सातौं धरान रनको उपाधि तीर्थ पुन र कान्छीमाया कोजुलाई

 फागुन २५, २०७५ शनिबार १९:३४:० | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सातौं धरान रनको उपाधि तीर्थ पुन र कान्छीमाया कोजुले जितेका छन् । 

शनिबार भएको साताैं धरान १० किमि रनमा तीर्थले ३१ मिनेट १६ सेकेन्डमा दूरी पुरा गरेका थिए । यसैगरी महिला तर्फ कान्छीमायाले ३७ मिनेट ४७ सेकेन्डमा दौड पुरा गरिन् ।

पुरुष तर्फका विजेता तीर्थको यो चौथो धरान रनको उपाधि हो । कान्छीमायाले पनि दोस्रो पटक उपाधि जित्न सफल भइन् । पुरुषतर्फ अनिस थापा दोस्रो भए । उनले ३१ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरेका थिए ।

तेस्रो भएका गजेन्द्र राईले ३१ मिनट ३५ सेकन्डमा दौड पूरा गरे ।

महिलातर्फ सन्तोषी श्रेष्ठ ३८ मिनेट ८ सेकण्डका साथ दोस्रो भइन् । उनीभन्दा ३९ सेकेण्ड बढी लगाएकी पुष्पा भण्डारी तेस्रो भइन् । उपाधि विजेताहरुमध्ये पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले नगद २० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी १६ वर्षमुनिको स्पर्धामा जुम्लाका नरेश बुद्ध पहिलो, अछामका प्रविणकुमार बोहरा दोस्रो र धरानका किरण लिम्बु तेस्राे भए । यसैगरी महिलातर्फ मनिसा राई, चन्द्रकला भुजेल र संगिता तामाङ तेस्रो स्थानमा रहे ।

भेट्रानतर्फको स्पर्धामा पुरुषतर्फ धर्म महर्जन, निर्मल राई र मंगोल तामाङ्ग तथा महिलातर्फ रितादेवी राई, भीमामाया राई र गंगा गुरुङ्ग क्रमश पहिलो दोस्रो र तेस्रो भए ।

१२ वर्षमुनिको ३ किलोमिटर दौड प्रतियोगितामा पुरुष तर्फ रोहन राई, आसिस खड्का र असोक तामाङ उत्कृष्ट तीन स्थानमा आए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया