मधेस टुक्र्याउने गरी सरकारले सीके राउतसँग सहमति गरेको होइन: गृहमन्त्री थापा

 फागुन २६, २०७५ आइतबार १४:११:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गृहमन्त्री रामबहादुर थापा बादलले सीके राउतसँग सरकारले गरेको सम्झौताले देशको स्वाधीनता, सार्वभौम सत्ता, स्वतन्त्रता, र अखण्डतालाई सुदृढ गरेको बताउनुभएको छ । 

बाहिर गरिएको जस्तो हल्लाको कुनै पनि तुक नरहेको भन्दै उहाँले यो सहमतिले देशको शान्ति सुरक्षालाई पनि सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । 
प्रतिनिधिसभामा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धन भन्ने समूहले राष्ट्रको अखण्डता र स्वाधीनताको रक्षा गर्न तयार भएपछि सरकरले सहमति गरेको बताउनुभयो ।  

राज्यले विखण्डनकारीहरुको अगाडि आत्मसमर्पण गर्यो भन्ने आरोप सांसदहरुले नै लगाएको भन्दै उहाँले देश विखण्डन गर्ने कोहीसँग पनि आत्मसमर्पण गर्न नसक्ने स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘स्वतन्त्र मधेस गठबन्धन वा सरकारले एक अर्कासँग आत्मसमर्पण गरेको नभई संवैधानिक रुपमा सहमत भएको हो ।’

जनअभिमत भन्ने शब्दलाई जनमत संग्रहको रुपमा अहिले कतिपयले ब्याख्या गरिरहेको भन्दै  त्यस्तो बुझाइ गलत गरेको उहाँले बताउनुभयो ।

‘मधेसलाई नेपालबाट अलग गर्ने वा नेपालमा नै रहने भन्ने कुरा जनमत संग्रहबाट टुंग्याउने भन्ने गरी केहीले गलत अर्थ लगाउन खोजिएको छ, त्यो गलत हो ।’ 

संविधानले नै जनमतसंग्रहबाट कुनै पनि भूभाग नेपालबाट अलग गर्न सक्ने अधिकार कसैलाई पनि नदिएको भन्दै उहाँले बरु कतिपय राजनीतिक समस्याको समाधान जनमतसंग्रहबाट गर्न सकिने अवस्था रहेको उहाँले प्रष्ट पार्नुभयो । 

‘हाम्रो संविधानले नै जनमतसंग्रहबाट कुनै भूभाग नेपालबाट अलग गर्न सकिने भनेको छैन । बरु देशका कतिपय राजनीतिक समस्यालाई जनमतसंग्रह गर्न सक्छ । तर त्यो पनि सरकारले मात्रै गर्ने होइन ।’

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया