सोलुको चिनो बन्दै तामाको डाली

 फागुन २५, २०७५ शनिबार १५:५६:३६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - पछिल्लो समय सोलुखुम्बुमा निर्माण भएका तामाको डाली चिनोको रुपमा लैजाने क्रम बढेको पाइएको छ । काम विशेष र घुमफिरका लागि सोलुखुम्बु आएको समयमा चिनोको रुपमा तामाको डाली लैजानेहरुको संख्यामा वृद्धि भएको व्यापारीहरुको अनुभव छ । 

सगरमागथाको जिल्लाको रुपमा परिचित सोलुखुम्बुमा विभिन्न पेशा तथा व्यवसायका क्रममा आएका व्यक्तिहरु तथा पर्यटकहरुकोसमेत पहिलो रोजाइमा तामाको डाली पर्न थालेको उनीहरुको भनाइ छ ।

 दलित समुदायका विश्वकर्मा जातिले निर्माण गर्ने तामाको बुट्टेदार डालीहरु अधिकांशले चिनोको रुपमा लिएर जाने गरेको व्यापारीहरु बताउँछन् । सदरमुकाम सल्लेरीमा रहेका व्यापारीहरुका अनुसार शनिबारे हाटबाट तामाका डाली कोसेलीको रुपमा लानेहरुको संख्या बढेको हो ।

जिल्लाबाट सरुवा भएर अन्यत्र जाने बेलामा निजामति कर्मचारीहरुको विदाई गर्दा उपहारका रुपमा अन्य सामग्रीहरुभन्दा तामाकै डालीको बढी प्रयोग हुने गरेको छ ।

विवाहको मौसममा उपहार दिनका लागि पनि तामाको डाली निकै माग हुने गरेको छ व्यापारी कर्ण बहादुर विश्वकर्माले बताउनुभयो । आफन्तलाई सोलुखम्बुको कोसेली लैजान पनि यसको खरिद हुने गरेको छ ।

तामामा हातले कुँदेर बनाइएका बुट्टेदार डाली घर सजावटमासमेत राम्रो हुने भएकाले सोलुखुम्बु आएको बेला खरिद गर्न लागिएको डाली पसलमा भेटिनुभएका चितवन घर भएकी रविना भण्डारीले बताउनुभयो ।

युवाहरुलाई रोजगारीको राम्रो अवसर

पछिल्लो समय वैदेशिक रोजगारीमा वर्षौं बिताएका दलित युवाहरुे पुर्खौली पेशाप्रति आकर्षित बन्न थालेका छन् । 

वैदेशिक रोजगारीको सिलसिलामा १२ वर्ष साउदी अरब बसेर फर्कनुभएका सुब्बा विश्वकर्मा अहिले यही पेसामा रमाइरहनुभएको छ । बजारमा माग राम्रो भएकाले विदेशमा भन्दा स्वदेशमै मनग्य आम्दानी हुने भएकाले आफू पुर्खौली पेसामा नै फर्किएको उहाँको भनाइ छ ।

 उहाँले अहिले पुर्खौली पेसाबाट मासिक ५० हजार देखि १ लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ । त्यसैगरी ८ वर्ष बहराइन बसेर फर्केका भएका कृष्ण बहादुर विश्वकर्माको पनि आम्दानीको राम्रा स्रोत पुर्खौली पेसा बनेको छ । 

सोलुखुम्बुका युवाहरु अहिले कारखाना नै सञ्चालन गरेर तामाको डाली लगायत अन्य सामाग्रीहरु निर्माण गर्ने काममा लागिपरेका छन् । बजारमा तामाको सामाग्रीहरुको माग रामो रहेकाले आफूहरु यो पेसामा फर्किएको अर्का युवा व्यवसायी राजु घतानीको भनाई छ । 

सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीका ३५ वर्षीय पदमबहादुर विश्वकर्माले १२ वर्ष कतार र मलेसियामा बिताउनुभयो । विदेशमा जसोतसो सामान्य कमाइ गरेका विश्वकर्मालाई आरनमा तामाको डाली बनाउँदै गरेको अवस्थामा भेट्दा उहाँ आफ्नो पुख्र्यौली पेशाबाट सन्तुष्ट देखिनुहुन्थ्यो ।

कोइला मुख्य चुनौती बन्दै

यो व्यवसायबाट राम्रै आम्दानी हुने भए पनि कोइलाको जोहो गर्नु मुख्य चुनौती रहेको उनीहरु बताउँछन् । आरनमा काम गर्नका लागि गोल अर्थात कोइला आवश्यक पर्ने भए पनि सामुदायिक वनहरुले कोइला बनाउन बन्देज लगाउँदा व्यवसाय नै धराशायी बन्दै गएको व्यवसायीहरु बताउँछन् । 

यो व्यवसायमा मेहनत गरे विदेशकोभन्दा राम्रो आम्दानीको श्रोत भए पनि कोइला अभावमा व्यवसाय सञ्चालन गर्न चुनौती रहेको युवा व्यवसायी रमेश विश्वकर्माको भनाई छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया