सीके राउतसँगको सहमति रहस्यमय बनाइयो भने त्यसको परिणाम डरलाग्दो हुन्छ : कमल थापा

 फागुन २५, २०७५ शनिबार ११:६:२६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र विखण्डनको विषयलाई नागरिकको अभिमतबाट सम्बोधन गर्ने कदापि स्वीकार्य नहुने बताउनुभएको छ  ।

कञ्चनपुरमा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखण्डनकारी तत्वको जन्म भएको बताउनु भएको हो । उहाँले सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद रहेको बताउनुभयो ।  

‘सीके राउत र गृहमन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमा जनमत संग्रहको उल्लेख भएको छैन’, उहाँले भन्नुभयो, ‘सबै राजनिीतक दलहरुको असन्तुष्टिलाई जनताको अभिमतबाट निराकरण गर्न सकिन्छ भन्ने शब्दावली परेको छ ।’

सहमति सैद्धान्तिक रुपमा ठिक भए पनि सीके राउतले उठाएको विषयमा नागरिकको अभिमतबाट सम्बोधन गर्ने कुरा स्वीकार्य नहुने थापाले बताउनुभयो । ‘मधेशका समस्या, हक, अधिकार र पहिचानको निराकरण संविधान र जनमतबाट हुन सक्छ’, थापाले भन्नुभयो ‘तर, राष्ट्रिय अखण्डता, सार्वमभौमिकता र स्वतन्त्रताको विषयमा कदापि आँच पुर्‍याउन पाइँदैन ।’

सम्झौताको दस्तावेजमा सीके राउतले प्रष्ट भाषामा राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध नहुनु, विगतमा देश टुक्राउने भन्दै दिएको अभिव्यक्तिमा पश्चाताप नगर्नु र आफ्ना मागलाई जनमतबाट टुङ्गाउने सहमति भएको छ भन्ने कुरा विवादित भएको अध्यक्ष थापाले बताउनुभयो । 

‘सरकारले एक हप्ता भित्र राष्ट्रिय अखण्डताका बारेमा र जनअभिमतबाट टुङ्गाउने भन्ने शब्दका बारेमा धारणा सार्वजनिक गर्नुपर्छ’, थापाले भन्नुभयो, ‘अन्यथा यो विषयलाई रहस्यमय राखियो भने त्यसको परिणाम अत्यन्तै डरलाग्दो हुन सक्छ ।’ 

सरकारले एक हप्ताभित्रमा आफ्नो धारणा सार्वजनिक नगरे राष्ट्रिय अखण्डताको रक्षाका लागि राप्रपाले आन्दोलनको आँधी ल्याउने चेतावनी दिनुभयो । 

यस्तै, थापाले हचुवा र प्रचारबाजीका लागि मात्रै सरकारले कुनै निर्णय गर्न नहुने बताउनुभयो । उहाँले नेपालका नदीहरुमा उच्च बाँध नबनाइ पानी हाज चलाउन नसकिने बताउँदै यातायातको सस्तो साधनका रुपमा मात्रै नलिएर राष्ट्रिय हितका विषयका रुपमा लिनुपर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया