले चैतको दोस्रो हप्ता (मार्च २०१९)भित्रमा नयाँ बोलपत्र आह्वान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । 

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ ।  

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भइसकेको छ । 

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया