एक दिवसीय: अष्ट्रेलियाविरुद्धकाे तेस्राे खेल हारेकाले चाैथाे खेलका लागि भारतीय टिममा परिवर्तन आउने

 फागुन २५, २०७५ शनिबार १८:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत र अस्ट्रेलियाबीचको चौथो एक दिवसीय क्रिकेट आइतबार मोहालीमा हुँदैछ । लगातार दुई वटा एक दिवसीय खेल जितेर २–० को अग्रता बनाएको भारत शुक्रबार राँचीमा भएको तेस्रो एक दिवसीयमा ३२ रनले पराजित भएपछि अष्ट्रेलिया पनि सिरिजमा फर्किएको छ ।

आइतबारको खेलमा भारत विजयी भए एक खेल अघिनै पाँच वटा एकदिवसीय सिरिज भारतले आफ्नो पक्षमा पार्ने छ भने अस्ट्रेलिया विजयी भए अन्तिम खेलको नतिजाले सिरिजको छिनोफानो हुनेछ । अहिले भारत सिरिजमा २–१ ले अघि छ ।

तेस्राे खेलमा भारतीय अम्पायर शमसुद्दिनले ३२ औं ओभरमा ९३ रन बनाएर खेल्दै गरेका एराेन फिञ्चलाई दिएकाे एलबीडब्लू आउटकाे निर्णयलाई पनि विश्व क्रिकेट जगतमा चासाेका रुपमा लिइएकाे छ ।

 

तेस्राे खेल ३२ रनले हारेपछि चौथो खेलमा भारतले केही खेलाडी परिवर्तन गर्ने जनाएको छ । अस्ट्रेलियाविरुद्धको बाँकी २ खेलमा पूर्व कप्तान तथा विकेटकीपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीलाई आराम दिइएको छ  ।

ओपनरः भारतीय टिमको पछिल्लो समय ओपनिङ साझेदारी राम्रो छैन । ओपनिङको रुपमा रोहित शर्मा र शिखर धवनले जारी सिरिजका पछिल्ला तीन  खेलमा जम्मा ७३ रन बनाएका छन् । तर आसन्न विश्वकपको ओपनिङ जोडीको रुपमा पनि यसलाई हेरिएकाले आइतबार पनि उनीहरुले नै ओपनिङ गर्ने पक्का छ ।

नम्बर ३ः कप्तान विराट कोहलीले नम्बर तीनमा ब्याटिङ गर्नेछन् । करियरको ४१ औं शतक बनाएका कोहलीले तेस्रो एक दिवसीय क्रिकेटमा जम्मा ९५ बल खेलेका थिए । जसमा १६ चौका र एक छक्का प्रहार गरे । तर उक्त खेलमा भारत ३२ रनले पराजित भएपछि २ खेल अगावै सिरिज जित्ने धोको पूरा हुन सकेन ।

नम्बर ४ः अम्बाति रायडू अहिले खराब फर्ममा रहेका छन् । विश्वकपको टिममा पर्न उनलाई अब बाँकी दुई वटा खेलमा उत्कृष्ट फर्म देखाउन जरुरी छ । चार नम्बरमा उनले ब्याटिङ गरे पनि अझै पनि उनी चल्न नसके केएल राहुललाई विश्वकपमा स्थान बनाउन सजिलो हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अम्बातिभन्दा राहुलले कम मौका पाएकाले पनि उनको सम्भावना बढी देखिनसक्ने आकलन गरिएको छ ।

नम्बर ५ः पाँच नम्बरमा विकेटकीपर ऋषभ पन्तले यो खेलमा महेन्द्रसिंह धोनीको स्थान लिनेछन् । जारी २ खेलका लागि धोनीलाई आराम दिएकाले पनि पन्तले मौका पाउन लागेका हुन् ।  ऋषभले पाएको मौकामा उनले उत्कृष्ट प्रदर्शन गरेकाले बीसीसीआई उनीमाथि भरोसा गर्न सक्छ । 

नम्बर ६ः केदार जाधव छैटौं नम्बरमा ब्याटिङका लागि आउनेछन् । उनले भारतलाई मुस्किल पर्दा धेरै पटक इनिङ उकास्न महत्वपूर्ण भूमिका खेलेका छन् । अस्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा उनले महेन्द्रसिंह धोनीलाई राम्रो साथ दिँदै खेल जिताएका थिए । यस्तै प्रदर्शन गरिरहेका केदारलाई विश्वकपमा स्थान बनाउन सजिलो पनि रहेको छ । 

अलराउण्डरः विजय शंकरलाई अलराउण्डरको रुपमा खेलाइने छ । मिडियम पेस बलरसमेत रहेका विजय शंकरले सातौ नम्बरमा ब्याटिङ गर्ने छन् । यसैगरी २५० रनको लक्ष्य बचाउने क्रममा विजय शंकरले अन्तिम ओभर बलिङ गर्दा अस्ट्रेलियाका बाँकी २ विकेट लिँदै भारतलाई ८ रनको जित दिलाएका थिए ।

स्पिन बलर : अस्ट्रेलियाविरुद्धको चौथो खेलमा रवीन्द्र जडेजाको ठाउँमा लेग स्पिनर युजबेन्द्र चहलले स्थान लिन सक्ने आकलन गरिएको छ । जडेजाको फर्म राम्रो नभएकाले उनको ठाउँमा चाहलले मौका पाउने अपेक्षा गरिएको हो ।

रवीन्द्र जडेजाले बलिङमा औसत प्रदर्शन गरे पनि ब्याटिङ गर्न सकेका छैनन् । युजबेन्द्र चाहल प्लेइङ ११ मा सामेल हुँदा कुलदीप यादवलाई पनि थप मद्दत पुग्ने बताइन्छ ।

फास्ट बलरः भारतीय टिमको तीव्र गतिको बलिङमा भने केही परिवर्तन हुने अनुमान गरिएको छ । मोहम्मद शामीको ठाउँमा भुवनेश्वर कुमारलाई खेलाउने सम्भावन छ भने उनलाई जसप्रित बुमराहले सघाउनेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया