पीएसएलका बाँकी खेलका लागि सन्दीप लामिछाने टिमसँगै कराची पुगे (तस्बिरसहित)

 फागुन २४, २०७५ शुक्रबार १७:५५:५० | उज्यालो सहकर्मी

पाकिस्तान सुपर लिगका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स कराची पुगेको छ ।

टिमसँगै सन्दीप र उनका म्यानेजर रमन सिवाकोटी पनि कराची पुगेका छन् ।

पूर्व निर्धारित तालिका अनुसार लाहोरले बाँकी खेल घरेलु मैदानमा खेल्ने बताइएको थियो ।

तर भारत र पाकिस्तानबीचको तनावका कारण सुरक्षाका कारण अन्तिम समयमा कराँचीमा सारिएको हो । युएईमा २६ खेल खेलेपछि बाँकी खेल खेल्न सहभागि ६ वटै टोली पाकिस्तान गएका छन।

पीएसएलमा बाँकि रहेका सबै खेल कराँचीमा हुनेछ। यसअघि ६ खेल कराँची र २ खेल लाहोरस्थित गद्दाफी स्टेडियममा हुने भनिएको थियो । लिग चरणमा ४ खेल बाँकी छन्, जसमा सन्दीपको लाहोरले बाँकी रहेका २ खेलमा शनिबार इस्लामावाद युनाइटेडसँग खेल्दैछ।

शनिबारको खेलमा नेपाली खेलाडी सन्दीप टिममा पर्ने प्रवल सम्भावना रहेको छ ।

८ खेलमा ३ खेलमात्र जितेको लाहोर ६ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ। त्यसैले उसका लागि शनिबारको खेल गर या मरको अवस्थामा रहेको छ ।

लाहोरले अन्तिम लिग खेलमा सोमबार मुल्तान सुल्तानसँग खेल्नेछ। यदि शनिबार लाहोर पराजित भएमा उसको प्लेअफको सम्भावना लगभग समाप्त हुनेछ ।

प्रतियोगितामा सन्दीपले १० विकेट लिएका छन् । उनले क्वेटा ग्लाडिएटर्सविरुद्ध ४ विकेट लिएका थिए।

तस्बिर लाहाेर कलन्दर्सकाे फेसबुक पेजबाट

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया