क्षतिपूर्तिकाे सहमति भएपछि बन्द गराइएकाे बैतडीकाे दशरथचन्द राजमार्ग खुल्याे

 फागुन २६, २०७५ आइतबार १८:५५:५४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको पाटनमा ग्रेडरले किचेर विद्यार्थीको मृत्यु भएपछि पीडित पक्षले बन्द गरेको दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ । 

पीडित पक्ष र निर्माण कम्पनीबीच पीडितलाई क्षतिपूर्ति बापत दशलाख रुपैयाँ दिने सहमति भएपछि राजमार्ग सञ्चालनमा आएको होे । 

शनिबार बेलुका ५ बजेतिर पाटनकाे भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका-२ का १९ वर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो । आफन्त र विद्यार्थीहरुले आइतबार बिहानैदेखि दोषीलाई कारबाहीको माग गर्दै सडक बन्द गराएर आन्दोलन गरिरहेका थिए ।

आन्दोलन उग्र बन्दै जाँदा आन्दोलनकारीले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार समेत गरेका थिए भने स्थिति नियन्त्रणमा लिन प्रहरीले १८ राउण्ड हवाइफायर र १५ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

आन्दोलनकारीको ढुंगा लागेर चार जना प्रहरी र प्रहरीको लाठीचार्जबाट तीन जना विद्यार्थी समेत घाइते भएका थिए ।

पीडित परिवारलाई दिने भनिएको १० लाख क्षतिपूर्तिमध्ये दुई लाख तत्कालै उपलब्ध गराउने, मृतकका परिवारलाई पाटन नगरपालिकाले किरिया खर्च उपलब्ध गराउने, घाइते विद्यार्थीहरुको उपचारमा लाग्ने खर्च नगरपालिकाले ब्यहाेर्ने तथा ग्रेडरले भत्काएको घर निर्माण कम्पनीले बनाउने सहमति भएको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताउनुभयो ।

घटनापछि फरार रहेका चालक रतन बुढालाई सात दिनभित्र सम्पर्कमा ल्याउन निर्माण कम्पनीले सहमति जनाएको छ । सहमतिपछि पीडित पक्षले मृतकको शव बुझ्ने तयारी गरेका छन् ।

शवको पोष्टमार्टमपछि आफन्तलाई शव बुझाइने इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो । राजमार्ग सञ्चालनमा आएपछि बैतडी तथा दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु र तराईबाट आएका गाडीहरु गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया