के भन्छिन् विप्लव नेतृत्वको नेकपाको ‘अपहरण’मा परेकी प्रदेश सांसद मल्ल ?

 फागुन २४, २०७५ शुक्रबार १९:१५:४६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अपहरणमा परेकी बझाङ ‘ख’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ललाई केही समयपछि उनीहरुले रिहा गरेका छन् । 

यसै सन्दर्भमा सांसद मल्लसँग उज्यालोका बझाङ सहकर्मी डीबी बिष्टले कुराकानी गर्नु भएको छ ।

देवकीजी, तपाईँ अहिले कता हुनुहुन्छ ? 

म अहिले यता सुनकुडामा छु  । 

अपहरण भयो भन्ने हल्ला आएको छ नि, तपाईँ अपहरणमा पर्नु भएको हो ? 

हो भन्या । यता बिजगडामा सानो स्वास्थ्य शिविर भएको थियो । त्यसको उद्घाटन गरे । त्यसपछि नारी दिवसको कार्यक्रममा सहभागी हुनका लागि विथ्थड चिर गाँउपालिकातिर फर्कँदै थिएँ । बीच बाटोमा विप्लवका केटाहरु बसेका रहेछन् । म आएको गाडी बिग्रेकाले म बाइकमा थिएँ । केटाहरुले बाइक रोकेर यतै पर्खन पर्यो भन्न थाले । हैन भाइ, म हतारमा छु किन यस्तो गर्नुहुन्छ ? कार्यक्रममा सबै मान्छेहरु पर्खिबसेका छन् भनेँ तर उनीहरुले मानेनन् । 

८ मार्चको कार्यक्रममा तपाईँ किन जाने ? माथि हाम्रा महिला नेताहरु आएका छन्, तपाईसँग छलफल छ भन्न थाले । बेलुका तपाईँहरु जहाँ भन्नु हुन्छ त्यही आउँला, बसौँला छलफल गरौँला भने तर उनीहरु मान्दै मानेनन् ।  मैले कुरा गर्दा तपाईँ नबोल्नुस् भन्दै थर्काए । 

कहाँ पुर्‍याए त तपाईँलाई ?

सैसुभन्दा माथि जंगलैजंगल २–३ घण्टा हिँडाए । कता हो कता ठ्याक्कै थाहा भएन । 

तपाईँसँग के कुरा गरे त ?

‘तपाईँको सरकारले हाम्रो महिला नेता बन्दु चन्दलाई गिरफ्तार गरेको छ । अनि तपाईँ गाडीमा हिँड्ने ? ८ मार्च (नारी दिवस) मनाउने, निर्मला पन्तको हत्याको बारेमा तपाईँको सरकारले अहिलेसम्म केही पनि गरेन । सबै कुरा नउठाउने यहाँ महिला मुक्तिका कुरा गर्ने । सरकारले हाम्रोविरुद्धमा विभिन्न कुराहरु गरिरहेको छ ।’ बाटोभरि यस्तै कुरा गरिराखे ।

अनि के भनेर छाडे त तपाईँलाई ?

हैन, मैले पनि धेरै छलफल गरेँ । निर्मला पन्त हत्याको विषयमा सरकार सबै शुत्रहरु प्रयोग गरेर लागिपरेको छ । मैले भनेँ, हत्यारा पत्ता लाग्छ । तपाईँहरु नआत्तिनुहोस् । तपाईँहरुको जस्तै चिन्ता हाम्रो पनि हो । अनि अब अरु विषयहरु सरकारले जे जरुरी ठान्छ ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्छ । तपाईँहरुले पनि अब सरकारले बोलेका सब कुराहरु उल्टो तरिकाले बुझ्नु भएन । 

आफू हाइलाइटमा आउन कतिपयले यो घटना  नाटक मात्रै हो पनि भनेका छन् नि ? तपाईँका आफ्नै बुवा र भाइ नै विप्लवको पार्टीमा छन् । यसमा तपाई के भन्नुहुन्छ ? 

हाहाहा... खै त्यस्तो कुरा गर्नेलाई के जवाफ दिनू ? नाटक हो भन्न खोज्नेहरुले नै नाटक गर्न खोज्या हुन् कि ? नत्र मैले ४–५ घण्टा उकालो किन हिँड्नु पथ्र्यो ? ८ मार्चका लागि भनेर संसदको बैठक छोडेर म बझाङ आइराखेकी छु । अनि बिहान ५ बजे नै बाइकमा चढेर दुई–तीनवटा कार्यक्रम उद्घाटन गरेको छु ।

अनि ४–५ घण्टा उकालो चढेर विभिन्न टर्चर किन लिनु पर्थ्यो होला ? त्यस्ता प्रश्नहरुको जवाफ मसँग छैन । भन्नेहरुको त आफै कुन ग्रन्थीले भन्यो थाहा छैन हजुर ।

कति जना थिए अपहरण गर्ने ? 

अपहरण गर्ने बेला बाटोमा १०–१२ जना जति थिए । अनि केही मान्छेहरु जंगलमा थिए । 

कुन जंगल हो, थाहा छ ?

सैसु र बजरको बीचमा पर्छ । केदारकै ठाँउ हो बाँझगाँउको भन्दा तलतलको ठाँउ हो । 

अहिले तपाईँ सदरमुकाम चैनपुर आउँदै हुनुहुन्छ ?

आउँदैछु । म आज जुन कार्यक्रममा जाने योजनामा थिएँ । त्यो कार्यक्रममा बस्छु । कार्यक्रममा बिहानदेखि मलाई कुरी बसेका छन् । त्यसैले म सुनकुडा पुगेर कार्यक्रम सम्बोधन गरेर फर्कन्छु ।

तपाईँको अपहरण कुन ठाँउबाट भयो ? 

बुंगल नगरपालिकाको पाउटाभन्दा अलि तल बाट भएको हो ।

कति बजे छोडे तपाईँलाई ?

४ बजेतिर छोड्यो होला । 

प्रहरी जानुभन्दा अघि नै तपाईँलाई छोडेको हो ? 

प्रहरीको टोली त्यहाँ पुगेको रहेछ । हामी माथि  नै थियौँ । मलाई छाड्दै गर्दा उनीहरुले भने, ‘दुःख नमान्नू होला । तपाईँको दोष छैन । तपाईँको राज्य प्रतिको हो हाम्रो गुनासो । हाम्रो महिला नेता गिरफ्तार गरेको हुँदा प्रतिक्रिया दिन मात्रै खाजेको हो ।' 

त्यहाँ हजुरका बुवा र भाइ त थिएनन् नि ?

खै, त्यो ग्रुपमा मेरो नजिक त देखिएनन् । अन्तै भएको भए मलाई थाहा भएन । 

देवकी मल्ललाई अपहरण गरेका होइन, कार्यक्रममा जान रोकेको मात्रै हो : नेकपा 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले देवकी मल्लको अपहरण नभएर एउटा कार्यक्रममा जान मात्रै रोकेको दाबी गरेको छ । 

विथ्थडचिर गाँउपालिकाले आयोजना गरेको १०९ औँ अन्तराष्टिय नारी दिवसमा मल्ललाई जानबाट रोक मात्रै लगाएको नेकपा समर्थक एक जना कार्यकर्ताले बताएका छन् । नाम नखुलाउने शर्तमा उनले बन्दु चन्दलाई प्रहरी हिरासतमा राखेर बाहिर नारी दिवस मनाउनु उचित नभएको भन्दै मल्ललाई रोकेको बताए ।  

अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद मल्ल प्रहरीको सम्पर्कमा

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया