हामीलाई लाठीचार्ज गर्ने प्रहरीलाई गुलाबको फूल दियौँ : डाक्टर सीके राउत

 फागुन २४, २०७५ शुक्रबार १४:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच मधेस र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत समाधान गर्ने ११ बुँदे सहमति भएको छ । 

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच सहमति भएको हो । कार्यक्रममा सम्बोधन गर्दै स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउतले देशमा देखिएका विभिन्न समस्याबाट आफूहरु र राज्य पक्ष दुवै चिन्तित भएको बताउनु भएको छ । 

देशमा देखिएको समस्या निकै नै सहज र शान्तिपूर्ण रुपमा अवतरण भएको बताउँदै यो अवसर सम्पूर्ण नेपालीका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले पहल गरेर आफूहरुलाई राजनीतिको मूलधारमा अवतरण गराएको भन्दै राउतले प्रधानमन्त्री ओलीको प्रशंसा गर्नुभयो । 

आफूहरुको आन्दोलन कुनै पनि बेला विस्फोट हुने स्थितिमा पुगे पनि पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराईले समेतको उल्लेखनीय योगदानका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको उहाँले बताउनुभयो । 

त्यसपछि उनीहरु देशका विभिन्न भूभागमा स्वतन्त्र मधेश गठबन्धनका नाममा विभिन्न कार्यक्रम परिचालन गर्दै आएका थिए । आफूहरु बुद्धका सन्तानका रुपमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको र कहिल्यै पनि हिंसात्मक बाटो अपनाएको राउतले बताउनुभयो ।

राज्यबाट विभिन्न समयमा आफूहरुमाथि दमन भए पनि आफूहरुले कहिल्यै प्रतिसोधको भावना नबोकेको उहाँले बताउनुभयो । लाठीचार्ज गर्ने प्रहरीलाई आफूहरुले गुलाबको फूल दिएको उहाँले बताउनुभयो । त्यस्तै आफ्ना आन्दोलनमा प्रहरीले कहिल्यै पनि गोली नचलाएको भन्दै राउतले प्रहरी प्रशासनलाई पनि धन्यवाद दिनुभयो । 

शुक्रबारदेखि मूलधारको राजनीतिमा आउन सहमत भएका डाक्टर चन्द्रकान्त राउत(सीके) सप्तरीको महदेवामा जन्मिनु भएको हो । उहाँले नेपालको त्रिभूवन विश्वविद्यालय, जापानको टोक्यो विश्वविद्यालय र बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका उच्च शिक्षा हासिल गर्नु भएको छ ।

उहाँ नेपाल फर्किनुअघि अमेरिकामा एउटा हतियारसँग सम्बन्धित कम्पनीमा वैज्ञानिकमा रुपमा काम गर्नु भएको थियो । सन् २०११ को अन्त्यतिर उहाँले राजीनामा दिएर नेपाल फर्किनु भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया