होमस्टे समृद्धिको आधार बन्दै : कस्तो हुनुपर्छ होमस्टे ?

 फागुन २५, २०७५ शनिबार १२:३८:१४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – गाउँ र बेसी टाढा । बाँच्ने आधार खेतीपाती । मेलापातकै भरमा जीवन चलाउन गाह्रो–गाह्रो थियो, विगतमा घलेगाउँका केही बासिन्दालाई । तर अहिले गाउँमा होमस्टे चलिरहेको छ ।

अहिले ग्रामीण पर्यटकीय गाउँको रुपमा परिचित छ, घलेगाउँ । होमस्टे सञ्चालन भएसँगै गाउँको मुहार मात्र फेरिएकै छैन । स्थानीयको आर्थिक स्तरसमेत माथि उकासिएको छ ।   

गाउँमा होमस्टे चलेसँगै स्थानीयको जीवनस्तर पहिले हेरी अहिले उकासिएको महसुस भएको घलेगाउँमा होमस्टे चलाउँदै आउनुभएकी यमुना घले बताउनुहुन्छ । ‘पहिले खेतीपाती र मेलापातको भरमा जीवन धान्न अलिक गाह्रो थियो । गाउँमा होमस्टे चलेपछि अहिले आय–आर्जनको बाटो खुलेको छ ।

स्थानीयको जीवनस्तर उकासिएको छ’, उहाँ भन्नुहुन्छ, ‘घलेगाउँ अहिले धेरै ठाउँमा परिचित छ । घलेगाउँको नामबाट आफूहरु चिनिन पाउँदा खुशी लाग्छ ।’ 
घलेगाउँमा अहिले दैनिक उलेख्य संख्यामा देश–विदेशका पर्यटकरु पुगिरहन्छन् ।

जीवन चलाउन सहज

विगतको अवस्था त्यस्तै थियो, लमजुङ राइनासकोटको पनि । आवश्यक विकासका पूर्वाधारसमेत थिएन, गाउँमा । गाउँबेसी गर्न समस्या थियो, स्थानीयलाई । राइनासकोटमा पनि अहिले होमस्टे सञ्चालनमा आएको छ । पहिले खेतीपाती गरेर जीवन गुजार्ने स्थानीयले अहिले होमस्टे व्यवसायबाटै मनग्य कमाएका छन् । यसैबाट सजिलैसँग जीवन चलाएका छन् । 

राइनासकोटका स्थानीयले पहिले खेतीपाती गर्थे । उत्पादनले तीन/चार महिना पनि थेग्थेन । अहिले होमस्टे चलाएपछि राइनासकोटका विभिन्न ठाउँबाट पाहुना ओइरिन्छन् । होमस्टे सञ्चालन गरेसँगै स्थानीयको जीवनस्तर उकासिएको छ । 

‘पहिले त गाह्रो थियो । अहिले होमस्टे चलाएपछि त जीवन चलाउन निकै सहज भएको छ’, राइनासकोटमा होमस्टे चलाउँदै आउनुभएकी ओमकुमारी गुरुङले भन्नुभयो । 

गाउँमा दैनिक १२ जना पर्यटक आउने उहाँ बताउनुहुन्छ । ‘कहिले एकदमै धेरै पर्यटक आउनुहुन्छ । दिनमा कम्तीमा पनि १०/१२ जना पर्यटक त आउनुहुन्छ’, उहाँले थप्नुभयो, ‘पर्यटकको चाप बढेको समयमा त महिनामा ५०/६० हजार सम्म आम्दानी हुन्छ ।’ 

दर्जनौँ गाउँमा होमस्टे     

घलेगाउँ, राइनासकोटसंगै अहिले लमजुङका तुर्लुङकोट, काउलेपानी लगायतका दर्जन बढी गाउँमा होमस्टे चलेका छन् । कतिपय गाउँमा होमस्टे खुल्ने क्रममा छन् । 

कृषि, ग्रामीण पर्यटन, जडिबुटी र जलविद्युतको विकास र प्रवद्र्धनबाट नै लमजुङको आर्थिक समृद्धि सम्भव रहेको सरोकारवालाहरु बताउँछन् । उनीहरु भन्छन्, ‘जिल्लामा विभिन्न पर्व, अवसरमा सञ्चालन हुने सानाठूला मेला, महोत्सवले पनि ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुर्याइरहेको छ ।’        

कस्तो हुनुपर्छ होमस्टे ?

मनोरम प्राकृतिक सौन्दर्यमा रमाउन, मौलिक परम्परा, सँस्कृति, बोलीचाली, रहनसहन, भेषभुषा बुझ्न र स्थानीय उत्पादनका परिकार चाख्न इच्छुक मानिसहरुको रोजाइमा पर्दछन्, गाउँमा खुलेका होमस्टे । 

एकपटक गाउँमा आएको पर्यटकलाई फेरि पनि गाउँसम्म आउने वातावरण सिर्जना गर्न स्थानीय होमस्टे सञ्चालकसँगै सरोकारवालाहरु जुट्नुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा बताउनुहुन्छ ।    

‘हाम्रै जिल्लामा थुप्रै गाउँमा होमस्टे चलेका छन् । एकपटक गाउँ भित्रिएको  पर्यटकलाई फेरि पनि गाउँसम्म आइरहने वातावरण होमस्टे सञ्चालकले नै गर्नु आवश्यक छ’, उहाँ थप्नुहुन्छ, ‘त्यसैले आतिथ्यता प्रदान, बोलीचाली, रहनसहन, सरसफाई, खानपिनका साथै भौतिक पूर्वाधारको विकासमा होमस्टे सञ्चालकले ध्यान पुर्याउनु जरुरी छ ।’  

लमजुङमा रहेका ग्रामीण पर्यटन प्रवद्र्धनमा दिल खोलेर सहयोग गर्न आफूहरु सदा तत्पर रहेको उहाँ बताउनुहुन्छ । 

विशेषगरी होमस्टेमा मौलिक संस्कृति हेर्न, स्थानीय उत्पादनका परिकार चाख्न र प्राकृतिक वातावरणमा रमाउन र गाउँले परिवेशसंग घुलमिल हुनका लागि नै गाउँमा पर्यटकहरु आउने गरेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ बताउनुहुन्छ ।  

‘पर्यटकको चाहना र रुचिअनुसारका मौलिक संस्कृति र स्थानीय उत्पादनका परिकारहरु पस्कनुपर्छ’, होमस्टे सञ्चालकहरुले,’ पर्यटन क्षेत्रमा काम गर्दै आउनुभएका श्रेष्ठ भन्नुहुन्छ, ‘गाउँमा खुलेका होमस्टेमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन आवश्यक सेवा सुविधाको विस्तार गर्नु आवश्यक छ ।’         
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया