सिके राउतसँग गरिएको सम्झौताबारे जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने नेता भीम रावलकाे भनाइ

 फागुन २५, २०७५ शनिबार १६:१२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सिके राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताउनुभएको छ । 

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले सम्झौतामा लेखिएको भाषा र राष्ट्रियसभा गृहमा राउतले दिएको अभिव्यक्ति विवादास्पत भएकाले त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । उहाँले राउत सँगको सहमतिका बारेमा पार्टीभित्र आवश्यक छलफल नै नगरिएको भन्दै स्थायी समिति, केन्द्रीय कमिटीमा छलफलको चलाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

राउतले राज्यद्रोहको नीति परित्याग गरेर शान्ति प्रक्रियामा अवतरण गरेको हो होइन भन्ने विषयमा पनि बहस गर्नुपर्ने तर्क नेता रावलले गर्नुभयो । उहाँले राउतलाई सरकारले दार्शनिक बनाएको भन्दै आपत्ती जनाउनुभयो ।

नेता रावलले पार्टी सामूहिकतामा नभइ एक वा दुई जनाको निर्देशन र चाहना अनुसार सञ्चालन भएको भन्दै असन्तुष्टि जनाउनुभयो । राजद्रोहको मुद्धामा सरकारले नै कारबाही गरेको व्यक्तिलाई कुनै भूभाग जितेर आएजस्तो गरी सम्मानका साथ आकस्मिक रुपमा सार्वजनिक कार्यक्रम गरिनु अस्वभाविक भएको टिप्पणी गर्नुभयो ।

शसस्त्र द्वन्द्वकालीन समयका मुद्धाहरु अझै किनारा लागिनसकेको अवस्थामा राज्यले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्तामाथि लागेका सबै मुद्धामा छुट दिन नमिल्ने तर्क उहाँले गर्नुभयो ।

सरकार र राउतसँग भएको सहमतिले राष्ट्रिय स्वतन्त्रको हित विपरित भएको भन्दै उहाँले त्यसले कुनै पनि समय ठूलो राष्ट र राष्ट्रियतालाई ठूलो आघात पुर्‍याउने दावी गर्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया