आवेश र उत्तेजनाको राजनीति नगर्नूस् : प्रम ओली

 फागुन २४, २०७५ शुक्रबार १५:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आवेश र उत्तेजनाको राजनीतिमा नलाग्न राजपालाई आग्रह गर्नुभएको छ ।

केही दिनअघि रेशमलाल चौधरीलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएलगत्तै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रसंगलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । 

अदालतको फैसलालाई बहाना बनाएर सरकारलाई दिएको समर्थन फिर्ता लिनु उचित नभएको उहाँले बताउनुभयो ।

‘अदालत राज्यको अंग हो तर सरकारको अंग होइन । सरकारले अदालतलाई निर्देशन दिन सक्दैन,’ उहाँले भन्नुभयो, ‘अदालतले कानुनसम्मत हेर्ने हो । घटना आदि इत्यादिलाई लिएर न्याय दिने हो ।’

अदालतको आदेशलाई लिएर सरकारलाई मुछ्नु उचित नभएको भन्दै उहाँले अनेकता र फाटो ल्याउने दिशामा नलाग्न आग्रह गर्नुभयो । सरकारलाई विभिन्न किसिमका अभियोग लगाएर राजपाले बुँदा र संख्या थपेर आरोप प्रत्यारोपमा लागेको बताउनुभयो ।

‘अदालतले फैसला गर्नेबित्तिकै एउटा राजनीतिक पार्टीले बहुत उत्खनन् गरेर, तिलका दाना पनि टिपेछ, तोरीको दाना, मकै, कोदोको दाना पनि टिपेछ, बहुत त्यान्द्रा तुन्द्री जोडेर सरकारविरुद्ध अभियोग पत्र तयार पारेछ,’ उहाँले भन्नुभयो । 

अदालतको निर्णय र सरकारको काम छुट्याउन नसक्दा ती राजनीतिक पार्टीले ‘रिसाएकाे बिरालाेले खम्बा चिथाेर्छ’ भन्ने उखानलाई चरितार्थ हुनेगरी सरकारलाई चिथोर्ने काम गरेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया