लमजुङ महोत्सवमा परम्परागत घर हेर्नेको घुइँचो (फोटो फिचर)

 फागुन २५, २०७५ शनिबार १६:४४:४१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा छैटौं लमजुङ महत्सवको निकै चहलपहल छ । परम्परागत घर नयाँ पुस्तालाई देखाउनका साथै लमजुङको ग्रामीण पर्यटन प्रवर्द्धनका लागि छैटौँ लमजुङ महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा जातीय संग्रहालय बनाइएको छ । लहरै खर र बाँसले बनाइएका घर । रातो रंगमा सजिएका मौलिक परम्परागत घर महोत्सवमा आउने धेरै दर्शकको रोजाइ बनेको छ । 

जातीय संग्रहालयमा लामा (ह्योल्मो), तामाङ, मगर, गुरुङ, नेवार, कुमाल, चेपाङ, भुजेल समुदायको परम्परागत घर नमूनाको रुपमा राखिएका छन् । 
महोत्सवमा जातीय संग्रहायलसम्म पुगेर फोटो खिच्ने र विभिन्न समुदायको घर अवलोकन गर्नेको दर्शकको घुइँचो लागेको छ ।  

ग्रामीण पर्यटन प्रवर्द्धनकै लागि जातीय सग्रहालय बनाइएकाे महोत्सव समारोह समितिका संयोजक एवम् लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनुभयो । 

‘हाम्रो जिल्लाको समृद्धिको मुख्य आधार नै पर्यटन हो । यहाँका थुप्रै गाउँमा होमस्टे सञ्चालनमा रहेका छन्,’ उहाँले भन्नुभयो, ‘यहाँ बसोबास गर्ने विभिन्न समुदायको रहनसहन, सँस्कृति र बसाइँबारे जानकारी गराउने उद्धेश्यले जातीय संग्रहालय बनाइएको हो । यसलाई दर्शकले खुबै चाख मानेर अवलोकन गरेका छन् ।’ 

जातीय संग्रहालयमा बनाइएका विभिन्न समुदायका परम्परागत घरमा उनीहरुले जन्मदेखी मृत्युसम्म उपयोग गर्ने विभिन्न हस्तकलाका सामग्रीसमेत राखिएका छन् । 

विभिन्न जातजातिको पुख्र्यौली घर हेर्न पाउँदा निकै खुशी मिलेको जातीय संग्रहालयको अवलोकन गर्दै गर्नुभएका भोटेओडारका रुद्रहरि ढकालले बताउनुभयो ।

पछिल्लो समय शहरबजार त परको कुरा गाउँघरबाटै परम्परागत घर हराउन थालिसकेका छन् । पहिले बाँस र खरले बनाइने परम्परागत घर अहिले मुश्किलले देख्न पाइन्छ ।

यसरी हराउँदै गएको जातीय मौलिक सँस्कृतिलाई मेलामहोत्सवमा प्रस्तुत गर्दा यसले सँस्कृति जगेर्नामा टेवा पुग्ने महोत्सव आयोजक टिमको दाबी छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया