श्रद्धाञ्जली सभामा प्रचण्डले भने : जान त हामी पनि रित्तै र नाङ्गै जाने हो

 फागुन २३, २०७५ बिहिबार २०:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अभाव पार्टी र देशलाई सधैँ खड्किने बताउनु भएको छ ।

युवाहरुमा भरोसायुक्त नेता तथा मन्त्री अधिकारीको निधनले पार्टीलाई क्षति पुगेको प्रचण्डको भनाइ छ । बिहीबार काठमाण्डौको भृकुटीमण्डपमा आयोजित संयुक्त श्रद्धाञ्जली सभा कार्यक्रममा अध्यक्ष प्रचण्डले देशकै आशलाग्दा नेता अधिकारीको निधन अकल्पनीय भएको भन्दै यसबाट सिंगो पार्टी र देशलाई नै क्षति पुगेको बताउनु भएको हो ।

‘जान त हामी पनि रित्तै र नाङ्गै जाने हो । जन्मपछि मृत्यु शास्वत सत्य भए पनि कतिबेला कहाँनेर कस्तो मृत्यु हुने हो त्यो भन्न नसकिने रहेछ’, प्रचण्डले भन्नुभयो, ‘रवीन्द्र अधिकारीको निधन पनि असामान्य, अकल्पनीय र भयानक मृत्यु भयो । अब हामीले यसलाई झेल्नुको विकल्प छैन ।’

अध्यक्ष प्रचण्डले मृत्यु एकै किसिमको नहुने भन्दै कुनै मृत्युले त लामै समय तरंगित हुने पनि बताउनुभयो । दुर्घटनामा मन्त्री अधिकारीसहित ज्यान गुमाएका सातै जनाको अभाव देशलाई लामो समयसम्म खड्किने पनि उहाँले बताउनुभयो ।  

यस्तै केही दिनअघि निधन भएका पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको अभाव पनि पार्टी र देशलाई खड्किरहने प्रचण्डले बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनमा विशिष्ट छाप छाडेका पूर्व अर्थमन्त्री अधिकारी र आशलाग्दा नेता तथा पर्यटनमन्त्री अधिकारीका सपना पूरा गर्न सबै लाग्नुपर्ने पनि उहाँको भनाइ छ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा फागुन १५ गते भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत दिंगवत व्यक्तिका आफन्तलाई आफूले भेटेर धैर्य गर्न सुझाव दिएको प्रचण्डले बताउनुभयो ।

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ताथ नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री वामदेव गौतम, नेकपाका महासचिव विष्णु पौडेल लगायतले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी र हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो ।

पूर्व अर्थमन्त्री अधिकारीको भने केही दिनअघि उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको थियो ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया