राजपा नेता भन्छन् : देशभर आन्दाेलनमा जान्छाैँ

 फागुन २४, २०७५ शुक्रबार १७:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले अधिकार प्राप्तिका लागि लडाइँ लड्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले अधिकारी प्राप्तिका लागि लडाइँ लडेका आफ्ना पार्टीका सांसद रेशम चौंधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै देशभर आन्दोलनमा जाने चेतावनी दिनु भएको हो ।

नेता ठाकुरले सरकारले संघीयतालाई असफल बनाउने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले संघीयता नरहे संविधान नरहनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो । शुक्रबार काठमाण्डाैमा आयोजित राष्ट्रिय जनमुक्ति पार्टीसँगको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले सबैको अधिकारलाई सुनिश्चित गर्न संविधान संशोधनका लागि गरिएको पटक-पटकको आग्रहलाई पनि सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

अर्का नेता महतोले आफूहरुको अधिकार प्राप्तिको आन्दोलनलाई शासक वर्गले दमन गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले अधिकार प्राप्तिको आन्दोलनमा आउन पनि सबै उपेक्षित समुदायलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी, नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको पनि घोषणा गरिएको थियो । दुई पार्टीबीचको एकताले अधिकार प्राप्तिको आफूहरुको आन्दोलनलाई थप उचाइमा पुर्‍याउने नेता महतोले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया