सीके राउत जन्मेको गाउँ

 फागुन २४, २०७५ शुक्रबार १५:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

-सीके राउत

म जन्मेको गाउँ समतल भूमिको विस्तृण फैलावट माझ सडेको परालको थुप्रो झैं देखिन्थ्यो। मधेशका अरू गाउँ जस्तै मेरो गाउँ पनि अस्तव्यस्त झोपडपट्टी नै थियो, तर धेरैपछि सम्म पनि म आफ्नो गाउँलाई त्यसरी हेरिनँ। डगर र साँघुरा गल्लीका दुइटै भागमा कोचिएका फुसका घरहरू र हरेक घरअगाडि बाँधिएका गाई-बस्तु, त्यही नै मेरो गाउँको पनि परिचय थियो। गाउँमा अंकुरी महादेवको स्थान भएकोले मेरो गाउँ महदेवाको नामले परिचित छ।

मेरो बुवा गाउँकै प्राथमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो। गाउँमा विद्यालय स्थापना गर्न निकै नै परिश्रम गर्नुभएका र योगदान दिनुभएका उहाँ गाउँलेहरूलाई शिक्षित बनाउन जीवनभर लागिरहनु भयो। उहाँको समय ताका न त वरिपरि विद्यालय नै थियो, न त कतै शिक्षाको चहलपहल नै।

शिक्षित मान्छे भेटाउन निकै नै मुश्किल हुन्थ्यो र साधारण लेख-पढ गर्न जान्ने मान्छे पनि राम्रै जागीर पाउन सक्थे। कट्टी (त्यतिबेला, कोइलाडी) मा भरखरै स्थापना भएको विद्यालयबाट मेरो बुवा आफ्नो ब्याचमा म्याट्रिक पास गरेका एक मात्र विद्यार्थी हुनुहुन्थ्यो, र उहाँको विद्यार्थी जीवनको ख्याति दशकौंपछि पनि विद्यालय र टाढा-टाढाका गाउँहरूमा जीवित नै थियो। हाइस्कूलका शिक्षकहरू अझै पनि गणितका कठिन समस्याहरूको समाधानका लागि बुवासँग मद्दत लिन आउँथे। उहाँलाई असन्दिग्ध रुपमा आफ्नो र वरिपरिका गाउँहरूमा ‘मास्टर साहेब’ भनेर बोलाइने गरिन्थ्यो, त्यतिबेला हाम्रोतिर शायदै अरू कोही शिक्षकका रुपमा जानिन्थे।

पढेलेखेको हुनु त्यतिबेला ठूलो जिम्मेवारी हुन्थ्यो र तिनीहरूबाट धेरै नै अपेक्षा गरिन्थ्यो। पढेलेखेका भनाउँदाले पढाइ र लेखाइ सम्बन्धी जे कुरा पनि सामना गर्नुपर्थ्यो — चाहे त्यो कानूनी कागजपत्र तयार गर्ने काम होस् वा जमीन नाप-जोख गर्ने, चाहे गाउँलेहरूको दवाइ-दारू गर्नुपर्ने काम होस् कि अज्ञात भाषामा लेखिएका कुराहरूको अर्थ निकाल्ने, पचाङ्ग अनुसार तिथि-नक्षत्र हेरेर काम-काजको शुभ साइत निकाल्ने काम होस् कि गाउँका विभिन्न गतिविधिको अभिलेख राख्ने, सबै किसिमका भूमिका उहाँले निभाउनुपर्थ्यो।

सायद त्यही भएर होला, उहाँ सानैदेखि अध्याग्रही पाठक हुनुका साथै डायरी लेख्ने, हरेक कुराको हरहिसाब र अभिलेख राख्ने गर्नुहुन्थ्यो। उहाँ हरेक कुरा पढ्नुहुन्थ्यो — धार्मिकदेखि नास्तिक, ज्योतिषदेखि पाकविज्ञान, चिकित्सादेखि कानून, वेद र उपनिषद्‌देखि आधुनिक विज्ञान, शेक्यपियरदेखि प्रेमचन्द, सबै। जहाँ प्रायजसोले अक्षर समेत चिन्न सक्दैनथे, त्यो ठाउँको लागि निश्चित रूपले त्यो असाधारण कुरा नै थियो। हामीलाई पढाउँदा उहाँले वर्डस्‌वर्थ र रोबर्ट फ्रस्टका पंक्तिहरूदेखि लिएर वेद र उपनिषद्का सूक्तहरू सुनाइराख्नुहुन्थ्यो। केही वर्षअगाडि उहाँले अवकाश प्राप्त गर्नुभयो।

मेरी आमा गृहिणी हुन् र उहाँलाई कहावतको पारङ्गत भन्दा फरक नपर्ला। बातै पिच्छे तुक मिल्दो कहावत सुनाउने उहाँको आदत थियो। यसले हाम्रो मातृभाषा कति धनी छ भन्ने कुरा मलाई बारम्बार सम्झना दिलाइरहन्छ। धार्मिक वा आत्मविकासका किताब दैनिक रुपमा पढ्नु जीवनभरि उहाँको दिनचर्या नै रह्यो। उहाँ हिन्दीका किताब पढनुहुन्छ। उहाँमाथि धार्मिक प्रभाव खास गरी उहाँको आफ्नो बुवा र ठूल्दाइबाट परेको हो। उहाँको जन्म सप्तरीको भारदहमा भएको हो। भारदहको कंकालिनी भगवती स्थान, हालको ठाउँमा सारिनु पूर्व, मामाघरकै सामुन्ने थियो, र उनीहरू त्यहाँ पूजापाठ र रेखदेख गर्ने गर्थे।

तीन छोरा र एक छोरी मध्येका सबभन्दा कान्छोका रूपमा जन्मेकोले होला मैले कहिले पनि मायाको कमी महसुस गरिनँ। आफन्तदेखि गाउँलेहरूसम्म, छिमेकीदेखि हजामसम्म, साहूदेखि कामदारसम्म — सायद बुवा प्रतिको आदरले गर्दा होला — सबैले औधी माया गर्थे। तर घरमा, म हजुरआमाको बढी नजिक भएर हुर्कें। उहाँ तीक्ष्ण र शालीन व्यक्तित्वको हुनुहुन्थ्यो र आफ्ना हरेक पल केही-न-केही उपयोगी काममा लगाउनुहुन्थ्यो ।

साँझपख आँगनमा सुकुल ओछ्याएर अनेकानेक कथाहरू भन्नुहुन्थ्यो, हाम्रा पूर्वजका इतिहास सुनाउनुहुन्थ्यो। हामीलाई बिहे गर्ने बेलामा चाहिन्छ भनेर सात पूर्खाका नाम कण्ठस्थ गर्न लाउनुहुन्थ्यो। उहाँ बराज्यूको धेरै प्रशंसा गर्नुहुन्थ्यो र उहाँका अनेकानेक प्रसङ्गहरू सुनाइरहनुहुन्थ्यो। मेरा बराज्यू निकै नै प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो। उहाँ हनुमाननगरमा नेपाल सरकारको पञ्चायत प्रशासनमा पनि हुनुहुन्थ्यो।

मैले सम्झेसम्म मेरा हजुरबा जोगीको झैं जीवनशैली अपनाउनु भएको थियो, उहाँ जहाँ जाँदा पनि लोटा, शंख, घडीघंट र आफ्ना पोथीहरू लिएर जानुहुन्थ्यो। उहाँ रामायणका दोहाहरू ठूलो स्वरमा गाउनुहुन्थ्यो। विहानै विहान उहाँ पराती गाउनुहुन्थ्यो। उहाँले मनपराउने अन्य किताबहरूमा गजपुकार र रामगीता थिए। उहाँले गृहत्याग नगरे पनि घरको कामकाजमा कहिले पनि चासो लिनुभएन र त्यही भएर बराज्यूको देहावसानपछि पारिवारिक र सामाजिक उत्तरदायित्व बुवाको काँधमा आउन गएको थियो।

बुवा त्यतिबेला अझै पनि काँचो उमेरका युवा नै हुनुहुन्थ्यो। हजुरआमाले बेलाबेलामा बुवालाई सघाउनु हुन्थ्यो। हजुरबा प्राय: कुशहामा बस्नुहुन्थ्यो, कोशीपारि, काकासँग। काका सपरिवार कुशहामा बस्नुहुन्थ्यो, र खेतीपाती गर्दै, गाईवस्तु पाल्दै जीवनयापन गर्नुहुन्थ्यो। काकालाई पनि भगवानको भक्तिमा विशेष अभिरुचि थियो। कुशहामा परिवारका सबैजना ‘वैष्णव’ थिए।

महदेवामा हामीसँग करीब डेढ विघा जमीन थियो। हामीसँग अरू जमीन भएको तर सरकारले जफत गरेको कुरा मैले हजुरआमाबाट सुनेको थिएँ। महदेवाको खेतको उब्जाले हामीलाई वर्षभरि धान्न सक्दैनथ्यो। असार-साउनदेखि धान नकाटेसम्म हामीले चामल किनेर खानुपर्दथ्यो, त्यो त्यहाँका लागि समृद्ध परिवारको परिचय थिएन, न त त्यस समाजको लागि इज्जतको कुरा नै। हामीले धान वा चामल किन्ने बेलामा दर निकै महँगो हुने गर्दथ्यो, तर गाउँका किसानहरूले आफ्नो फसल बेच्नुपर्दा निकै नै सस्तोमा बेच्नुपर्दथ्यो। हामीले हलो जोत्न गोरु पाल्न नसकेकाले खेती गर्न त्यो पनि भाडामै ल्याउनुपर्थ्यो, खाद र बीउको पनि उस्तै समस्या पर्ने गर्दथ्यो र समग्रमा खेतीपाती हाम्रो लागि फाइदाजनक थिएन। बुवाले यो कुरा पहिले नै अनुभव गर्नुभएको थियो र त्यही भएर उहाँ खेतीपातीमा त्यस्तो जोडतोडले लाग्नुभएको थिएन।

तर गाउँमा धेरै नै भूमिहीनहरू थिए। तिनीहरूसँग खेती गर्ने मान्छे त थिए, तर खेत थिएन। उनीहरू अरूको खेत जोत्थे, बटियामा खेती गर्थे र उपजको एक-तिहाइ पाउँथे। तिनीहरू केहीले हाम्रो पनि खेती गर्न मद्दत गर्थे। धेरै त एक अढैया धानको ज्यालामा काम गर्थे। आफ्नो गाउँमा काम नभेटेको खण्डमा तिनीहरू कहिलेकाहीं अर्को गाउँतिर पनि जान्थे। त्यस्तै परिस्थितिमा रहेका अरूहरू खेतमा काम गर्न पञ्जाब र हरियाणातिर पनि लाग्थे, र स-साना रकम लिएर वर्ष-दुई वर्षमा फर्कन्थे।

खेतीपाती वर्षामै भर पर्दथ्यो। कुनै-कुनै साल वर्षाको नामोनिशान देखिँदैनथ्यो, र त्यसको अभावमा गाउँलेहरू तड्पिन्थे, तिनीहरूको जीवन र जीविका संहारमा हुन्थ्यो। गाउँको पश्चिममा एउटा नहर थियो, तर त्यो लगभग मृत भइसकेको थियो। सिंचाइको कुनै व्यवस्था थिएन। पानीको अभावमा गाउँलेहरू जसरी दिन-दिन निराशोन्मत्त हुन लाग्थे, गाउँका आइमाई र युवतीहरू राती जाट-जाटिन खेल्न बस्थिन्।

पानी नपर्नाको दोष तिनीहरू भ्यागुतामाथि थुपार्थिन्, भ्यागुताहरू ट्वारट्वार नगरेकैले पानी नपरेको हो भनेर सोच्थिन्। महिलाले दुई समूह बनाउँथे, जाट र जाटिन। जाट पक्षका महिलाहरू पुरुषको झैं वेषभूषा लाउँथिन्, जुँगा बनाउँथिन्, पगडी लाउँथिन् भने जाटिन पक्ष चाहिँ महिला शक्तिको रुपमा देखिन्थ्यो। ती दुई समूहहरू एक अर्कालाई आफ्नो दु:ख-मर्का गीत गाउँदै सुनाउँथे, गीतमै गुनासो गर्थे। अन्त्यमा ‘उखैर’मा भ्यागुतालाई राखेर ‘समाठ’ले बेस्सरी चुट्थे, भ्यागुताले ट्यार नगरेसम्म। भ्यागुताको ट्यार सुनेपछि अब त पानी पर्ने भो भनेर सबै हर्षित हुन्थे।

कुनै-कुनै साल धेरै दिनसम्म पनि वर्षा नहुँदा गाउँलेहरू दिक्कदार हुन्थे, र गाउँको उत्तरमा रहेको नदीमा बाँध बाँध्दथे। तर त्यति ठूलो मेहनत र प्रयासका बाबजूद वर्षा भएपछि बाँध भत्किएर सबै बग्थ्यो। आखिर वर्षात्‌मा ती नदीहरूलाई कसले छेक्न सक्छ? स्लूइस गेट शायद तिनीहरूको समस्याको समाधान थियो, तर ती गाउँहरू बाहिरको दुनियाँ र नजरभन्दा निकै पर थियो, बाहिरी सहयोगको सम्भावनाभन्दा निकै टाढा थियो। सरकारी, गैरसरकारी वा दातृ संस्थाको पहुँच र चासोभन्दा निकै दूरको कुरा थियो।

कुनै-कुनै साल मनसून भयानक तरीकाले आउँथ्यो। किसानहरूले धेरै मेहनत र श्रमले धान रोपिसकेपछि ठूलो झरी सुरु हुन्थ्यो। हप्तौंसम्म खेतबारी डुब्दथे। रोपाइँ भएका खेतहरू नष्ट हुन्थे। कुनै-कुनै साल गाउँमा वाढी आउँथ्यो। घरहरू खस्थे। हाम्रो घरको अवस्था पनि जर्जर थियो। फुसको छानामा अक्सर ठूल-ठूला प्वाँल हुने गर्दथे। घिरौलाका लहराहरू घरमाथि चढेकाले घिरौला टिप्न हामी अक्सर छानामा चढ्ने गर्थ्यौं, र त्यसले छानालाई झन् नराम्रो गरेको थियो। हाम्रो घरले हामीलाई पानीबाट बिरलै बचाउन सक्थ्यो। राती पानी पर्दा जोगिनका लागि मुश्किलले ठाउँ भेट्थ्यो।

पानी नपर्ने एक कुनामा बस्दै कैयौं पटक हामी रात काट्थ्यौं। घरभित्र कहिलेकाहीं यति पानी जम्मा हुन्थ्यो कि थालले छ्याप्दै निकाल्नुपर्थ्यो। पानी दिउँसो पर्दा पनि समस्या नै हुन्थ्यो, खासगरी खाना बनाउन। गुँइठा भिज्ने भएकाले चुल्हो बाल्न आमालाई निकै नै कठिनाइ हुन्थ्यो। भोकले आफ्नो पेट थिच्दै सन्दुकमाथि म लेटिरहन्थें। आमा अन्तत: चुल्हो बाल्न सफल हुँदा पनि घर भित्र धूवैँ-धूवाँ हुन्थ्यो, त्यसले मेरा आँखामा नराम्ररी पीरो लागेर आँसु नै आउँथ्यो।

वर्षात्‌मा गाउँलेहरू विहानै उठ्थे, आफ्ना स-साना बच्चालाई पिट्थे, हिलाम्मे बाटोमा छोड्थे, र खेततिर लाग्थे। बच्चाहरू पनि नथाकुञ्जेल रुन्थे, पछि त्यही हिलोमै खेल्थे, र भोकलागे पछि कहिलेकाहीं त हिलो नै खान्थे। ती बच्चाहरू हिँड्न सक्ने भएपछि र दिशाको हेक्का राख्न थालेपछि तिनीहरू पनि खेतबारी र कामकाजमै सरिक हुन्थे। तिनीहरू बाख्रा-बाख्री चराउँथे, खेतमा चराचुरुङ्गी उडाउँथे, तरकारी-बारीको पहरा गर्थे।

वर्षात्‌मा गाउँको स्थिति साँच्चै नै भयावह हुन्थ्यो। बाटाहरू हिलो नै हिलोले भरिएका हुन्थे र महिनौंसम्म त्यस्तै हुन्थ्यो। ठाउँठाउँमा घुँडामाथि सम्मै आउने हिलो पार गर्न मान्छे बलियै हुनुपर्थ्यो। अझ त्यसमा गुहु र गोबर सबै मिलेर बाटो हेर्न लायक हुँदैनथ्यो। पोखरीका डिल र छेउछाव जहाँ अधिकांश गाउँलेहरू दिसा गर्ने गर्थे त हेर्नै सकिन्नथ्यो। गाउँमा शायदै एउटा पनि शौचालय थियो, मान्छेहरू नदी र पोखरी छेउछावै जान्थे।

महिलाहरू बाँसको झाडीमा जान्थिन्, कि त तिनीहरूले अँध्यारोको पर्दाको सहारा लिनुपर्दथ्यो। वर्षात्‌मा त्यो टाल्नै नसकिने नित्यकर्म गर्नु पनि निकै नै कठिन थियो। र त्यसमाथि पेट त्यही बेलामा विग्रदा त झन के कुरा गर्नु? हुन पनि त्यो मौसममा मान्छेहरूलाई झाडापखाला पनि निकै नै लाग्ने गर्दथ्यो। इनार भित्र फोहर पानी पसिदिनाले झाडापखाला लाग्ने सम्भावना धेरै हुन्थ्यो। कति इनारमा त माथिसम्म पर्खाल पनि लगाइएको थिएन, र खुला नै हुन्थ्यो। एकपटक त हामीले पानी पिउने गरेको घरअगाडिको इनारमा गोरु नै खसेको मैले देखेको छु। बर्षात्‌मा त्यो इनार अनगिन्ती भ्यागुता र पातपतिङ्घरका घर हुने गर्दथे, कतिपटक त बाल्टिनले पानी निकालेर पिउन थालेपछि भ्यागुता ब्रुलुक्क उफ्रेर भाग्थ्यो।

वर्षात्‌मा पोखरीहरू पनि उस्तै फोहर हुने गर्दथे। मान्छेहरू पोखरीमा नुहाउने गर्थे, लुगा धुन्थे। साना केटाकेटीहरू आफ्ना सबै लुगा फालेर त्यसमा नाङ्गै कुद्थे र घंटौंसम्म पौडि खेल्दै नुहाउँथे। केही त आफ्ना भैंसी लिएरै पोखरी भित्र छिर्थे। कुनै-कुनै वर्ष पोखरीलाई लीध र जलकुम्भीले ढाक्थ्यो। तैपनि मान्छेहरू जलकुम्भीलाई ठेल्दै आफ्नो लागि स्थान बनाइहाल्थे, र त्यहीँ डुबुल्की लाउँथे।

तर हिउँदमा गाउँ सफा देखिन्थ्यो। भुस, पराल, सुकेका पात र गोइठा बाल्दै गरेको घूरले अक्सर चुम्बकको भूमिका निर्वाह गर्दथ्यो। सबै छरछिमेकीहरू त्यसै वरपर झुम्मिन्थे, आगो ताप्थे र घंटौंसम्म गफगाफ गर्थे। हजुरआमाहरू आफ्ना नाति-नातिनी काखमा बोक्दै आउँथिन्, ओढनाभित्र स-साना बच्चाहरूलाई ढाक्दै आउँथिन्। घूर नजिक विहानपख पुरुषहरूको मुखमा प्राय: दतमैन हुन्थ्यो र तिनीहरू बीचबीचमा थुक फेक्न उठ्दै अनेकानेक कुरा गर्थे। राती दलान वा गोठमा घूर बलेकै हुन्थ्यो, र सुत्नुभन्दा पनि धेरै समय त्यहीं बित्ने गर्दथ्यो। अत्यधिक जाडो भएमा मान्छेहरू पराल ओछ्याएर सुत्ने गर्थे, लुगाफाटा नहुने गरीबहरू कहिलेकाहीं सनपाटको बोरा पनि ओढ्ने गर्थे।

गर्मी निकै नै प्रचण्ड हुने गर्दथ्यो। कुनै कपडा शरीरमाथि राख्न गार्‍हो हुन्थ्यो। सबै लुगा फालेर पानीमा हाम्फालूँ जस्तो लागिरहन्थ्यो। मध्यान्हमा सबै कुरा रोकिएको आभास हुन्थ्यो, समय अचल भए जस्तो लाग्थ्यो। बीचबीचमा पीपलको पात फडफडाउनु बाहेक केही हल्लेको देखिन्नथ्यो। मान्छेहरू बाँसका मचानमाथि आँपको रूखको छायाँमा बस्थे, र कुकुर जस्तै जोरजोरले श्वास लिन्थे। साँझपख मान्छेहरू दुवारमा जम्मा हुन्थे, बेन्च, कुर्सी वा खाट निकालेर त्यहीं बस्थे। लामुखुट्टेहरूको टोकाइ असाध्य हुन्थ्यो, झुण्डका झुण्ड लामखुट्टे खुट्टामा बस्न आउँथे।

गम्छा चलाउँदै मान्छेहरूले त्यसलाई भगाउने गर्थे। नजिकै बाँधिएका गाईवस्तुलाई लामखुट्टे र झीँगा नलागोस् भनेर लगाइएको घूरबाट निस्केको पीरो धूँवाले मान्छेहरूलाई समेत जोगाउँथे। जसरी गाउँलेहरू गर्मी र लामखुट्टेसँग जुध्दै दुवारमा बसेका हुन्थे, बुवा चाहिं रेडियोमा समाचार सुन्नुहुन्थ्यो र गाउँलेहरूलाई मैथिलीमा उल्था गर्दै बुझाउनुहुन्थ्यो। त्यो रेडियो बाहिरी दुनियाँसँगको हाम्रो एक मात्र सम्पर्क थियो, र त्यहाँको लागि विलासी वस्तु नै थियो। पंजाबबाट फर्केका एक मजदूरबाट बुवाले त्यो रेडियो किन्नुभएको थियो। त्यतिबेला नेपालबाट केवल एउटै रेडियो  प्रसारण हुन्थ्यो — रेडियो नेपाल।

राति जतिबेला दुवारमा मान्छेहरू जम्मा भएर कृषि र ‘पोल्‌टिस्’का कुरा गरिरहेका हुन्थे, हामीहरू डिबिया (टूकी) लिएर दलान र ओसरामा माहुरी झैं भनभनाउँदै पढिरहेका हुन्थ्यौं। आँगनभित्र भने हजुरआमाहरू सुकुल ओछ्याएर स-साना बच्चाहरूलाई खेलाइरहेकी हुन्थिन्, कथाहरू सुनाइरहेकी हुन्थिन्। यद्यपि ती अधिकांश कथाहरू नैतिक शिक्षा र प्रेरणा दिने खालका हुन्थे, कतिपय भने काल्पनिक र मनोरञ्जक पनि हुन्थे। गुनु झाका कथाहरू मलाई औधी मन पर्थ्यो। केही कथाहरू भन्दै जाँदा बच्चाहरूलाई काउकुती लाउने गरिन्थ्यो, बच्चाहरूको खितखितीले आँगन नै भरिन्थ्यो।

मलाई पनि हजुरआमाले कथा सुनाई सकेपछि अन्त्यमा आफ्नो घुँडामाथि राखेर मास्तिर उठाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो — ‘पुरानो घर खसोस्, नयाँ घर बनोस्’। कहिलेकाहीं म छिमेकका बूढापाकाहरू कहाँ पनि कथा सुन्न जान्थें। उनीहरूले ऐतिहासिक घटना र व्यक्तिका बारेमा पनि बताउँथे। त्यो नै मेरो प्रथम विद्यालय थियो, र त्यहाँ नै मैले राजा जनक, राजा सलहेश, दीना-भद्री, लोरिक, कृष्णाराम आदिका बारेमा जान्ने मौका पाएँ। त्यहाँ नै मैले प्रथम पटक आफ्नो गौरवशाली इतिहास र महान पूर्खाहरूका बारेमा जान्ने मौका पाएँ।

मेरो औपचारिक शिक्षा भने गाउँकै प्राथमिक विद्यालयबाट शुरु भयो। मेरो स्मृतिमा रहेका सम्भवत: सबैभन्दा पुरानो सम्झनाहरूमा काठको पाटी र बोरा च्यापेर म दिदीको हात समाउँदै स्कूल गइरहेको दृश्य पनि पर्दछ। कक्षाकोठामा बेन्च थिएन, र बर्षात्‌मा कक्षाकोठामा पनि पानी जमेर हिलो हुनेगर्दथ्यो। फुसको टुटेफुटेको छानाबाट कक्षाकोठामा पानी सजिलै आउँथ्यो, र धेरै पटक त पानी छ्यापेर बाहिर निकाल्नुपर्थ्यो।

शिक्षा हाम्रो बेलामा पनि दुर्लभ नै थियो, धेरैले आफ्ना छोराछोरीलाई स्कूल पठाउँदैनथे, खास गरी छोरीलाई। तिनीहरू त सानैदेखि खाना बनाउनुपर्थ्यो, भाँडा माँज्नुपर्थ्यो, गोठ-गोबर गर्नुपर्थ्यो, घाँस काट्नुपर्थ्यो, बाख्राबाख्री चराउनुपर्थ्यो। तिनीहरू मध्ये केही त अरूको घरमा काम गर्नुपर्थ्यो, चार-पाँच वर्षदेखि नै। घरको कामकाज राम्ररी नगरिँदा तिनीहरूले पिटाइ खानुपर्थ्यो। तिनीहरूलाई देख्दा छोरा भएर जन्मिँदा र स्कूल जान पाउँदा म भाग्यशाली नै अनुभव गर्थें।

स्कूलमा म मखन यादब सरको बढी नजिक थिएँ। उहाँलाई पंडितसर भनेर बोलाइन्थ्यो र म उहाँलाई जीवनभरि नै गुरु मानिरहें। उहाँ मलाई धेरै माया गर्नुहुन्थ्यो र कुनै खाली समय मिल्नासाथ, स्कूलको चौरमा आफ्नो काखमा बसाउनुहुन्थ्यो, र अनेकौं कुराहरू सिकाउनुहुन्थ्यो। उहाँले अनवरत रूपमा मलाई बुद्ध, क्राइष्ट, गान्धी, मुहम्मद र अनेक महान व्यक्तित्वका जीवन र उपदेशका बारेमा बताउनुहुन्थ्यो। उहाँले अनेकौं स-साना कथाहरू र मार्मिक प्रसङ्गहरू सुनाउनुहुन्थ्यो, जसको प्रभाव ममाथि जीवनभरि रहिरह्यो। कक्षामा उहाँ संस्कृत र नैतिक शिक्षा पढाउनुहुन्थ्यो र कक्षाकोठाबाहिर पनि आफूसँग संस्कृतमै बोल्न भन्नुहुन्थ्यो। उहाँले नीतिशतक र चाणक्यका कुराहरूदेखि लिएर धर्मग्रन्थका अनेकौं श्लोक र पदावलीहरू मलाई सिकाउनु भयो।

तर उहाँको शिक्षा बाहेक सबै पाठ्यपुस्तकहरू मलाई पराया लाग्थ्यो। तिनीहरू नेपालीमा लेखेका हुन्थे र नेपाली भाषा हाम्रो लागि पराया थियो, कहिले कतै कसैले बोलेको नसुनिने। हामीलाई आफ्नो भाषामा नभई नेपालीमा किन पढाइँदैछ, म बुझ्न असमर्थ थिएँ।

अझ, ती किताबमा वर्णन गरिएका कुराहरू हाम्रो जीवन, हाम्रो रहनसहन, र हामीसँग पटक्कै मिल्दैनथ्यो। किताबहरू पहाडका कुनै शासकहरूको प्रशंसागानले भरिएका हुन्थे, पहाडका वेषभूषाका दृश्यले सुसज्जित हुन्थे, कसैले नजानेको लोककथाले भरिएका हुन्थे, कहिले नमनाइने चाडपर्वका वर्णनले भरिएका हुन्थे, हाम्रो कुनै सम्बन्ध नभएको संस्कृतिका बखानहरूले भरिएका हुन्थे। त्यहाँ म आफ्नो लोककथा खोज्थें, आफ्नो इतिहास खोज्थें, आफ्नो संस्कृति खोज्थें, आफ्नो चाडपर्व खोज्थें, आफ्नो रहनसहन खोज्थें, आफ्नो वेषभूषा खोज्थें, आफ्नो भाषा खोज्थें, तर दूर्भाग्य केही भेट्दिनथें।

बुवा अक्सर विद्यापतिका गीतहरू गुनगुनाइरहनुहुन्थ्यो, र म पनि ती मध्ये केही गीतहरू सिक्न चाहन्थें तर कहिले पनि कतै भेटाउन सकिनँ। आमाले भन्ने गरेका कहाबतहरूको अर्थ बुझ्न चाहन्थें, मान्छेहरूले भन्ने गरेका सलहेश, दीनाभद्री, लोरिक र कृष्णारामका जीवनका बारेमा जान्न चाहन्थें, आफ्नो ऐतिहासिक राज्य र गौरवशाली राजाहरूका बारेमा जान्न चाहन्थें, तर कहिले पनि त्यहाँ भेटाउन सकिनँ। हाम्रो इतिहास शासकवर्गका किताबहरूमा निसासिएको थियो, गोर्खाली सैनिकहरूको बुटमुनि कुल्चिएको थियो।

म बुझ्न सकिरहेको थिइनँ कि हामी त्यस्तो पराया कुरा किन पढिरहेका थियौं। पढ्नु पनि त्यति खराब थिएन, अझ ती पराया कुराहरूलाई आफ्नो भन्दै किन जोरजोरले चिच्याइरहेका थियौं, रहस्य झैं लाग्थ्यो।

हाम्रो स्कूलमा विभिन्न अवसरमा सार्वजनिक विदा हुने गर्दथ्यो, कहिले राजाको जन्मदिनमा त कहिले रानीको जन्मदिनमा, त कहिले पञ्चायत दिवसको अवसरमा। ती अवसरहरूमा हामीलाई नाराहरू लेखिएको कागज थमाइन्थ्यो। त्यसमा लेखिएको हुन्थ्यो — एउटै भाषा एउटै भेष, प्राण भन्दा प्यारो छ; हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, आदि आदि। जिल्ला शिक्षा अधिकारीले ती नाराहरू सिफारीश गर्ने गर्दथे। हामीहरू जोर-जोरले नारा लगाउँदै गाउँभरि घुम्नुपर्दथ्यो।

घण्टाैसम्म गला नसुकुञ्जेल म जोरजोरले ती नाराहरू लगाउँथे, हामीले नबोल्ने त्यो एक भाषाका लागि, हामीले नलाउने त्यो एक भेषका लागि, हामीलाई दास बनाएका ती राजाहरूका लागि। आखिरमा कहिले पनि म आफ्नो भाषा पढन-लेख्न पाइनँ। साहित्यमा निकै श्रेष्ठ मानिने आफ्नो भाषामा एक पानासम्म पढन पाइनँ। आफूले लाउने भेषमाथि मलाई कहिले गौरवको अनुभूति हुन दिइएन। आफ्नो गौरवशाली इतिहास र राजाहरूको बारेमा कहिले पनि जान्न दिइएन।

तैपनि पढाइ जारी रह्यो र म कक्षामा सधैं प्रथम आइरहें। रिजल्टका दिन चम्पा, बेली र चमेलीका फूलको माला बनाएर म लग्थें र आफ्ना गुरुहरूलाई लाइदिन्थेँ।

प्राथमिक शिक्षाको अन्त्यमा हामीले बोर्ड परीक्षा दिनुपर्थ्यो र हाम्रो केन्द्र अरू केही स्कूलहरूसँगै वभनगामा कट्टीमा परेको थियो। बोर्ड परीक्षापछि केन्द्रबाट प्रथम, द्वितीय र तृतीय स्थानमा आएकाहरूले जिल्ला स्तरीय प्रतिस्पर्धामा जानुपर्थ्यो। त्यहाँ म पनि जानु पर्ने भयो र त्यसको लागि फोटो खिचाउनु पर्ने भयो। बुवाले मलाई राजबिराजको एउटा फोटो स्टूडियोमा लग्नुभयो र त्यहाँ म फोटो खिचाउन तयार भएँ। फोटोग्राफरले मेरो शिरमाथि नेपाली टोपी लाइदिए।

बारबारको प्रयोगले त्यो फोहोर थियो, गन्हाइरहेको थियो, प्रतिरोध गरे पनि मैले लाउनै पर्ने बुझें। कुनै पनि सरकारी कामकाजको लागि फोटो खिचाउँदा नेपाली टोपी लाउनु अनिवार्य थियो, अन्यथा स्वीकार्य हुँदैनथ्यो। जतिबेला फोटो आयो र मैले हेरें, छक्क परें। त्यो कुनै अर्कै मान्छे जस्तो थियो। म बुझ्न सकिरहेको थिइनँ, आखिर नेपाली टोपी नलाइकन मेरो अस्तित्व किन स्वीकार्य हुँदैन। केवल यति बुझें, त्यो फोटोमा म थिइनँ, थियो त केवल शासक वर्गको कुनै दास, नेपाली साम्राज्यको कुनै दास मात्र।

-सीके राउतको आत्मकथा 'वैराग्यदेखि बचावसम्म' बाट

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया