चीनबाट गाई ल्याउने प्रदेश सरकारको निर्णयको केन्द्रीय दुग्ध सहकारी संघद्वारा विरोध

 फागुन २६, २०७५ आइतबार २०:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनबाट गाई खरिद गर्ने प्रदेश सरकारको निर्णयको केन्द्रीय दुग्ध सहकारी संघ, नेपालले विरोध गरेको छ ।

प्रदेश ३ सहित अन्य २ वटा प्रदेशले चीनबाट ४ हजार गाई खरिद गरेर ल्याउने सम्झौतामा हस्ताक्षर गरेपछि केन्द्रीय दुग्ध सहकारी संघ, नेपालले त्यसको विरोध गरेको हो ।

नेपालमा रहेका गाईहरुको उचित संरक्षण गरी दूध व्यवसायको प्रवर्द्धन गर्न छाडेर प्रदेश सरकारहरुले विदेशको गाई ल्याउने सम्झौता गरेपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले नेपालमै प्रशस्त मात्रामा दूध दिने गाई हुँदाहुँदै प्रदेश सरकारहरुले चीनबाट गार्ई ल्याउने निर्णय गरेर नेपालका पशु किसानहरुलाई मारमा पार्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

प्रदेश ३ को सरकारले चाइना एकेडेमी कल्चरल मेकानाइजेसन साइन्स (क्याम्स) सँग चीनबाट गाई आयात गर्ने सहमति गरेको थियो । त्यसप्रति संघको आपत्ति छ । संघका अध्यक्ष सापकोटाले नेपालमा दूध दिने गाईको अभाव नभएको स्पष्ट पार्नुभयो ।

उहाँले नयाँ जातको घाँस तथा दूध र दूधको परिकार बनाउनका लागि आवश्यक प्रविधि भित्रयाउन पनि सरकारसँग माग गर्नुभयो ।

प्रदेश ३ को सरकारले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन भन्दै चार हजार गाई चीनबाट भित्रयाउने सहमति गरेको थियो । सो सहमतिले नेपालको गाई लोप भएर जाने संघको बुझाइ छ । नेपालकै गाईको संरक्षणमा सरकारले आवश्यक बजेटको व्यवस्था गरे दूधको अभाव नहुने संघका अध्यक्ष देवकोटाको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया