बैतडीमा १४ ओटा सुरक्षित प्रसुती केन्द्रका भवन निर्माण हुँदै

 फागुन २४, २०७५ शुक्रबार ११:५४:३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – चालु आर्थिक वर्षमा बैतडीमा १४ ओटा सुरक्षित प्रसुती सेवा केन्द्रका भवन निर्माण हुने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट सुरक्षित प्रसुती सेवा केन्द्रका भवन निर्माण कार्य सुरु हुने स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।

१४ ओटा सुरक्षित प्रसुती सेवा केन्द्र भवन निर्माणका लागि २० लाखका दरले बजेट विनियोजन भएर कार्यक्रम आएको उहाँले बताउनुभयो । तर भवन निर्माण कार्यविधि भने अझै आइपुगेको छैन । चालु आर्थिक बर्षमा दशरथचन्द नगरपालिको वडा नं १० रातामाटामा, वडा नं ५ को करकटट्यामा, पाटन नगरपालिकाको वडा नं १ पदमपुरमा, सुर्नया गाउँपालिका ३ को बिजुलमा, शिवनाथ गाउँपालिका २ को पोखर र वडा नं ३ को बछलामा, दोगडाकेदार गाउँपालिकाको वडा नं १ गोरङ, वडा नम्बर २ को कफलकोट र वडा नं ७ को चडेपानीमा सुरक्षित प्रसुती सेवा केन्द्रका भवन निर्माण कार्य सुरु हुनेछ ।

यसैगरी डिलाशैनी गाउँपालिका वडा नं ६ को गोकुलेश्वरमा र वडा नं ७ को धामीगाउँमा, पुरचौंडी नगरपालिका वडा नं ४ को सिबाबोमा, पञ्चेश्वर गाउँपालिका वडा नं २ र सिगास गाउँपालिकाको वडा न. ७ न्वाघरमा सुरक्षित प्रसुती सेवा केन्द्रका भवन निर्माण हुनेछ । सुरक्षित प्रसुती सेवा केन्द्रका भवन नभएका र पुराना भवन भएका ठाउँमा नयाँ भवन निर्माण हुने हेल्थ असिष्टेन्ट पाण्डेयले जानकारी दिनुभयो । यस्तै चालु आर्थिक वर्षमा प्रदेश सरकार मार्फत बैतडीमा तीनओटा सामुदायिक स्वास्थ्य इकाइका भवन निर्माण हुनेछन् ।

सुर्नया गाउँपालिका वडा नं ४, डिलाशैनी ५ नगराउँ र पञ्चेश्वर ४ निङलाडमा सामुदायिक स्वास्थ्य इकाइका भवन निर्माण हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । सामुदायिक स्वास्थ्य इकाइका लागि १५ लाखका दरले बजेट विनियोजन गरिएको छ । यसैगरी  दशरथचन्द नगरपालिका वडा नं १ सौडेखोला र पाटन नगरपालिका ज्यापुमा शहरी स्वास्थ्य क्लिनिक भवन पनि निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै संघीय सरकारमार्फत डिलाशैनी गाउँपालिका वडा नं १ र सिगास गाउँपालिका वडा नम्बर ३ मा स्वास्थ्यचौकीका भवन निर्माण कार्य चालु आर्थिक वर्षमै सुरु हुने बताइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया