सेनेगललाई जापानले बराबरीमा रोक्यो, नकआउट प्रवेशको टुंगो अन्तिम खेलबाट लाग्ने

 असार १०, २०७५ आइतबार २३:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको समूह एचको खेलमा जापान र सेनेगलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
 
रुसको इकाटेरिनवर्ग एरिनामा एसियाली प्रतिस्पर्धी जापानले अफ्रिकी मुलुक सेनेगलविरुद्ध शानदार खेल प्रदर्शन गरेको थियो । दुई पटकसम्म अग्रता लिएर पनि सेनेगलले खेलमा जित हासिल गर्न सकेन ।
 
खेलको ११औं मिनेटमै जापानले गोल खाएको थियो । जापानी गोलरक्षक इजी कावासीमाको गल्तीको फाइदा उठाउँदै सेनेगलका सुपरस्टार साडियो मानेले गोल गरेका थिए ।
 
तर, ३४औं मिनेटमा ताकासी उनाइले गोल फर्काए । पेनाल्टी एरिया नजिकैबाट दोस्रो बार च्यापेर प्रहार गरेको बल उत्कृष्ट गोलमा परिणत भएको थियो ।
 
पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेका यी टोलीले दोस्रो हाफमा पनि एक एक गोल थपे ।
 
जापानी रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै माउसा ओगुइले ७१औं मिनेटमा सेनेगललाई पुनः अग्रता दिलाए ।
 
तर, उसको अग्रता ७ मिनेट पनि टिक्न सकेन । सिञ्जी कागावाको स्थानमा ७२औं मिनेटमा मैदान छिरेका जापानी भेट्रान काइसुकी होण्डाले ७८औं मिनेटमा क्लोज रेञ्ज शटमार्फत शानदार गोल गरी टिमलाई पुनः बराबरीमा ल्याए ।
 
त्यसयता पनि जापानले गोलका केही अवसर खेर फालेको थियो र, बराबरीमा सीमित भयो ।
 
बराबरीपछि समूह एचका जापान र सेनेगलको ४–४ अंक भएको छ । दुवै टोलीले समूहको पहिलो खेलमा जित हासिल गरेका थिए । आजै यस समूहका पोल्याण्ड र कोलम्बियाबीचको खेल हुँदैछ । दुवै पहिलो जितको खोजीमा हुनेछन् ।
 
यस समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो भने समूहको अन्तिम खेलबाट मात्र लाग्ने भएको छ । समूहको अन्तिम खेलमा जापानले पोल्याण्ड तथा सेनेगलले कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया