प्रहरीको प्रयासमा रोकियो बाल विवाह

 फागुन २६, २०७५ आइतबार ११:५८:१५ | उषा तामाङ
unn.prixa.net

दोलखा – गौरीशङ्कर गाउँपालिकामा हुन लागेको बाल विवाह रोकिएको छ । इलाका प्रहरी कार्यालय सिङ्गटिका इन्चार्ज प्रहरी निरीक्षक सुनजित तामाङको पहलमा आइतबार हुन लागेको बाल विवाह रोकिएको हो । 

बाल विवाह हुन लागेको भनी जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी परेपछि उजुरी उपर इलाका प्रहरी कार्यालय सिङ्गटिले छानबिन सुरु गरेको थियो । 

शनिबार दुवै पक्षका अभिभावक, प्रहरी र जनप्रतिनिधिबीच भएको छलफलमा उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमति भएको छ । छलफलमा इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सुनजित तामाङले मुलुकी अपराध संहिता ऐनबारे जानकारी गराउनु भएको थियो ।

छलफलमा सहभागी अभिभावकहरुले कानुनी अज्ञानताको कारण विवाह तय भएको बताएका थिए । हुनै लागेको बाल विवाह रोक्न सहयोग र कानुनबारेसमेत जानकारी प्रदान गरेको भन्दै अभिभावकले प्रहरीलाई धन्यवाद दिएका थिए । छलफल पश्चात अभिभावकले प्रहरीलाई धन्यवाद दिँदै उमेर पुगे पछि हुने विवाहमा प्रहरीलाई समेत निमन्त्रणा गर्ने बताएका थिए । 

१९ वर्षीया युवती र १८ वर्षीय युवकको विवाह तय भएको थियो । 

यस अघि १८ वर्ष पूरा भएमा विवाह गर्न सकिने व्यवस्था रहेपनी भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ११ को दफा १७३ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउने नहुने उल्लेख छ । २० वर्ष नपुगी विवाह गरे वा गरिदिएमा ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया